logo
२०८१ मंसिर १० सोमवार



आर्थिक क्रान्तिको कार्यभार

विचार/दृष्टिकोण |




दुर्गा कँडेल (छत्कुली)

कुनै पनि देश विकासको प्रमुख मेरुदण्ड अर्थतन्त्र नै हो । यदि अर्थतन्त्र सही दिशामा चलेको छ भने देश र जनता समृद्ध हुन्छन् । अन्यथा देश गरिबी, अशान्ति, अस्थिरता, परनिर्भरता, दासता अनि विदेशी हस्तक्षेपको सिकार हुनुपर्ने हुन्छ । अर्थतन्त्रले देशको हर क्षेत्रमा प्रत्यक्ष वा परोक्ष रूपमा प्रभाव पार्ने भएकाले यसको विकासको विषय देशको मूल मुद्दा हुनु आवश्यक छ ।

राजनीति देशको मूल नीति हो । त्यसैले देशको सामाजिक, आर्थिक, वैज्ञानिक, प्रशासनिक आदि क्षेत्रमा यसले प्रत्यक्ष प्रभाव पार्छ तर नेपालको अर्थतन्त्र गलत राजनीतिको सिकार भएको छ । यसको एउटा ज्वलन्त उदाहरण हो– नेपालको नीतिहीन, कमजोर अनि अस्थिर अर्थतन्त्र । नेपालको अर्थतन्त्रको विकासको निमित्त कुनै पनि नेतागण, दल अनि सरकारको ध्यान गएको पाइँदैन । उनीहरूको ध्यान गएको छ त केवल व्यक्ति, गुट अनि समूहगत स्वार्थमा मात्र ।

नेपाल आर्थिक विकासको निमित्त सम्भावना नै सम्भावना बोकेको देश हो । यति हुँदाहुँदै यसको आधारभूत विकाससमेत नभएकोले नेपाललाई विकासको निमित्त भर्जिन ल्यान्ड भन्ने गरिन्छ । विश्व अर्थतन्त्रको दुई उदीयमान शक्ति मुलुक चीन र भारतको बीचमा अवस्थित यो मुलुक प्राकृतिक रूपले धनी भए पनि यसको महìव चिन्न नसक्नु र उपयोग गर्न नसक्नुका कारणले यो देश सधैँ पिछडिएको छ । जीवनको छोटो कालखण्डमा नै धेरै ठूलो ऐतिहासिक एवं राजनीतिक परिवर्तन देख्न पायौँ हामीले । त्यसैले देशको राजनीतिक क्रान्ति पूरा भएको छ । देशको अबको मुख्य कार्यभार भनेको आर्थिक क्रान्ति नै हो । आर्थिक क्रान्तिका आधार भनेको कृषि, पर्यटन, औद्योगिक, पूर्वाधार, जलस्रोत एवं भौगर्भिक अन्वेषणको क्रान्ति नै हुन् ।

पुरानो ढर्राको कृषि पद्धतिलाई औद्योगीकरण एवं आधुनिक यान्त्रीकरणमा रूपान्तरित गरी उत्पादन बढाउन सकिन्छ । खेतीको विविधीकरण गरी कृषकलाई प्राविधिक, आर्थिक, प्रशासनिक आदिमा सहजीकरण गर्दै सुविधा प्रदान गरी कृषिमा उत्प्रेरित गराउन सकिन्छ । श्रमजीवी वर्गहरू उत्पादन र ग्राहक दुवै ठगिने अनि बीचका बिचौलियाहरूले बिनाश्रम धेरै नाफा खाने प्रणालीको अन्त्य हुनुपर्छ । कृषि उपज बजारीकरणको व्यवस्थासमेत सरकारले गर्नुपर्ने हुन्छ । समयमा मल, बीज, कीटनाशक औषधि आदिको सहज उपलब्धता हुनुपर्छ ।

अर्थतन्त्रको अर्को महत्त्वपूर्ण क्षेत्र ऊर्जाको क्षेत्र हो । ऊर्जाहरूमध्ये जलविद्युत् प्रमुख हो । हाल आएर जलविद्युत् क्षेत्रमा केही लगानी त भएका छन् तर बिनायोजनाका छन् । उदाहरणको निमित्त, माथिल्लो तामाकोसी आयोजना लगायतबाट विद्युत् उत्पादन सुरु भएका छन् तर तिनीहरूको प्रसारण लाइन तथा बजारीकरणको कुनै व्यवस्था छैन । अध्ययन, अनुसन्धान अनि योजनाबिनाको लगानीले उचित प्रतिफल दिन सक्दैन । अर्कोतिर धेरैजसो जलविद्युत् आयोजना झोले आयोजनाका रूपमा रहेको देखिन्छ अर्थात् प्रस्ताव पेस गरेर स्वीकृति लिने तर फिल्डमा काम नहुने गरेको पाइन्छ भने अर्कोतिर उत्पादन लागतको कुनै मापदण्ड नै निर्धारण भएको पाइँदैन, जसले गर्दा प्रतियुनिट लागतमा भारी फरक भएको देखिन्छ । यस्तो रोगको अन्त्य गरेर सही लगानीकर्तालाई झन्झटिलो प्रशासनिक कामबाट मुक्त गरी लगानीको निमित्त आकर्षित गर्नुपर्ने आवश्यकता छ ।

