प्रा.डा. बालमुकुन्द रेग्मी
कोरोना भाइरस सङ्क्रमणले सताइरहेको बेला नेपालमा अर्को एउटा स्वास्थ्य चुनौतीका रूपमा ‘कालो ढुसी’ देखापरेको छ । स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलको भनाइमा असार २२ गतेसम्म नेपालमा २६ जनामा कालो ढुसी रोग देखिएको छ । यसलाई अङ्ग्रेजीमा ‘ब्ल्याक फङ्गस’ र चिकित्साको भाषामा ‘म्युकरमाइकोसिस’ भन्ने गरिन्छ । यो रोग पहिले ‘जाइगोमिसेट्स’ र अहिले ‘म्युर्मिसेट्स’ नामले चिनिने पारदर्शी फङ्गसले गर्दा लाग्छ । यो रोग लागेको तन्तु सुरुमा रातो र पछि कोष मर्न थालेपछि कालो देखिने भएको यसलाई कालो ढुसी भनिएको हो । यो फङ्गस हाम्रोवरिपरि वातावरणमा जताततै पाइन्छ, जस्तै माटोमा, पशुको दिसा वा मलमा, सड्दै गरेको फलफूल र सागसब्जी आदिमा । रोग नियन्त्रण तथा रोकथामका लागि अमेरिकी केन्द्र भन्छ– अधिकांश मानिस हरेक दिन यस्तो म्युर्मिसेट्स फङ्गसको सम्पर्कमा आउँछन् । फोक्सो र नाकमा देखिने सङ्क्रमण सासको फेर्दा हावासित प्रवेश गर्ने वातावरणमा रहेको फङ्गसका वीजाणुबाट र छालाको सङ्क्रमण घाउ लागेको वा पोलेको छालाबाट हुन्छ । यो रोग सिधै मानिसबाट मानिसमा सरेको देखिएको छैन । कम सर्नेखालको भए पनि समयमै उपचार हुन नसक्दा यो रोग निकै घातक देखिएको छ । बिरामी बचाउन कतिको शल्यक्रियामार्फत आँखा निकाल्न परेको छ भने भारतको पछिल्लो अनुभवमा ४५.७ प्रतिशत बिरामीको मृत्यु नै हुने गरेको छ । यसर्थ, कालो ढुसी नामक रोगप्रति अत्यन्त सजग रहन आवश्यक छ ।
यो फङ्गस यति व्यापक र रोग यति घातक भए पनि निश्चित अवस्थाका व्यक्तिलाई मात्र लाग्ने गर्छ । कालो ढुसी खास त प्रतिरोधात्मक शक्ति कमजोर भएका व्यक्तिलाई लाग्न सक्छ । नाक र मस्तिष्कमा लाग्ने ‘राइनोसेरेब्रल’ सङ्क्रमण मुख्यतः मधुमेह राम्ररी नियन्त्रणमा नरहेका बिरामीमा देखिन्छ, यसले आँखा, माथिल्लो बङ्गारा र मस्तिष्कमा हानि गर्छ । क्यान्सरका बिरामी, अङ्ग वा स्टेम सेल प्रत्यारोपण गरिएका व्यक्तिमा फोक्सोको सङ्क्रमण देखिन्छ । समय नपुगी जन्मेका, प्रतिजैविक वा प्रतिरोध घटाउने औषधि लिएका वा शल्यक्रिया गरिएका एक महिनामुनिका नवजात शिशुमा आमाशय र आन्द्रामा सङ्क्रमण देखिन्छ । प्रतिरोध शक्ति नबिग्रेको व्यक्तिमा घाउबाट फङ्गसले प्रवेश पाएर छालाको सङ्क्रमण देखिन सक्छ ।
कोरोनासँगको सम्बन्ध
