जीवनाथ धमला
सामान्य अर्थमा ‘समाजवाद’ भनेको सामाजिक, आर्थिक एवं सांस्कृतिक रूपले समानतामा आधारित समाजको सैद्धान्तिक आधारशीला हो । समाजमा अनेक वर्ग छन् र ती वर्ग छुट्याउने प्रमुख आधार भनेको आर्थिक अवस्था हो । आर्थिक रूपमा धनी र गरिब वर्गको स्पष्ट भिन्नता जुनसुकै समाजमा पनि देखिन्छ । धनी र गरिब वर्गको पनि वर्गीकरण गर्न सकिन्छ । आर्थिक स्थितिले समाजलाई विभाजन गर्दछ । धनी र गरिब हुनुका अनेक कारण हुन्छन् । धनी हुने एउटा प्रमुख कारण श्रमको शोषण हुनु हो ।
श्रमिक वर्ग जुनसुकै समाजमा पनि हुन्छ । आर्थिक असमानताको असर समाजका हरेक क्षेत्र र वर्गमा पर्दछ । यसकै कारण समाजमा शोषक र शोषित वर्गको पनि निर्माण हुन्छ । यी सबैखाले आर्थिक, सामाजिक असमानताका खाडल पुर्दै समानतामा आधारित समाजको निर्माणहेतु इतिहासदेखिकै अनेक समाजशास्त्री, राजनीतिज्ञ, राजनीतिशास्त्री एवं बौद्धिक, दार्शनिक, चिन्तकद्वारा तय भएका विचार, दृष्टिकोण, चिन्तन आदि नै समाजवादी दर्शनका रूपमा रहेका छन् । समाजवादी दार्शनिकहरूमध्ये कार्ल माक्र्सलाई सर्वाधिक प्रभावशाली दार्शनिक भनिन्छ । उनले आर्थिक रूपमा वर्गीय विभेदपूर्ण समाजको वैज्ञानिक अध्ययन विश्लेषण गरी विश्वमा आर्थिक सामाजिक अध्ययनका लागि एक नौलो दृष्टिकोण प्रदान गरे, जसलाई माक्र्सवाद भनिन्छ । नेपाली राजनीतिका शिखरपुरुष बीपी कोइराला माक्र्सवादका गम्भीर अध्येता र विश्लेषक हुनुहुन्थ्यो । उहाँ माक्र्सवादबाट प्रभावित पनि हुनुहुन्थ्यो ।
त्यसो त गान्धीजी एवं कतिपय भारतीय समाजवादी चिन्तकहरूबाट पनि बीपी प्रभावित रहेको देखिन्छ । माक्र्सले युरोपेली मुलुकहरूमा विस्तारित औद्योगीकरणको जगमा निर्मित पुँजीवादी व्यवस्थाले उत्पन्न गराएको आर्थिक असमानताका अनेक आयाम र तिनका परिणामबारे विस्तृत अध्ययन गरे । विशेषगरी पुँजिवादी आर्थिक अध्ययनका क्रममा माक्र्सको वर्गीय विश्लेषण बीपीलाई मन परेको देखिन्छ तर बीपी माक्र्सद्वारा विश्लेषण गरिएअनुसारको मानिस एक आर्थिक प्राणी मात्र हो भन्ने कुरामा सहमत हुनुहुन्थेन भन्ने तथ्य बीपीको यो भनाइले पुष्टि गर्छ, “उनले कुन कुरामा जोड दिए भने मानिसलाई आर्थिक सम्पन्नता भएपछि अरू केही थोक चाहिँदैन । आर्थिक सम्पन्नता हुनेबित्तिकै बाँकी रहेका सारा समस्या स्वतः समाप्त भएर जान्छन् । जस्तो, हिन्दुको मोक्ष हुनेबित्तिकै त्यो व्यक्ति सारा समस्याबाट मुक्त भएर जान्छ । मुक्तिका लागि अरू केही गरिरहनु पर्दैन, त्यस्तै उनले पनि भने तर यता हामीलाई के लाग्यो र के देख्यौँ भने व्यक्तिका सम्भावनाहरूलाई विकसित गर्नमा आर्थिक व्यवस्था नै सम्पूर्ण हुँदैन ।”
