रमेशप्रसाद गौतम
विश्व नवप्रवर्तन सूचकाङ्कको १२६ देशको सूचीमा नेपाल १०८औँ स्थानमा परेको छ । यसले हाम्रो सिर्जनशीलता र नवप्रवर्तनको अवस्था झल्काउँछ । यसको पछाडि हाम्रो शिक्षा प्रणाली मुख्य जिम्मेवार छ । हाम्रो शिक्षा नीतिले योग्य जनशक्ति बनाउन नसकेको यो एउटा प्रमाण हो । आज विकसित भनेर चिनिएका देश राम्रो शिक्षा प्रणालीका कारण यो स्थितिमा पुगेका हुन् ।
ज्ञान, विज्ञान र प्रविधिका माध्यमले दक्ष जनशक्ति उत्पादन हुन्छ । दक्ष जनशक्ति उत्पादनको माध्यम शिक्षा नै हो । हाम्रो शिक्षा प्रणाली समय सान्दर्भिक बन्न सकेको छैन । यसले खाली सूचना र तथ्य सङ्कलन गर्ने रोबोट बनाइरहेको छ । हाम्रो शिक्षा व्यवस्थाअनुसार एउटा विद्यार्थीको ऊर्जावान् २५ वर्ष पढाइमै बितेको हुन्छ । यो समय खासै उत्पादनशील देखिँदैन । नेल्सन मण्डेलाको भनाइ छ, ‘शिक्षा यस्तो शक्तिशाली यन्त्र हो, जसको प्रयोगले भोलिको संसार बदलिएको हुन्छ ।’ शिक्षाले व्यक्ति, समाज र राष्ट्रलाई बदल्न सक्छ । शिक्षालाई ‘मेमोरी कार्ड’मा सीमित राख्नु हँुदैन । शिक्षाले मान्छेमा निहित सिर्जनशीलता बृहत् र व्यापक बनाउनमा सहयोग गर्नुपर्छ ।
यसै सन्दर्भमा शिक्षाविद् सर केन रोबिन्सका भनाइलाई अगाडि सारौँ– ‘सिर्जनशीलताको प्रमुख आधार कल्पना हो, बिनाकल्पना मानिसले नयाँ सोच र अविष्कार गर्न सम्भव हँुदैन ।’ कल्पनालाई व्यवहारमा उतार्ने भनेको नै सिर्जनशीलता हो । सिर्जनशीलताबाट नै मानिसले जीवनमा पढ्न, लेख्न, गाउन, नाच्न, अनेक कलाकौशल आदिको प्रदर्शन गर्न सक्छ । कुनै पनि व्यक्तिले सिर्जनशीलताबिना नयाँ अविष्कारसँग सामञ्जस्य राख्न सक्ने सीप विकास गर्न सक्दैन । नयाँ सिर्जनशीलताले नयाँ सीपका निम्ति उत्साह जगाई श्रमबजारमा बिकाउन र आम्दानी बढाउनसमेत सघाउ पु-याउँछ ।
हाम्रा शैक्षिक परिपाटीले जिज्ञासुलाई तिरस्कार गर्दै आएको छ । विद्यार्थीको रुचि र चाहनालाई ख्याल गरिँदैन । अभिभावक र शिक्षकको दबाबका कारण विद्यार्थीको सिर्जनशीलतामा समेत ह्रास आउँदै गरेको छ । नयाँ सोच र विचार राख्नेलाई प्रोत्साहन हँुदैन । यसले गर्दा वास्तविक सिकाइ प्रक्रिया नै अलमल्लिएको जस्तो हुन्छ । हाम्रो प्राकृतिक रुचिलाई पछ्याउँदै अगाडि बढ्ने हिम्मत कमै विद्यार्थीमा पाइन्छ । यसले विद्यार्थीको कुनै विषयमा अति राम्रो रुचि हुने हँुदा पनि हामी अर्कै विषयमा लगाइदिने गर्छौं । परिणामतः विद्यार्थीको प्रतिभा सही ढङ्गले प्रस्फुटन हुन सक्दैन । आफू केमा राम्रो छु भन्ने विद्यार्थीले थाहा नै पाएको हँुदैन । यो चेतना शिक्षाबाट पाउनुपर्ने हो तर हाम्रो शिक्षाले यो गुण र सीप प्रदान गर्न सकेको छैन ।