उन्नाइसौँ शताब्दीको उत्तराद्र्धदेखि मानिसमा कालो ढुसीको सङ्क्रमण देखिएको इतिहास छ । सन् २००२ को हिन्दमहासागरको सुनामी र सन् २०११ को मिसौरीको भुमरीपछि पनि कालो ढुसीको प्रकोप देखिएको थियो । अहिले कोरोना सङ्क्रमणको दौरानमा नेपाल, भारत, ओमान, मिश्र र अफगानिस्तानमा पनि कालो ढुसी देखापरेको छ ।
फङ्गस सङ्क्रमणको एक प्रमुख कारण मधुमेहले मानिसमा उत्पन्न गर्ने कमजोर प्रतिरोध शक्ति मानिन्छ । तर, महामारी विज्ञहरू कालो ढुसी युरोप वा संयुक्त राज्य अमेरिकामा नभई, भारतमा फैलिनुका कारण बताउन खोजिरहेका छन् । भारतमा (७.७ करोड) जस्तै अमेरिका
(३.४ करोड) मधुमेही जनसङ्ख्या ठूलो भए पनि मधुमेह नियन्त्रणमा भारत धेरै पछाडि परेको छ । अमेरिकामा ३.६ प्रतिशत जनतामा प्रतिरोध शक्ति कमजोर छ भने भारतमा २०.८ प्रतिशतमा । यसरी हेर्दा अमेरिकीभन्दा भारतीयमा कालो ढुसी देखिने सम्भावना छ गुणा ठूलो देखिन्छ । त्यसमाथि जनसङ्ख्याको अन्तर त छँदै छ ।
भारतमा कालो ढुसीको प्रकोप बढी देखिनुका कारण खोतल्दै इटालीको फेडरिको दोस्रो नेपल्स विश्वविद्यालयका प्राध्यापक मिकेल मिङ्योङ्नाको समूहले सन् २०११ मा इन्टनेसनल जर्नल अफ इन्फेक्सस डिजिज भन्नुभएको छ, ‘सम्भवतः मौसम, सामाजिक, आर्थिक, सरसफाइको दुर्लभता निदानमा हुने ढिलाइसित सम्बन्धित छ ।’ उनीहरूले तमिलनाडुमा गरिएको सातवर्षे अध्ययनका आधारमा सन् २००८ मा इन्डियन जर्नल अफ प्याथोलोजी एन्ड माइक्रो बायोलोजीमा प्रकाशित प्रतिवेदनले वास्तवमै भारतीय जनसङ्ख्याको एक महŒवपूर्ण हिस्सा गरिबीको रेखामुनि रहेको र फलस्वरूप कुपोषणले उनीहरूमा सजिलैसित आक्रामक फङ्गल सङ्क्रमण हुन सक्ने सम्भावनाको पुष्टि भएको उल्लेख गर्नुभएको छ ।
सन् २०१५ मा नयाँदिल्लीमा एकजना ११ महिने बालकमा देखिएको खाद्यान्नको म्युकरम्युकोसिसबारे सन् २०१६ को बायोमेडिकल जर्नलमा लेख्दै डा. जेना ब्लाह भट्टाचार्य र सहकर्मीहरू लेख्छन्– गरिबीले गर्दा बच्चालाई राम्ररी खुवाउन सकिएको थिएन । सन् २०१४ मा सुएज क्यानल विश्वविद्यालयको मेडिकल जर्नलमा लेख्दै यमनको हम्द्रमाउट विश्वविद्यालयका डा. मुनासर एस अल मुफ्लाही भन्छन्– फङ्गल सङ्क्रमण र कमजोर आर्थिक, सामाजिक अवस्थाबीच सम्बन्ध छ, ५६.२७ प्रतिशत फङ्गल साइनुसाइटिस गरिबीले हुन्छ ।