आर्थिक पक्ष व्यक्तिको व्यक्तित्व विकासको एउटा महìवपूर्ण आधार हो तर त्यो एक मात्र आधारले व्यक्तिको चौतर्फी विकास हुन सक्दैन । व्यक्तित्वको चौतर्फी विकासको आधारशीला भनेको प्रजातन्त्र नै हो । प्रजातन्त्रबिना मानिसको जीवन चल्नै सक्दैन । पेट भर्नुमा मात्र मानिस आफ्नो जीवनको सम्भावनालाई सीमित गर्न सक्दैन । मानिस स्वतन्त्रताको इच्छाद्वारा डो-याइएको प्राणी भएकाले आर्थिक आधारले मात्र मानिसलाई पूर्णता दिँदैन भन्ने बीपीको चिन्तन रहेको छ । मानिसको पूर्णता प्राप्तितर्फको सचेत अभिलाषालाई सम्मान गर्दै त्यसतर्फ लाग्न प्रेरित गर्ने सांस्कृतिक आन्दोलन नै समाजवाद भएको विचार बीपीको पाइन्छ ।
समाजवाद व्यक्तिलाई आफ्नो सर्वाङ्गीण विकास गर्न प्रेरित गर्ने अपरिहार्य संस्कृति हो । यो कुनै कानुन वा आर्थिक आन्दोलन नभएको विचार राख्दै उहाँले भन्नुभएको छ, “मानिस त्यस्तो वस्तु होइन, जसको अन्तिम ध्येय भोक निवारण मात्र हुन्छ । अर्थात् मानिस त्यस्तो जन्तु होइन, जो खानका निम्ति मात्रै या खानेकुराका लागि मात्रै या भोक लाग्ने समस्याको निवारणको लागि मात्रै प्रेरणा पाउँछ, काम गर्छ र सङ्घर्ष गर्छ । म यस तथ्यलाई मान्दिनँ । हो, यो पनि हुन सक्छ भने अरू पक्ष प्नि छन् मानिसका ।”
बीपीले मानिस प्रचुर सम्भावना भएको प्राणी भएकाले उसलाई आर्थिक प्राणीका रूपमा अथ्र्याउनु नहुने विचार राख्नुहुन्थ्यो । अर्कोतिर मानिस आफ्ना अगाडि सम्भावनाहरूको अन्तहीन क्षितिज रहेको हुँदा त्यसतर्फ अगाडि बढ्न स्वतः प्रेरित रहन्छ । मानिसको त्यही अगाडि बढ्ने आकाङ्क्षाकै कारण अतीतदेखि नै समाजको गति पनि अघि बढ्दै आएको हो । समाजको परिचालक स्वयं मानिस भएकाले उसको विवेकशीलता एवं बौद्धिकताको आधारशीलामा समाजको स्वरूप बन्दछ । बन्धनयुक्त समाजलाई बन्धनमुक्त बनाउने पनि मानिसकै जिम्मेवारी हो । समाजवादको सूक्ष्म सामाजिक आधारको निर्माण व्यक्तिद्वारा निर्वाह गरिने सामाजिक भूमिकाबाट हुन्छ भन्ने बीपीको विश्वास रहेको छ । व्यक्तिलाई आफूले निर्वाह गर्ने सामाजिक भूमिका वा आफ्ना लागि अनुकूल सामाजिक वातावरणको निर्माण गर्ने प्रेरणा पनि समाजबाटै प्राप्त गर्दछ ।
मानिस खुम्चिन चाहँदैन, फैलिन चाहन्छ । यदि सामाजिक व्यवस्थाका कारण व्यक्ति सङ्कुचित रहन गयो भने उसको योगदानबाट समाज लाभान्वित हुन सक्दैन । समाजवादी विचारको बीजारोपण पनि मनुष्य जातिको सामाजिक चेतनाको विकाससँगै भएको हो भन्ने बीपीको चिन्तन रहेको पाइन्छ । समाज नभई मानिसको अस्तित्व नै रहँदैन । जन्मनेबित्तिकै नवजात शिशुका लागि परिवार वा समाजको आवश्यकता पर्दछ । बाबुआमाको उचित वात्सल्य र मातृत्व नभई ऊ बाँच्नै सक्दैन, जुन ऊ जन्मनुभन्दा पहिल्यै समाजद्वारा निर्मित हुन्छ । समाज नभई सामाजिक चेतना र सामाजिक चेतना नभई समाजको उत्पत्ति पनि नहुने हुँदा यी एकअर्कामा अन्योन्याश्रित मानव जीवनका आधार हुन् भन्ने बीपीको आशय रहेको बुझ्न सकिन्छ; “...