रमेशप्रसाद गौतम
कुनै पनि मुलुकको स्तर पत्ता लगाउन शिक्षा प्रणाली हेर्नु, अनि कुनै घरका बारे बुझ्न परे शौचालय हेर्नु भन्ने भनाइ निकै प्रचलनमा छ । शिक्षा प्रणाली राम्रो छैन भने त्यस देशको वर्तमान र भविष्य ठीक तरिकाले अघि बढेको छैन भन्दा हुन्छ । शिक्षा सुधारका क्रममा मानव समाजले परापूर्व कालदेखि विविध तौरतरिका अपनाउँदै आएको पाइन्छ । प्राचीन गुरुकुल शिक्षा पद्धतिदेखि आधुनिक रोबट शिक्षा प्रणालीसम्म आइपुग्दा शिक्षा सिक्ने सिकाउने प्रक्रियामा धेरै परिवर्तन आइसकेको छ । शिक्षक र विद्यार्थी हिजो पनि थिए, आज पनि छन् यो निरन्तर चलिरहन्छ । विवेकशील नागरिक उत्पादन गर्ने शिक्षाको आदर्श लक्ष्य हो । विवेकशील नागरिक निर्माण विना राष्ट्रको विकास सम्भव हँुदैन ।
लोकतान्त्रिक मुलुकको महत्त्वपूर्ण पक्षमध्येको एक सार्वजनिक शिक्षा पनि हो तर नेपालको सन्दर्भमा सार्वजनिक शिक्षाको अवस्था धेरै दृष्टिकोणबाट सन्तोषजनक छैन । यस किसिमको पद्धतिले विवेकशील नागरिक उत्पादन गर्ने सम्भावना रहँदैन । सार्वजनिक शिक्षाका बारेमा राज्य गम्भीर देखिएको छैन । शिक्षाप्रतिको दृष्टिकोण, चिन्तन, त्रुटिपूर्ण देखिन्छ । सरकारले शिक्षामा छुट्याउने गरेको बजेटदेखि आधारभूत शिक्षाका विषयमा पनि नीतिगत तहमै स्पष्टता देखिँदैन ।
बालबालिकाको शिक्षा र स्वास्थ्य नैसर्गिक अधिकार भनिए तापनि त्यो कागजमा सीमित छ । आज यस क्षेत्रमा गरिएको लगानीको प्रतिफल भविष्य प्राप्त गर्ने हो । आज हाम्रो लगानी र हेरचाह हुन सके भोलि असल नागरिक देशले पाउने हो । तर हाम्रो सन्दर्भमा सार्वजनिक शिक्षा थुप्रै समस्याबाट जेलिएको छ । दलीय प्रतिस्पर्धादेखि बौद्धिक खडेरीका विषय यही उब्जिरहेका छन् । विषयगत शिक्षकको अभाव छ । विद्यार्थी शिक्षक अनुपात मिलेको छैन । गुणस्तरीय शिक्षा र सुधारका कुरा त झनै टाढाको कुरा भयो । पर्याप्त कक्षा कोठा, डेक्स बेञ्च, शैक्षिक सामग्री, तालिमप्राप्त शिक्षक पुस्तकालय आदिका अतिरिक्त खेलकुद सामान, हरेक बालबालिकालाई खाजा र शुद्ध पिउने पानीको व्यवस्था विद्यालयमा हुन सकिरहेको छैन । देशभरका सार्वजनिक विद्यालयमा उपरोक्त आवश्यकता पूरा गर्न राष्ट्रले ठूलो धन राशि लगानी गर्नुपर्ने हुन्छ ।
सामुदायिक विद्यालयमा अभिभावक वर्गको समेत लगानी कम र चासो समेत न्यून छ । कमजोर आर्थिक अवस्थाले गर्दा अभिभावक दैनिक ज्यालादारी काममै खट्नुपर्ने हुन्छ । त्यसमा पनि पढेलेखेकाको सङ्ख्या न्यून छ । आफ्ना सन्तानका पढाइ लेखाइमा र अन्य गतिविधि बारे बुझ्न विद्यालयमा आइरहन अभिभावकलाई समय नै हुँदैन । विद्यालयलाई शुल्क तिर्न पर्ने हँुदा खासै त्यसप्रति लगाव नभएको हुन सक्छ । सामुदायिक विद्यालय हाम्रो पनि हो भन्ने भावना विद्यालय व्यवस्थापनले अभिभावकलाई जगाउन नसकेर पनि यसो हुन गएको हो । विद्यालयका शिक्षकहरूले समय समयमा घरदैलो कार्यक्रम गर्ने, अभिभावकको घरमा जाने भेटघाट गर्ने विद्यार्थीका पढाइ लेखाइका बारेमा छलफल गर्ने, कमीकमजोरी दुवै तर्फबाट पत्ता लगाई सुधार्नेजस्ता कार्यक्रम हुनु जरुरी छ ।