हाम्रा परम्परागत सीप लोप हँुदैछन् । तिनलाई परिमार्जित ढङ्गले जीवन्त बनाउनेतर्फ राज्य लाग्नु सान्दर्भिक ठानिन्छ । पहाडी भेगका विविध सीप कौशल जगेर्ना गर्नुका साथै उपत्यकाभित्रका मूर्तिकला, काष्ठकलालगायत घरेलु सीपलाई जोगाउनु जरुरी छ । यसले हाम्रो संस्कृति, परम्परा, चाडपर्वलगायतको संरक्षण र सम्भावनामा बल पु-याउँछ । नेपालको पहिचान पनि गराउँछ । प्रयोजनविहीन हुन पुगेका परम्परागत सीपलाई नयाँ खाले सीपबाट अगाडि वढाउनु जरुरी छ । पहिलेको टाइपराइटिङ अब कम्प्युटर प्रविधिबाट गरिन्छ । आज विश्वमै डेटा एनालिस्ट अर्थात् तथ्याङ्क विश्लेषकको माग प्रचुर मात्रामा छ । यसमा खासगरी अमेरिका, अस्ट्रेलिया, क्यानडाजस्ता मुलुकमा दक्षिण एसियाली मुलुकका धेरै जनशक्ति त्यसतर्फ गएका छन् । यसरी बिनालगानी अर्को मुलुकले उपयोग गरेर हाम्राजस्ता देशको दक्ष जनशक्तिबाट आर्थिक लाभ लिइरहेका छन् ।
आफ्नो मुलुकको दक्ष जनशक्तिलाई मुलुकभित्र नै उपयोग गर्न सकेमा मात्र दिगो आर्थिक विकासको सम्भावना हुन्छ तर हाम्रा लाखौँ दक्ष, अर्धदक्ष जनशक्ति विदेश पलायन भइरहँदा पनि राज्यले खासै चासो राखेको देखिँदैन । उल्टो वैदेशिक रोजगारी र विप्रेषणमाथि निर्भर अर्थतन्त्रले लाभ दिएकोमा गर्व ठान्दै आएको छ । अन्तर्राष्ट्रिय श्रम बजारमा जुनसुकै बेला पनि श्रमिकको मागमा ह्रास आउन सक्ने भएकाले विप्रेषणमुखी अर्थतन्त्रले निराशा मात्र ल्याउने हुन्छ । यसर्थ पर्याप्त रोजगारीको अवसर सिर्जना गरी जनशक्तिलाई मुलुकभित्रै काममा लगाउने परिपाटी बसाल्नुपर्छ । यसका लागि सार्वजनिक शिक्षालाई गुणात्मकतर्फ उन्मुख गराउनु जरुरी छ ।
सार्वजनिक विद्यालयप्रतिको वितृष्णा घटाउन विद्यालय, शिक्षक व्यवस्थापन समिति, सङ्घीय, प्रादेशिक र स्थानीय सरकार सबैले विद्यार्थीलाई गुणात्मक शिक्षाको प्रवाह गर्ने प्रत्याभूत दिलाउनु आवश्यक छ । अहिले आधारभूत तथा निःशुल्क शिक्षा लागू भइसकेको छ । ऐनले दिवा खाजासमेतको प्रावधान राखेको छ । २०८५ सम्म कुनै व्यक्तिले कक्षा ८ सम्म अध्ययन गरेको छैन भने उसलाई स्थानीय सरकारबाट पाउने सबै सुविधाबाट वञ्चित पारिने छसमेत भनिएको छ । आधुनिक शिक्षाको अवधारणामा हाम्रो समाजको मौलिकता नै हराउने हो कि भन्ने त्रास बढिरहेको छ । समाजको मौलिक संस्कृति र स्वदेशीपनको संरक्षण गर्ने काम पनि शिक्षाको हो । अहिले आधुनिकताका नाममा पाश्चात्य संस्कृतिले अतिक्रमण गर्दै आएको छ । दातृ निकायको