समाजको व्यवस्था नभइकन, एउटा बच्चा जन्मेर पनि बाँच्नै सक्दैन । बालक जन्मनेबित्तिकै आमाको संरक्षण पनि चाहिन्छ । आमाको संरक्षणका निम्ति पुरुष चाहिन्छ । हुँदाहुँदा एउटा सामाजिक वातावरण चाहिन्छ । त्यसो हुनाले मानिस आउनुभन्दा पहिले, उसको प्रादुर्भाव हुनुभन्दा पहिले नै समाजको संरचना भएको हुनुपर्छ । अनि मात्र मानिस आउन सक्छ । त्यसो हुनाले मानिस र समाज संपृक्त छन् ।”
समाजवाद नभनिकनै अतीतदेखि नै सामाजिक कार्यतर्फ समाज उन्मुख हुँदै आयो । समाजको हितका खातिर नै गौतम बुद्धलगायत अनेकौँ धार्मिक÷आध्यात्मिक महापुरुषहरूले अनेक विचार र मतहरूको जन्म दिए । समाज व्यवस्थापनकै खातिर अनेक धर्मग्रन्थहरू बनिए । ती सामाजिक चिन्तनकै उपज थिए । धर्मको प्राधान्य, औद्योगिक विकासको प्राधान्य एवं अन्य वैचारिक प्राधान्य आदि विगतका अनेक युगमा अस्तित्वमा आए । यी प्रत्येक युगमा समाजवादले आफ्नो सापेक्षिक वैशिष्ट्यलाई कायम राख्दै आयो । आर्थिक प्राणी मात्र भएर मानिसको विकासक्रमले निरन्तरता पाएको होइन । मानिसको विकास भन्नु आर्थिक पक्षको मात्र नभई उसका विचार, भावना, कलासंस्कृति आदि हरेक आयामसहितको परिवर्तन र गतिशीलता हो ।
सामाजिक विकास एकपक्षीय नभई बहुपक्षीय रहन्छ । एकपक्षीय विकासले मात्र सभ्यताको प्रतिनिधित्व हुन सक्दैन । त्यसैले समाजवाद मानवीय सभ्यताका अनेक आयाम एवं बिसौनीहरूको निर्माण गर्दै नित्य निरन्तर विकास भइरहेको सभ्यता हो भन्ने विचार बीपीले व्यक्त गर्नुभएको छ, “मानिसका लागि आर्थिक आधार मात्र सबै थोक होइन । त्यसैले समाजवाद भनेको एउटा ठूलो सभ्यता र संस्कृति हो । समाजवाद भनेको मानव समाजले अहिलेसम्म इतिहासमा प्राप्त गर्दै आएको उपलब्धि हो । त्यो धार्मिक क्षेत्रको प्राप्ति होस् वा औद्योगिक क्षेत्रको वा ज्ञानको क्षेत्रको वा अरू क्षेत्रको प्राप्ति नै किन नहोस् ।”