अभिभावक भेला बोलाएर विद्यालयले छलफल गर्ने कार्यलाई निरन्तरता दिइरहनु पर्दछ । विद्यालयले अभिभावकलाई हौसाउन विद्यालयप्रति सद्भाव माया जगाउन उनीहरूको हातबाट पुरस्कार बाड्न लगाउनु पनि राम्रो कार्य हो । आफ्ना छोराछोरीप्रति अभिभावकको दायित्व के हो ? पढाइ लेखाइमा यिनको के कस्तो भूमिका हुनुपर्दछ भनेर बुझ्ने गरी शिक्षकले अभिभावकलाई बताउनु राम्रो हुन्छ । अभिभावकलाई बोलाएका बेला उनीहरूकै कुरा बढी सुन्ने शिक्षकहरूले कम बोल्ने, अभिभावकलाई सम्मान गर्ने गर्नु पर्दछ । हामी पढेलेखेका शिक्षक हौ, नपढेका अभिभावकले के बुझेका छन् र भन्नेजस्ता भावना शिक्षकले लिनु हँुदैन । उनीहरूको पनि अनुभव र स्थानीय सीपलाई अझ उजागर गरी अघि बढाउनेतर्फ ध्यान दिनु पर्दछ ।
हाम्रो शिक्षाले अझै पनि स्थानीय सीप र श्रमको कदर गर्न सकिरहेको छैन । कतिपय हाम्रा स्थानीय परम्परागत सीपहरू लोप हुँदै जान थालेका छन् । शिक्षकले विद्यार्थीलाई श्रम गर्न सिकाउने स्थानीय सीपप्रति मोह जगाउने कार्य गर्नु पनि विद्यालयले आफ्नो दायित्व ठान्नु पर्दछ । शारीरिक अस्वस्थ अपाङ्गताप्रति पनि माया गर्ने बानीको विकास गराउनु जरुरी छ । समाजमा अनेक विकृति छन् । लागू पदार्थ, धूमपान, बाल मजदुर, दाइजो प्रथा, मानव बेचबिखन, बाल विवाह, भ्रष्टाचार, बोक्सी प्रथा आदि विकृतिलाई हटाउन विद्यालयको महìवपूर्ण भूमिका हुन्छ ।
शैक्षिक सत्रको थालनीसँगै विद्यालय वार्षिक कार्य तालिका तय गर्ने, शिक्षकहरूले पनि आफ्नो साप्ताहिक, मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक कार्य योजना बनाई विद्यार्थी र अभिभावकलाई जानकारी दिने गर्नु पर्दछ । स्थानीय परम्परा तिथि चाडका साथै त्यहाँ विद्यमान सीप, कलालाई संरक्षण गर्ने कुराको पनि जानकारी हुन नितान्त आवश्यक छ । मौसमअनुसार खेती बालिका ज्ञान, वन जङ्गल, नदी, मन्दिर, पाटी पौवा धारा, पधेरा आदिको महìव र तिनको संरक्षणबारे पनि शिक्षकले सिकाउनु पर्दछ । यसो हुन सके मात्र उद्यमशील संस्कारको विकास हुन सक्दछ । हाम्रा विद्यालय क्याम्पस, विश्वविद्यालयका पाठ्यक्रममा व्यावहारिक उद्यममुखी तथा वैज्ञानिक बन्न नसक्नु पनि शिक्षा क्षेत्रको चुनौती हो । दक्ष र योग्य जनशक्ति उत्पादनका लागि पनि उद्यमशीलता उन्मुख शिक्षा प्रणाली चाहिन्छ ।
