दुर्गा कँडेल (छत्कुली)
कुनै समय लगानीका विभिन्न क्षेत्रमध्ये बैङ्क तथा वित्तीय संस्थाको लगानी आकर्षक मानिन्थ्यो । चालीसको दशकपछि निजी क्षेत्रका बैङ्क तथा वित्तीय संस्था खोल्नेक्रम सुरु भयो । २०६८ चैतसम्म पुग्दा ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या २१७ सम्म पुग्न गयो । सीमित बजार बढ्दो सञ्चालन खर्च, प्रतिस्पर्धा बढिरहँदा निक्षेपमा बढी व्याज र कर्जामा कम व्याजदर कायम गर्नुपर्ने परिस्थिति, विनाज्ञान र अनुभवका लगानीकर्ता वित्तीय क्षेत्रमा लगानी गर्दा त्यसको उचित व्यवस्थापनमा कमी, संस्थागत सुशासनको अभाव, तथ्याङ्कमा फेरबदलजस्ता क्रियाकलापले वित्तीय संस्था भित्रभित्रै खोक्रिँदै जाने परिस्थितिले सर्वसाधारणमा बैङ्क तथा वित्तीय संस्थाप्रति नै विश्वास गर्न नसक्ने परिस्थितिमा आउन थालेपछि वित्तीय संस्थाको मर्जर तथा एक्विजिसनकोे व्यवस्था लागू गरियो । फलस्वरूप २०७७ फ्mागुन महिनासम्म आइपुग्दा बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या १४२ मा कायम भयो ।
२०७७ फ्mागुन महिनाको तथ्याङ्कलाई हेर्दा करिब तीन करोड ४६ लाख ७१ हजार व्यक्तिबाट निक्षेप सङ्कलन गरिएको छ भने १६ लाख एक हजार व्यक्तिलाई कर्जा लगानी भएको देखिन्छ । करिब ४३ खर्बभन्दा बढी निक्षेप सङ्कलन भएको छ र ३८ खर्बभन्दा बढी कर्जा लगानी गरिएको छ । वित्तीय क्षेत्रको औसत व्याजदर निक्षेपमा ४.६८ प्रतिशत रहेको र कर्जामा ८.७३ प्रतिशत रहेको छ । वित्तीय क्षेत्रको क्यापिटल करिब पाँच खर्ब ४४ अर्ब रहेको छ । यस प्रसङ्गलाई बैङ्क तथा वित्तीय संस्थाको लगानीबाट प्राप्त प्रतिफल, सर्वसाधारणको बुझाइ र यसमा अन्तर्निहित सम्भावित जोखिमलाई विश्लेषण गर्दा बैङ्क तथा वित्तीय संस्थाको सेवा बजारमा छानी–छानी निक्षेपकर्ता तथा ऋणीले लिन सक्ने वातावरण विद्यमान छ । ग्राहकलाई सेवा दिन आफ्ना कार्यालयको सजावट गर्ने, कर्मचारीमा उमेर समूह छानी आकर्षक व्यक्तित्वको प्रदर्शन गर्ने, समान ग्राहकमा भिन्नभिन्न व्याजदर कायम गर्नेजस्ता क्रियाकलाप मज्जाले अनुभव गर्न सकिन्छ । बढ्दो प्रतिस्पर्धा, समय–समयमा हुने तरलताको सङ्कुचन र विस्तार, नियमनकारी निकायका नीति निर्देशनमा हेरफेर, सरकारका नीति तथा कार्यक्रम, ग्राहकको रुचि र आवश्यकता, मानिसले नचाहेर नै आइपर्ने प्राकृतिक विपत्तिजस्ता विविध पक्षलाई बैङ्क तथा वित्तीय संस्थाले सामना गर्दै अगाडि जानुपर्ने बाध्यता रहेको छ ।
बैङ्क तथा वित्तीय संस्थाले गर्ने कारोबार पारदर्शी नहुँदो हो त नासोका रूपमा लिएको निक्षेप भोलि भुक्तानी गर्ने सर्तमा लगानी गरी बीचमा मध्यस्थको काम गरी नाफा आर्जन गर्ने कार्य कम चुनौतीको मानिँदैन । बैङ्क तथा वित्तीय संस्थामा विभिन्न तहमा संस्थाको सुरक्षार्थ आफ्नो भूमिकामा समूह तैनाथ रहेका हुन्छन् । कर्मचारी वर्ग आफ्नो जिम्मेवारीपूर्ण भूमिका निभाइरहेका हुन्छन् भने व्यवस्थापन तहले उचित व्यवस्थापनको प्रबन्ध मिलाइरहेको पाइन्छ । यी दुवै वर्गलाई सही बाटोमा डो¥याउने, गलत क्रियाकलाप रोक्ने, समग्रमा संस्थागत हितमा कार्य गर्ने समूह सञ्चालकको रहेको हुन्छ । यी तीन समूहको अथक प्रयासपछि संस्थाले केही नाफा आर्जन गर्छ ।
पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थाको नाफाको दरलाई हेर्ने हो भने पुँजी कोषको करिब १० प्रतिशतको हाराहारीमा रहेको पाइन्छ । २०७७ फ्mागुन महिनामा बैङ्क तथा वित्तीय संस्थाको पुँजी कोष पाँच खर्ब ४४ अर्ब रहेकोमा नाफा ४६ अर्ब रहेको छ, जुन नौ प्रतिशतको हाराहारीमा छ । तिनै बैङ्क तथा वित्तीय संस्थामा निक्षेप राख्ने निक्षेपकर्ता मुद्दती निक्षेपमा रकम राखेर घरमा बसीबसी आठ प्रतिशतको हाराहारी प्रतिफल प्राप्त गरिरहेका हुन्छन् । यहाँ बुझ्नुपर्ने विषय के हो भने बैङ्क तथा वित्तीय संस्थाले अर्बौं नाफा गरेका होलान् तर तिनको लगानी खर्बौं रहेको हुन्छ । जुन नाफाको दर सामान्य व्यापार व्यवसायबाट सहजै आर्जन गर्न सकिने दर रहेको छ भने बैङ्क तथा वित्तीय संस्थाले जोखिमको धारमा बसेर मुनाफा आर्जन गरेका हुन्छन् ।
सामान्य जनमानसको बुझाइमा बैङ्क तथा वित्तीय संस्थाले ऋणीलाई निचोरेर नाफा कमाइरहेका हुन्छन् भन्ने सोच अभैm पनि पाइन्छ । यो बिल्कुल होइन । बैङ्कले अरूबाट सङ्कलन भएको निक्षेपको व्याज भुक्तानी गर्नुपर्छ, साँवा मागेकाबखत भुक्तान गर्न सक्नुपर्छ । आफूले लगानी गरेको रकमको साँवा तथा व्याज असुल गर्न सकिएन भने भुक्तानी कहाँबाट
दिने ? यसको सहज उत्तर हो, लगानीकर्ताको घरघराना बिक्री गरी भुक्तानी गर्नु । सामान्य बुझाइ तथा आफ्नो व्यवसायको वित्तीय विवरण हेर्न सक्ने व्यक्तिले बैङ्क तथा वित्तीय संस्थाको वित्तीय विवरणबाट लगानी कति छ र त्यसकोे प्रतिफल कति आइरहेको छ भनेर थाहा पाउन सक्छ ।
बैङ्क तथा वित्तीय संस्थामा सम्भावित जोखिम प्रशस्त हुन्छन् । लगानी भविष्यसँग जोडिएको हुन्छ, त्यो पनि अरूले गर्ने क्रियाकलापसँग । बैङ्कले गरेको लगानी सही ढङ्गबाट परिचालन गर्न नसक्दा कतिपय लगानी समयमा असुल गर्न नसकी समस्याग्रस्त रूपमा रहेका हुन्छन् । जसलाई खराब कर्जा भनिन्छ । हाल वित्तीय क्षेत्रको खराब कर्जा समग्रमा १.८४ प्रतिशत रहेको छ । खराब कर्जालाई ननपर्कर्मिङ लोन पनि भनिन्छ । यस्तो कर्जा जोखिममा रहनुमा लगानीकर्ताले लगानी गर्दा उचित रूपमा ध्यान पु¥याउन नसक्नु, ऋणीको खराब नियतले हुन सक्छ, विभिन्न किसिमका प्रकोपको असर जस्तै ः भूकम्प र महामारी आदिको असरले हुन सक्छ भने कतिपय ठीक ढङ्गबाट गर्दागर्दै पनि विभिन्न किसिमका आर्थिक, सामाजिक, राजनीतिक तथा अन्तर्राष्ट्रिय वातावरणको प्रभावबाट पनि लगानी भएको कर्जा असुलीमा समस्या आउन सक्छ । लगानीको व्याजदर तथा कर्जामा लिने व्याजदर मात्रले क्षणिक नाफा आर्जन गर्न सकिएला तर निक्षेपमा दिने व्याजदरले स्थायित्वमा प्रभाव पार्छ । निक्षेपकर्तालाई कम