logo
२०८१ माघ ७ सोमवार



जडीबुटीको प्रयोग

विचार/दृष्टिकोण |




रघुराम पराजुली

मुलुकको विकासका लागि धेरै सम्भावनाको व्यावहारिक उपयोग आवश्यक हुन्छ । कृषि, पर्यटन, वन–वनस्पति, जलविद्युत्, शिक्षालगायतका विभिन्न क्षेत्रका सबैखाले सम्भावना भरपूर उपयोग गर्न सक्दामात्र मुलुकको समृद्धि हासिल गर्न सकिन्छ । वनस्पतिमा पनि सम्भावना बोकेको महŒवपूर्ण क्षेत्र हो– जडीबुटी । नेपाल बहुमूल्य जडीबुटीको भण्डारका रूपमा रहेको छ । यस्ता महŒवपूर्ण जडीबुटीको अध्ययन, अनुसन्धान, अभिलेखीकरण र पहिचानका साथै व्यवसायीकरण गर्नुपर्छ । जडीबुटी निकासीलाई सहज बनाउन नेपालमा उत्पादित तथा सङ्कलित जडीबुटीको प्रशोधनको प्रबन्ध हुनु जरुरी छ । जडीबुटीलगायत महŒवपूर्ण गैरकाष्ठ वनपैदावारको व्यवसायीकरण र मूल्य अभिवृद्धि गरी निकासी प्रवद्र्धनमा जोड दिनु आवश्यक छ ।
जडीबुटी तथा सुगन्धित वनस्पतिको उत्पादन र व्यवसायीकरणको विशेषखालको प्राविधिक जनशक्ति र ठूलो लगानी आवश्यक पनि पर्दैन । सामान्य ज्ञान तथा सानो लगानीबाट पनि कृषि बालीजस्तै यसको खेती गर्न सकिन्छ । तर, बजार सुनिश्चित नहुँदा बेलाबखत निरुत्साहित हुने गरेका उदाहरण पनि छन् । तर, सबै पक्षसँग प्रभावकारी समन्वय र सहकार्य हुन सक्यो भने बजार पनि सुनिश्चित हुनेछ ।
जडीबुटी खेती विस्तार गर्दै प्रशोधन, बजारीकरण र विशिष्ट ब्रान्डिङ गरिने नीति सरकारले लिएको पनि छ । नेपालको भूगोलअनुसार तराई, पहाड र हिमालसम्मै विभिन्नखाले जडीबुटीको व्यवसायीकरण गर्ने सम्भावना छ । यार्सागुम्बा, लौठसल्ला, क्यामोमाइलजस्ता बहुमूल्य वनस्पतिको उच्च बजार मूल्य र मागबाट नै स्पष्ट हुन्छ वनस्पतिको महŒव के–कति छ भन्ने । बहुमूल्य वनस्पतिको व्यवसायीकरण गर्न सकेमा यथेष्ट आर्थिक लाभ लिन सकिन्छ । उर्वर कृषि भूमिसमेत बाँझो एवम् झाडीमा रूपान्तरण भइरहेको सन्दर्भमा जमिनको उपयोगमा ध्यान दिनु आवश्यक छ ।
संविधानमा जनसाधारणमा वातावरणीय स्वच्छतासम्बन्धी चेतना बढाई औद्योगिक एवम् भौतिक विकासबाट वातावरणमा पर्न सक्ने जोखिमलाई न्यूनीकरण गर्दै वन, वन्यजन्तु, पक्षी, वनस्पति तथा जैविक विविधताको संरक्षण, सम्बद्र्धन र दिगो उपयोग गर्ने, वातावरणीय सन्तुलनका लागि आवश्यक भू–भागमा वनक्षेत्र कायम राख्नेजस्ता प्रावधानको व्यवस्था छ । वन नीति–२०७५ मा उपलब्ध वन–वनस्पति तथा जैविक विविधताको पूर्ण क्षमतामा सदुपयोग गर्न नसक्नु प्रमुख चुनौती उल्लेख गरिएको छ ।
आर्थिक सर्वेक्षण २०७६÷०७७ अनुसार भारततर्फ निर्यात भएका जडीबुटी तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७३÷०७४ मा ६०.४ करोड, आर्थिक वर्ष ०७४÷०७५ मा ७२.९ करोड र आर्थिक वर्ष ०७५÷०७६ मा ७२.३ करोड रुपियाँबराबरको देखिन्छ भने भारत र चीनबाहेकका अन्य मुलुकतर्फ आर्थिक वर्ष ०७३÷०७४ मा १४.८ करोड, आर्थिक वर्ष ०७४÷०७५ मा २९.६ करोड र आर्थिक वर्ष ०७५÷०७६ मा ५९.३ करोडबराबरको जडीबुटी निर्यात
भएको देखिन्छ ।
जडीबुटीको निकासीमा हुने गरेका विभिन्न व्यवधानमध्ये भन्सार नाकामा जडीबुटीको पहिचान तथा विश्लेषण गर्न सक्ने जनशक्ति नभएका भन्ने गुनासा पनि विभिन्न पक्षबाट आउने गरेका छन् । यस सन्दर्भमा वनस्पति तथा जडीबुटीको पहिचान सहज गर्न तत्तत् निकायमा वनस्पति प्रयोगशाला र आवश्यक जनशक्ति व्यवस्थापन हुनु पनि जरुरी छ ।