अमेरिका, क्यानाडा, अस्ट्रेलिया, बेलायत, जापान आदि मुलुकमा पनि सबै खाले जनशक्ति उच्च शिक्षातर्फ भन्दा अन्य सीपमूलक तथा उद्यमशील शिक्षातर्फ नै आकर्षित भएका देखिन्छन् । उच्च शिक्षातर्फ लाग्ने त डाक्टर, इन्जिनियर, साइन्टिष्ट प्रोफेसर आदि हुन्छन् । अन्य थुप्रै जनशक्ति दक्ष अर्धदक्ष र निम्न दक्ष सीपमूलक कार्यमा नै देखिन्छन् । मुलुकका लागि सबै खाले जनशक्तिको त्यत्तिकै महìवपूर्ण हुन्छ ।
हाम्राजस्ता मुलुकमा अधिकांश शिक्षित युवा पढेपछि जागिरकै खोजीमा भौतारिएका हुन्छन् । कोरा शैक्षिक योग्यताले मात्र त केवल बेरोजगारी बढाउनेबाहेक केही गर्दैन । यस अर्थ हाम्रो मुलुक त कृषि प्रधान नै हो । हामीले उद्यमशील संस्कृतिको विकास गरी आफ्नो परम्परागत सीप र दक्षतालाई समेत विकास गराउन जरुरी छ । कृषि विषय लिएर पढेका युवाले जागिरको खोजी गर्नुभन्दा आफूले जानेको ज्ञान र सीपलाई व्यवहारमा उतारी व्यावसायिक रूपमा खेतीपाती तथा पशुपालन कार्यमा लागेर आफू पनि रोजगारीमा लाग्ने र अरूलाई समेत रोजगारी दिन सक्ने क्षमता विकास गर्नुपर्छ ।
सामाजिक न्याय र देशको समानुपातिक विकास दृष्टिकोणले पनि दक्ष जनशक्ति उत्पादन गर्ने उद्ययमशील शिक्षा प्रणालीको खाँचो देखिन्छ । यसर्थ विद्यमान हाम्रा स्रोत साधनको समुचित उपयोग एवं विकासका लागि पनि प्राविधिक जनशक्तिको अत्यधिक खाँचो देखिँदै आएको छ । मुलुकभित्रका विविध सम्पदाको वस्तुगत अध्ययन तथा विश्लेषण गरी राष्ट्र निर्माणमा तिनको भूमिका एवं औचित्यका आधारमा अल्पकालीन, दीर्घकालीन प्राविधिक जनशक्ति उत्पादन गर्ने नीति तत्कालै अवलम्बन गरिनु जरुरी छ ।
दक्ष, चेतनशील र कर्मठ जनशक्तिको आधारमा राष्ट्रनिर्माण हुने हो । सीपयुक्त क्रियाशील तथा स्तरीय जनशक्तिको सङ्ख्या जति वृद्धि हुन्छ त्यति नै राष्ट्रको विकास, निर्माण र आधुनिकीकरणतर्फ लम्कँदै जान्छ । जनशक्ति उत्पादनशील र स्तरीय तुल्याउन उद्यमशील शिक्षा प्रणालीको जरुरत पर्दछ । शिक्षाले नै राष्ट्रको चौतर्फी विकासको फड्को मार्न मद्दत गर्दछ । अनि चेतनाका संवाहक र परिवर्तनको माध्यम बन्दै देश विकासको आधार स्तम्भ बन्न पुग्दछ ।
शिक्षालाई समयसापेक्ष ढङ्गले पाठ्यक्रम, पाठ्यपुस्तक सन्दर्भ सामग्रीसमेत निर्माण गरी शिक्षालाई व्यावहारिक र उद्यममुखी बनाउनु पर्दछ । परनिर्भरमुखी जनशक्तिले देशका युवा जनशक्तिलाई पलायन बनाउने हँुदा अब उद्यमशील शिक्षाको माध्यमबाट स्वदेशमै रोजगारी सिर्जना गर्ने प्रोत्साहन गरिनुपर्दछ । शिक्षा क्षेत्रमा हुने गरेको ठूलो लगानीलाई उच्चतम उपयोगी मुलुकको विकास निर्माणमै संलग्न हुने जनशक्ति तयार गर्नु जरुरी छ ।