व्याज दिएर बढी नाफा आर्जन गर्ने बैङ्क वित्तीय संस्था क्षणिक समयमा यसको फाइदामा रहलान् तर निक्षेपकर्तालाई दिने व्याजदर उच्च राख्दै लगानी र निक्षेपको अन्तर तथा विनियम दरलाई कम गरी वित्तीय संस्थाले नन फन्डेड व्यवसायमा वृद्धि गर्ने, रेमिट्यान्स व्यवसायलाई बढाउने, अन्य सेवा विस्तार गरी कमिसनको आम्दानी बढाउने प्रयासतर्पm लागेर नाफा आर्जन गर्ने प्रयत्न गर्न सके नाफामा स्थायित्व रहने विश्वास गर्न सकिन्छ ।
समग्रमा बैङ्क तथा वित्तीय संस्थाको माध्यमबाट सर्वसाधारणको निक्षेपको उचित संरक्षण गर्दै निष्क्रिय रूपमा रहेको कर्जालाई सक्रिय बनाउने तथा असुली प्रक्रियामा गई त्यस्ता कर्जाको दरलाई पूर्ण रूपमा हटाउन नसके पनि न्यून गर्न सक्नुपर्छ भने भइरहेका कर्जालाई गुणस्तरयुक्त कर्जाका रूपमा राखी आउँदा दिनको लगानीलाई प्रभावकारी ढङ्गबाट विश्लेषण गरी लगानी गर्ने वातावरण बनाउन सक्नुपर्छ । कर्जाको गुणस्तरसँगसँगै कर्जालाई बढाउँदै लानका लागि निक्षेपको स्थायित्व पनि त्यत्तिकै संवेदनशील विषय हो । निक्षेपलाई स्थायी रूपमा राख्नका लागि निक्षेपको व्याजमा ध्यान दिई समयसापेक्ष परिमार्जन र निक्षेपकर्तालाई सन्तुष्ट बनाउन सकेमात्र वित्तीय संस्थाको स्थिरता हुन सक्छ । निक्षेपकर्ताको हितका लागि पर्याप्त तथा सुहाउँदो व्याजदर उपलब्ध गराएर प्राप्त नाफाको स्थायित्व रहन सक्छ । यसतर्पm बैङ्क वित्तीय संस्थाको ध्यान जानु जरुरी देखिन्छ ।
ग्राहक यति सचेत भइसकेका छन् कि वित्तीय संस्थाले अपनाउने सबैखालका प्रयासको सूक्ष्म रूपमा विश्लेषण गरिरहेका हुन्छन् । आफ्नो अनुकूल पर्दा एउटा वित्तीय संस्था छाडेर अर्कोमा जाने प्रवृत्ति सबैले अनुभूत गरेको विषय हो । अर्कोतिर बैङ्क वित्तीय संस्थाले पनि विभिन्नखालका प्रलोभनमा पारेर ग्राहक आफूतिर तान्न चारोका रूपमा बजारमा नयाँ–नयाँ स्किम फालिरहेका हुन्छन् । तिनै स्किम छोप्ने होडबाजीले वित्तीय बजारलाई केही अस्वस्थ बनाएको आभास हुन्छ । जसले गर्दा अबको समयमा स्थायित्व पाउने भनेको दीर्घकालीन सोच बनाएर निक्षेपमा दिने व्याज बढीभन्दा बढी उपलब्ध गराई कर्जामा लिने व्याज कम गरी ग्राहकमुखी सेवामा समर्पित वित्तीय संस्थाको स्थायित्व रहने निश्चितप्रायः मानिन्छ । निक्षेपको बढी व्याजदरसँग स्थायित्वको सम्बन्ध सकारात्मक रहन्छ भने कर्जाको बढी व्याजदरसँग स्थायित्वको सम्बन्ध नकारात्मक रहन्छ । तसर्थ, अहिलेको प्रतिस्पर्धी वित्तीय बजारमा सबै सूचकमा सवलता प्राप्त गरी दीर्घकालसम्म स्थायित्व कायम राख्न वित्तीय संस्थाले अबका दिनमा घनीभूत रूपमा सोच्ने बेला आइसकेको छ ।
सँगसँगै समाजमा स्थापित सङ्गठनले समाजप्रतिको उत्तरदायित्वलाई हृदयदेखि आत्मसात् गरी आफ्नो दायित्व पूरा गरी सङ्गठनको उद्देश्य हासिल गर्न सकिन्छ ।
(लेखक राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड, विशालबजार शाखाका मुख्य प्रबन्धक हुनुहुन्छ ।)