logo
२०८१ माघ ७ सोमवार



मकवानपुरमा दुर्लभ ‘भोटेलहरा’

विचार/दृष्टिकोण |




रघुराम पराजुली
मकवानपुरमा भोटेलहरा नामको दुर्लभ वनस्पति फेलापरेको छ । तीन महिनाभन्दा बढी समय लगाएर यस वनस्पतिको वासस्थान फेलापार्न पङ्तिकारलाई सफलता मिल्यो । सरकारी सेवाको सिलसिलामा मकवानपुरमा पदस्थापना हुँदादेखि नै भोटेलहराप्रति चासो थियो । विक्रम संवत् २०७८ वैशाख १४ गते मकवानपुरको बकैया गाउँपालिकाको वडा नम्बर ११ मा पर्ने ठिङ््गन क्षेत्रमा यो वनस्पति फेलापरेको हो । यसका हर्बेरियम नमुना वनस्पति अनुसन्धान केन्द्र मकवानपुर र राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशाला गोदावरीमा सङ्ग्रहित हुनेक्रममा छन् । भोटेलहराजस्ता दुर्लभ एवम् सङ्कटापन्न अरू थुप्रै वनस्पति हुन सक्छन् । यिनीहरूको खोजी एवम् सर्वेक्षण गरिनु आवश्यक छ ।
मकवानपुरको बकैया गाउँपालिकाको कान्ति लोकपथ खण्डको वडा नं ११ मा भोटेलहराको थप बिरुवा सङ्ख्या यकिन गर्न संरक्षणका लागि बकैया गाउँपालिका–११ का वडाध्यक्ष गोपालबहादुर नेसुर, वडासचिव ईश्वर भुजेल, ककैया गापा सदस्य रूपेन घलेलगायतका स्थानीय व्यक्तिसँग छलफल भएको छ । स्थानीय तह, सम्बन्धित सामुदायिक वन र वनस्पति अनुसन्धान केन्द्र सबै निकाय मिलेर अगाडि बढ्ने र स्थानीयमा यसको जानकारी गराई चरिचरन तथा घाँसपातबाट पर्न सक्ने जोखिम न्यूनीकरण गर्न पहल गर्ने सहमति भएको छ । भोटेलहरा भएको क्षेत्रलाई संरक्षण गर्न तारबार गर्ने र यसको जानकारीमूलक बोर्ड राखिनेछ । स्थलगत भ्रमणको क्रममा त्यस क्षेत्रमा जम्मा तीनवटा भोटेलहराका वनस्पति फेलापरेका छन् । थप अनुसन्धान हुन बाँकी छ ।
वनस्पति जगत्को निटेसी परिवारमा पर्ने ग्नेटम जातिको वनस्पतिका विश्वभर करिब ४० प्रजाति रहेको अध्ययनहरूले देखाएका छन् । जसमध्ये नेपालमा पाइने प्रजाति ग्नेटम मोन्टानम हो । यसको स्थानीय नाम भोटेलहरा हो । यो दुर्लभ वनस्पतिको सूचीमा पर्छ । सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस महासन्धि), २०७३ को पक्ष राष्ट्र भएका कारण यसको कार्यान्वयनका लागि नेपालले सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तर्राष्ट्रिय व्यापारलाई नियमन तथा नियन्त्रण ऐन–२०७३ र नियमावली–२०७६ ल्याएको छ । साइटिस महासन्धिमा रहेका तीनवटा अनुसूचीमध्ये भोटेलहरा अनुसूची–३ मा पर्छ । भोटेलहराको अहिलेको प्राकृतिक उपलब्धता भने केवल सङ्खुवासभा, तनहुँ र मकवानपुरमा मात्र रहेको पछिल्ला वानस्पतिक अन्वेषण तथा सर्वेक्षणबाट थाहा लागेको छ । सबैभन्दा ताजा यसको प्राकृतिक उपलब्धता भनेको मकवानपुर रहेको छ । ३० वर्षअगाडिको अध्ययन तथा अभिलेखीकरणमा मकवानपुरमा भोटेलहरा पाइएको भने पनि योबीचको अवधिमा यो वनस्पति फेलापरेको कुनै अभिलेख देखिँदैन । मकवानपुरको तत्कालीन वृन्दावन वनस्पति फार्मआसपासमा यो वनस्पति रहेको अभिलेखका आधारमा चासो लागेका कारण पङ्तिकारले फेलापार्न सफल भएको हो ।