कोभिड–१९ को सङ्क्रमण हुँदा होस् वा अघिपछि होस्, प्रतिरोधशक्ति घटाउने औषधिको प्रयोग भइरहेका छन् । ल्युपस, सन्धिसोथ (रुमाट्वाइड आथ्र्राइटिस) र मल्टिपल स्क्लेरोसिसजस्ता रोगमा प्रतिरोधशक्ति घटाउने औषधि प्रयोग हुन्छ । कोभिड–१९, त्यससित सम्बन्धित निशेधाज्ञा र बन्दाबन्दीले विद्यमान प्रत्यक्ष अप्रत्यक्ष रूपमा सामाजिक आर्थिक कठिनाइ अझ बढाएको हुन सक्छ, उपचारक्रममा हुने स्टेरोइड र इम्युनोसप्रेस्यान्ट प्रयोगले फङ्गसलाई सङ्क्रामक भई फैलिने मौका दिएको हुन सक्छ ।
औद्योगिक अक्सिजन प्रयोग
भारत र नेपालमा कोरोनाको दोस्रो लहर चल्दा अक्सिजनको कमी हुन गयो । त्यस्तो बेलामा बिरामीमा खासगरी भारतमा औद्योगिक अक्सिजनको प्रयोग गरियो । धेरैलाई के लाग्यो भने कालो ढुसीको मुख्य कारण त्यस्तो औद्योगिक अक्सिजन हो, जसमार्फत फोहोर पानी र माटोले बिरामीमा प्रवेश पायो । स्वच्छता पक्कै पनि महŒवपूर्ण सवाल हो । अस्वस्थ अभ्यास विभिन्न तरिकाले बिरामीलाई हानि गर्न सक्छ । तर, यो फङ्गस न त पानीमा बस्ने गरेको प्रमाण छ, न त उच्चचापीय अक्सिजनमा । कालो ढुसी सङ्क्रमण फैलिनुमा औद्योगिक अक्सिजनको भूमिका थियो थिएन हेर्न भारतीय सरकारले कर्नाटक राज्य अध्ययन सुरु गरेको छ । अहिलेलाई त्यस्तो अनुमान स्वीकार गरिहाल्न सकिने आधार छैन ।
कालो ढुसीको सम्बन्ध फोहोर मास्क प्रयोगसित हुन सक्ने देखिएको छ । फोहोर र लगाउँदालगाउँदै ओसिएको मास्क प्रयोगले फङ्गस फैलिन सक्ने देखिएको छ । सन् २०१४ मा द पिडियाट्रिक इन्फेक्सस डिजिज जर्नलमा डा. जोनाथन डफी र सहकर्मीले लेखेका छन, म्युकोर्मिकोसिस प्रकोप अस्पतालका कपडाबाट सरेको देखियो र तिनलाई धुँदा, पोको पार्दा, राख्दा र ओसार्दा वातावरणीय प्रदूषकबाट जोगाउने कोसिस गर्नुपर्छ ।
व्यक्तिगत तहमा अहिलेलाई हामी सबैले स्थापित स्वास्थ्य मापदण्डको पालना गर्दै, धूलो बढी हुने निर्माण साइटमा मास्क प्रयोग गर्ने, शरीरमा पूरा ढाक्ने लुगा लगाउने, काम गर्दा फोहोर र मलजस्ता वस्तुलाई सिधा नछोएर आइरन र जिङ्क जस्ता पूरक पदार्थको अत्यधिक आत्म–सेवनबाट जोगिएर हामी कालो ढुसीलाई मौका दिनबाट जोगिन सक्छौँ ।
समयमै अस्पताल जाँदा कालो ढुसीको सफल उपचार सम्भव छ । अलिकति पनि ढिलो गर्दा फङ्गसले शरीरका विभिन्न भागमा फैलिने मौका पाई शल्यक्रियाद्वारा आँखा फालेर मान्छे बचाउन परेका र ज्यानै गएका उदाहरण नेपालमै पनि घटेका छन् । सरकारले र सम्बद्ध पक्षले बजारमा यसको प्रभावकारी औषधि ‘एम्फोटेरिसिन बी’को अभाव अन्त्य गरी कुनै पनि उपायले यथाशीघ्र सुलभ उपलब्ध हुने वातावरण सिर्जना गर्नु आवश्यक छ ।
(लेखक त्रिविमा प्राध्यापनरत हुनुहुन्छ ।)