दबाबमा बनेका शिक्षाका नीति नियम हाम्रो सामाजिक मूल्य, मान्यता र आदर्शबाट टाढिएका छन् । हाम्रो वैदिक शिक्षा आरम्भ, उपनयन र समावर्तन संस्कारका रूपमा अगाडि वढ्दै आएको पाइन्छ । समाज विकासको गतिसँगै शिक्षामा पनि परिवर्तन हँुदै आएको छ । नेपालमा आधुनिक शिक्षाको सुरुवात २००७ सालपछि मात्र भएको भन्दा पनि हुन्छ । यसपछि विभिन्न समयमा बनेका शिक्षा सुुधारका नाममा बनेका आयोग सिफारिस गरेका प्रतिवेदनका आधारमा शिक्षा नीति तथा नियम सुधार गरिँदै आएको पाइन्छ । समयसापेक्ष ढङ्गले पाठ्यक्रम पाठ्यपुस्तकलगायत शिक्षण पद्धतिमा सुधार हुँदै आए पनि शिक्षाको गुणस्तर खस्कँदै आएको छ ।
आज हामीले गुणात्मक शिक्षाको माध्यमबाट न्यायमा आधारित समृद्ध राष्ट्र निर्माण गर्न सक्नुपर्छ । यसका लागि हामीले विप्रेषणको मुख ताक्ने र परनिर्भर हुने अल्छी र विकृत मानसिकताबाट मुक्ति पाउनुपर्छ । अहिले राजनीतिक विकृतिले बिनापरिश्रमको समृद्धि र सुखी जीवन बिताउन चाहनेको ताँती भेटिन्छ । मानव संवेदनहीन बन्दै छ । समाजमा दण्डहीनता व्याप्त छ । आधुनिकताका नाममा मानवीय मूल्य, मान्यता, धर्म, संस्कार, संस्कृतिमाथि नै प्रहार हुँदै छ । नैतिकता, सदाचार र मर्यादाको पालना भएको छैन ।
इतिहासमा लोप हुन लागेको हाम्रो पूर्वीय सभ्यता पुनः जागरण हँुदै पश्चिमा जगत्समेत आकर्षित हँुदै आउन थालेको छ । वैदिक ज्ञान विज्ञानलाई व्यवहारमा रूपान्तरित गर्न पूर्वीय ज्ञानको पुनरुत्थान र पुनर्जागृतिको खाँचो छ । पूर्वीय सभ्यताको सुगन्ध सर्वत्र फैलने आशाका किरण देखा परिरहेका छन् । हाम्रा शिक्षा नीति असफल छन् ।
उच्चस्तरीय शिक्षा आयोगका सिफारिस प्रभावकारी रूपमा कार्यान्वयन भएनन् । अहिलेको शिक्षा नीतिको महìवपूर्ण पक्ष भनेको नै सङ्घीय शासन प्रणालीअनुसार शिक्षाको जिम्मेवारी पनि तीनै तहका सरकारमा पु¥याउनु हो । सार्वजनिक विद्यालयमा अध्ययनरत बालबालिकालाई निःशुल्क तथा अनिवार्य शिक्षाका लागि सङ्घीय सरकारले ७० प्रतिशत तथा प्रदेश र स्थानीय सरकारले १५–१५ प्रतिशत वित्तीय भार बहन गर्नुपर्ने प्रस्ताव बाहिर आएको छ तर कार्यान्वयनमा आएको छैन । तहगत शिक्षाका कोष खडा गर्ने प्रावधान पनि राखिएको छ । नीति, नियम र कार्यक्रममा सबै पक्षको सकारात्मक सोच, सहयोग र समर्थन नभई व्यवहारमा असफल बनेका छन् । अबको सरकारको सोच परिवर्तन हुनुपर्छ, शिक्षा पद्धतिले यस्तो जनशक्ति उत्पादन गरोस् र सम्पूर्ण प्रकृति र जगत्को जीवन बुझ्ने होस् । हाम्रो शिक्षा आध्यात्मिक र आधुनिक विज्ञानको सङ्गम बनोस् ।