भोटेलहरा ढिलो बढ्ने, सदावहार लहराखालको वनस्पति हो । भाले र पोथी बिरुवा अलग–अलग हुने भएका कारण यिनीहरूमा परागशेचन हुन नसकेर पनि यो प्रजातिका नयाँ बिरुवा विस्तार नभएको हुन सक्छ । दम, खोकीमा यसको फल उपयोगी हुने अध्ययनले देखाएका छन् भने यसको लोक्ता बन्दुकको झोला बनाउन उपयोग हुने गरेको देखिन्छ । चीन, भारत, म्यानमार, थाइल्यान्ड, कम्बोडियाजस्ता मुलुकमा पनि यो वनस्पति पाइन्छ । यो वनस्पतिका पात लामा, चौडा र हरिया हुन्छन् । काण्डमा गाँठा र अन्तरगाँठा हुन्छन् । काण्ड पनि कडाखालको हुन्छ भने प्रजनन अङ्गका रूपमा बाहिरबाट हेर्दा पिपलासँग पनि झुक्किन सकिने अनि झट्ट हेर्दा यार्सागुम्बाको जस्ता आकार भएका कोन हुन्छन् । यसको काण्ड, पात तथा यसका कोनबाट सहजै अरू वनस्पतिबाट छुट्टाउन सकिन्छ । भाले कोन पोथी कोनभन्दा तुलनात्मक रूपमा छोटा हुन्छन् । परागशेचन हुन सक्यो भने पोथी कोनमा फल लाग्छन् । यी फल पाक्दा राता पहेँला रङका हुन्छन् । यस्ता फल मान्छले खाने पनि गरेको अध्ययनले देखाएका छन् ।
राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशालाको अभिलेखअनुसार सन् १९६५ मा सबैभन्दा पहिले एमएल बेनर्जी नेतृत्वको टिमले पूर्वी नेपालको सिदुवा क्षेत्रआसपासबाट सङ्कलन गरेको थियो । यसैगरी, सन् १९६६ मा मकवानपुर वृन्दावन वनस्पति फार्म क्षेत्रबाट सङ्कलन भएको देखिन्छ भने बीचको अवधिमा रतुवाखोला, चुलाचुली, चितवन, सङ्खुवासभाका विभिन्न स्थान र तनहुँबाट हर्बेरियम सङ्कलन भएको देखिन्छ । यस अगाडि सङ्खुवासभाको नुम क्षेत्रबाट सन् २०११ र तनहुको ढोरफिर्दी, ढोरवाराही मन्दिर क्षेत्रबाट सन् २०१४ मा सङ्कलन भएको अभिलेख देखिन्छ ।
भोटेलहराको आन्तरिक संरचनाका धेरै कुरा र नग्न बीज हुने भएको कारण जिम्नोस्पर्म वर्गमा राखिएको हो । यसले एन्जिओस्पर्म वर्गका वनस्पतिसँग पनि मिल्ने केही गुण जस्तै चौडा पात हुनु, आन्तरिक संरचनामा जाइलममा भेसल हुनु र कोन तथा बोटको बाहिरी बनावट पनि हुन् । वनस्पतिविद्हरूले भोटेलहराखालका वनस्पतिलाई जिम्नोस्पर्म र एन्जिओस्पर्मबीचको पुलको हिसाबमा पनि हेर्ने गरेका छन् । यसरी एन्जिओस्पर्मको जस्तो गुण देखाउने तर जिम्नोस्पर्म वर्गमा पर्ने भएकाले यसको विशेष महŒव रहेको छ ।
वनस्पति अनुसन्धान केन्द्र मकवानपुरले यसको प्रजनन विधिको अध्ययन कार्यलाई समेत एकसाथ अगाडि बढाउँदै छ । ठिङ्गन क्षेत्रमा यसअगावै साइटिसकै सूचीमा पर्ने रूख उन्यूको संरक्षणमा समेत वनस्पति अनुसन्धान केन्द्रले पहल गरेको छ । यस्तै अन्य धेरै दुर्लभ वनस्पतिहरू यस क्षेत्रमा हुन सक्छन्, जसको खोजी र अनुसन्धानमा समेत ध्यान दिनुपर्ने भएको छ । वनस्पतिको क्षेत्रमा यसरी दुर्लभ तथा लोपोन्मुख वनस्पति फेलापार्नु ठूलो उपलब्धिका रूपमा लिइन्छ ।
(लेखक वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरमा वरिष्ठ वैज्ञानिक अधिकृत हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?