विद्युत् उत्पादनको क्षेत्रमा झन्डै आत्मनिर्भरताको अवस्थातर्पm उन्मुख भए पनि दक्षिण एसियामा एउटा प्रमुख निर्यातकर्ताको क्षमता राख्छ नेपालले । त्यसैले छिमेकी राष्ट्रसँग समयमा संवाद गरी अन्तर्राष्ट्रिय रूपमा विद्युत् निर्यातको बाटो खोल्नुपर्ने आवश्यकता छ । सँगसँगै त्यसका लागि विद्युत् प्रसारण लाइनको निर्माणलाई पनि अगाडि बढाउनुपर्ने हुन्छ । यस कामको निमित्त एम.सी.सी. परियोजनाको चर्चा चुलिएको अवस्था छ अहिले ।

देशको प्राकृतिक सम्प्रदाको कुरा गर्दा भौगर्भिक रूपमा पनि हामी धनी छौँ । हाम्रो देशको ठूला ठूला पहाडमा युरेनियम, फलाम, तामाजस्ता महँगा धातुहरूका साथै पेट्रोलियम पदार्थको सम्भावना त्यतिकै प्रचुर छ । छोटो दूरीमा पनि धेरै प्रकारका हावापानी भएको हाम्रो जस्तो प्राकृतिक रूपमा सुन्दर देशमा पर्यटनको विकास गरेमा आर्थिक तथा गुणात्मक रूपमा फड्को मार्ने सम्भावना छ । उद्योगधन्दा भएका पनि बन्द भएका छन्, नयाँ थपिने त कुरै नगरौँ । दिनानुदिन उपभोग्य वस्तु सबैजसो आयात हुने गरेका छन् । त्यसैले उद्योगधन्दाको विकास गरेर आत्मनिर्भरतातर्पm लम्कने अनि निर्याततर्फको लक्ष्य राखेर औद्योगीकरण गर्नुको विकल्प नै छैन । बाटोघाटो, सडक, पुललगायतका पूर्वाधारको विकास त प्राथमिक विषय हुने नै भए ।

माथि उल्लिखित सबै क्षेत्रको विकासको निमित्त अनिवार्य सर्त हो– अनुसन्धान । अनुसन्धानबिना कुनै पनि मुलुकको विकास असम्भवप्राय हुन्छ । सरकारले सर्वप्रथम जलविद्युत्, कृषि र पर्यटन आदि क्षेत्रका अनुसन्धानकर्ता तयार गर्नुपर्छ । यसका लागि विश्वविद्यालयमा अनुसन्धानको वातावरण सिर्जना गर्ने र विदेशमा अध्ययन गरेर तयार भएका विज्ञ जनशक्तिलाई स्वदेशमा स्वागत गर्ने वातावरण तयार गर्नुपर्छ । यसतर्फ अहिलेसम्म खास चासो दिइएको देखिएको छैन । अनि उक्त जनशक्तिलाई अनुसन्धानमा खटाउनुपर्छ ।

अनुसन्धान भनेको भिन्न परिस्थितिमा नयाँ कुराको अध्ययन गर्नु हो । उदाहरणको निमित्त नेपालको भौगोलिक वनावटका आधारमा विद्युत् उत्पादनको मोडालिटी अरू कुनै देशको भन्दा फरक हुनसक्छ । त्यसैले हाम्रो देशको वस्तुस्थिति अनुरूपको अध्ययन अनुसन्धान गरेर विज्ञ टोलीले सरकारलाई प्रतिवेदन बुझाउँछ । सोही अनुसन्धानका आधारमा सरकारले आफ्ना भावी योजना बनाउँछ र कार्यान्वयन अघि बढाउँछ । यसरी अघि बढाएका आयोजना मात्र सफल हुन्छन् र अपेक्षित प्रतिफल दिन सक्छन् । विकसित देशहरू यसैगरी अगाडि बढेका हुन्छन् र सफलतासमेत चुुमेका छन् । जुन कुरा हाम्रो देशमा हुन सकेको छैन । यसको निमित्त राजनीतिक नेतृत्व वर्गले मनन गर्र्नुप-यो अनि कार्यान्वयनमा उत्रनु प-यो ।

नेपालमा राजनीतिक क्रान्ति पूरा भएको छ । यो अवस्थामा अध्ययन अनुसन्धानका आधारमा कृषि, पर्यटन, ऊर्जा आदि क्षेत्रको विकास गरेर हाम्रो दशको आर्थिक क्रान्ति गर्न सकिन्छ । विश्व अर्थतन्त्रको उदीयमान दुई शक्तिशाली राष्ट्र हाम्रा छिमेकी चीन र भारतका विशाल बजारलाई उपयोग गर्ने र उनीहरूका सीप एवं अनुभवलाई समेत उपयोग गरेर आर्थिक रूपले कायापलट गर्न सक्ने सम्भावना नै सम्भावना बोकेको हाम्रो देशले आफ्ना प्राकृतिक स्रोत र साधनलाई भरपूर उपयोग गर्नुपर्ने देखिन्छ । राजनीतिक स्थिरता कायम गरी आर्थिक विकासमा लागेमा छोटो समयमा नै ठूलो परिवर्तन हुनेछ र नेपालले एक स्वाभिमान, विकसित, समृद्ध अनि सुन्दर देशको परिचय बनाउने छ । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?