बीपी मानव जगत्ले पछिल्लो कालखण्डसम्ममा प्राप्त गर्दै आएको भौतिक वा अभौतिक उपलब्धि सबै समाजवादी विचारकै परिणाम हुन् भन्नुहुन्छ । उहाँ राजनीतिज्ञ वा राजनेताका रूपमा मात्र नभई एक समाजशास्त्रीका रूपमा पनि देखिनुभएको छ । उहाँका दृष्टिकोणमा रहेको मौलिक चिन्तनका बारेमा छुट्टै अध्ययन गर्न सकिन्छ । यद्यपि उहाँले समाजवादको वैचारिक बीजारोपण, त्यसको क्रमिक विकास र वर्तमानसम्मको अवस्थाबारे जुन चिन्तन गर्नुभएको देखिन्छ, त्यो उहाँको सामान्य राजनीतिक दृष्टिकोण मात्र नभई समस्त समाजवादी चिन्तनधारामा थपिएको एउटा भिन्नै दृष्टिकोण हो भन्न पनि सकिन्छ । उहाँलाई अन्तर्राष्ट्रिय समाजवादी सम्मेलनबाट प्रतिष्ठा प्राप्त गर्नका निम्ति उहाँका यस्तै कतिपय मौलिक चिन्तन आधारस्तम्भका रूपमा रहेका देखिन्छन् ।
बीपीले प्रजातन्त्र र समाजवादलाई अलग राखेर बुझ्न र अपनाउन नसकिने विचार राख्नुभयो । जसरी ‘मानिस’ शब्द उच्चारण गर्दा उसको एउटा सग्लो चित्र उपस्थित हुन्छ, उसका अङ्गप्रत्यङ्गको विवरण पेस गर्नु आवश्यक पर्दैन । त्यसैगरी समाजवादभन्दा स्वतः प्रजातान्त्रिक समाजवाद भनेर बुझ्न सकिन्छ भन्ने उहाँको विश्लेषण रहेको छ, “मान्छे भनेपछि त्यसलाई विशेषण किन दिनुप¥यो ? मान्छे भनेको नाक, आँखा, कान भएको भन्नु त पर्दैन नि ! समाजवाद भनेको प्रजातान्त्रिक पक्ष पनि समाहित भएको सभ्यता हो ।”
समकालीन नेपालमा प्रजातन्त्र नमान्ने तìवहरू रहेको हुँदा प्रजातान्त्रिक समाजवाद भन्नुपरेको कुरा पनि बीपीले गर्नुभएको छ । बीपीले मूलतः समाजवादलाई एउटा सभ्यताका रूपमा चिन्तन मनन गर्नुभयो । समाजवादका दार्शनिक सैद्धान्तिक अवधारणाहरूको गहन अध्ययन तथा अन्तर्राष्ट्रिय राजनीतिमा भइरहेका प्रयोग एवं विभिन्न मुलुकको सामाजिक, व्यावहारिक धरातलीय यथार्थलगायतका अनेक पक्षको पनि मूल्याङ्कन–विश्लेषण गर्दै बीपीले समाजवादको मौलिक परिभाषा दिनुभयो, “समाजवाद भनेको साम्यवाद नै हो, त्यसमा प्रजातन्त्र थपिएको हुन्छ र साम्यवाद भनेको समाजवाद हो, त्यसमा प्रजातन्त्र झिकिएको हुन्छ ।”
बीपीको उक्त भनाइमा साम्यवादको पारिभाषिक अर्थ पनि सन्निहित छ । प्रजातन्त्रबिना समाजवादको वास्तविक रूपको अनुभव गर्न सकिन्न । यदि प्रजातन्त्रलाई समाजवादमा सम्मिलित गराइएन भने त्यो अधिनायकवादी साम्यवादी व्यवस्था हुने स्पष्ट धारणा राख्दै बीपीले प्रजातन्त्र र समाजवादको अन्योन्याश्रित सम्बन्धका सन्दर्भमा उल्लेख गर्नुभएको छ, “राजनीतिक दृष्टिले समानताको सिद्धान्तलाई प्रजातन्त्रले स्थापित गर्दछ भने त्यस्तै आर्थिक दृष्टिले समानताको सिद्धान्तलाई समाजवादले स्थापित गर्दछ ।”
यसै सैद्धान्तिक आधार एवं चिन्तनको धरातलमा उभिएर बीपीले नेपालको सन्दर्भमा समाजवादका अनेक पक्षको विस्तृत व्याख्या र विश्लेषण गर्नुभएको छ । उहाँको समाजवादी चिन्तनलाई वर्तमान राष्ट्रिय राजनीतिक सन्दर्भमा सापेक्षिक विवेचनाका साथ जीवन्त राख्दै मुलुकको सामथ्र्य र समृद्धिको आधार बनाउनु समयको माग हो ।