जडीबुटी पनि गैरकाष्ठ वनपैदावरभित्रै पर्छ । उपयोगी भागका आधारमा व्यापारमा रहेका गैरकाष्ठ वनपैदावारलाई वर्गीकरण गरिएको छ । जरा तथा गानो जातिमा ६० प्रजाति, बोक्रा जातिमा २५ प्रजाति, पात÷डाँठ जातिमा ३६ प्रजाति, फूल र भुवा जातिमा १७ प्रजाति, फल र बीउ जातिमा ७० प्रजाति, पूरै बिरुवा जातिमा २६ प्रजाति, गम, रेजिन र लोहावान जातिमा नौ प्रजाति र अन्य जातिमा २४ प्रजाति गरी कुल २६७ प्रजातिका गैरकाष्ठ वनपैदावारको व्यवस्था वन नियमावली २०५१ ले गरेको छ । अन्य कृषि बाली नहुने पाखोपखेरा, खोल्साखोल्सीमा समेत जडीबुटी तथा सुगन्धित वनस्पतिको खेती गर्न सकिने हुँदा भूउपयोग पनि गर्न सकिने र आयआर्जनसमेत गर्न सकिने भएकाले यस कार्यलाई प्राथमिकतामा राख्नु आवश्यक छ ।
जडीबुटी तथा सुगन्धित वनस्पतिको अध्ययन, अनुसन्धान तथा पहिचान गरी यथार्थ अभिलेख तयार गरेर यिनीहरूको अवस्थालाई मध्यनजर गरेर खेती तथा प्रविधि विकास गरिनु आवश्यक छ । चरिचरन, वनविनाश, वासस्थान अतिक्रमण, डढेलो, भू–क्षय, बाढीपहिरो तथा पूर्वाधार निर्माण तथा विकासजस्ता कारणले जडीबुटी तथा सुगन्धित वनस्पतिको अस्तित्वमा चुनौती थपिएको हुन्छ ।
लोपोन्मुख प्रजातिको पहिचान गरी तिनीहरूको स्वस्थानीय तथा परस्थानीय संरक्षणमा ध्यान दिनुपर्ने हुन्छ । वनस्पति विभागअन्तर्गत रहेका ११ वटा वनस्पति उद्यानमा समेत महŒवपूर्ण वनस्पतिको स्वस्थानीय तथा परस्थानीय संरक्षण भइरहेका छन् । यसका अलावा महŒवपूर्ण जडीबुटी तथा सुगन्धित वनस्पतिको खेती प्रविधि विकासका कार्य पनि सञ्चालनमा छन् । स्थानीय जनतामा रहेको जडीबुटी तथा सुगन्धित वनस्पति स्रोतको उपयोगसम्बन्धी परम्परागत ज्ञान, सीपको अभिलेख गरिनु पनि उत्तिकै आवश्यक छ ।
विभिन्न निकायबाट जडीबुटी तथा सुगन्धित वनस्पतिलगायतका गैरकाष्ठ वनपैदावारसम्बन्धी विविध कार्यक्रम कार्यान्वयनमा नरहेका पनि होइनन् । तर, सतही ज्ञानका आधारमा कार्यक्रम राख्ने, योजना राख्ने गर्दा हामी लक्षित उपलब्धि हात पार्न सक्तैनौँ । फेरि पनि हामी पुरानै ढङ्गले कार्य गर्छौं भने हामी विकासमा फड्को मार्न सक्तैनौँ ।
हाम्रा करिब २२ हजार सामुदायिक वन उपभोक्ता समूहलगायत ३० हजारभन्दा बढी समुदायमा आधारित वन समूह छन् । कृषक समूह पनि छन् । यस्ता समूहलाई साँच्चिकै जडीबुटी तथा सुगन्धित वनस्पतिको खेती, व्यवसायीकरण, दिगो सङ्कलन, प्रशोधन, भण्डारण तथा बजारीकरणमा उत्प्रेरित गर्न सक्दा वन पनि संरक्षण हुन्छ र जीविकोपार्जनदेखि आयआर्जनका अवसर पनि आ–आफ्नै गाउँठाउँमा उपलब्ध हुनेछन् ।
जडीबुटीको सबल व्यवसायीकरण गरी विदेशी मुद्रा आर्जन गर्न सकिने धेरै सम्भावना हुँदाहुँदै पनि हामीले गाडी या बोरामा बेच्ने अनि प्याकेट या बट्टामा किन्ने अवस्थामा अल्झिरहँदा यस क्षेत्रबाट लिनुपर्ने जति लाभ लिन सकिरहेका छैनौँ ।
जडीबुटी कच्चा पदार्थमा नभई, प्रशोधन गरेर निकासी गर्न सक्यौँ भनेमात्र यसमा मूल्य अभिवृद्धि भई व्यापार घाटा न्यूनीकरण गर्ने दिशामा समेत अगाडि बढ्न सक्छौँ । यसका लागि जडीबुटीको व्यावसायिक खेती, सङ्कलन, प्रशोधन, भण्डारण र बजारीकरणका शृङ्खलालाई प्रविधिमैत्री र अनुकरणीय बनाउँदै जानु आवश्यक छ ।
धेरै मानिसका लागि जडीबुटी आयआर्जन तथा जीविकोपार्जनको आधार समेत बन्न सक्छ । जडीबुटी बीमाजस्ता कार्यक्रम सञ्चालन गर्ने हो भने यसै–यसै खेर गइरहेका जमिनको उपयोग हुनेमात्र होइन कि जमिनको अनावश्यक खण्डकरणमा समेत कमी आउन सक्छ ।
(लेखक वरिष्ठ वैज्ञानिक अधिकृत हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?