logo
२०८१ मंसिर ८ शनिवार



बीपी र प्रजातन्त्रवाद

विचार/दृष्टिकोण |




जीवनाथ धमला

श्वेश्वरप्रसाद कोइराला आधुनिक लोकतन्त्रवादी राजनीतिज्ञ र चिन्तक हुन् । अन्तर्राष्ट्रिय राजनीतिक इतिहास र समकालीन विश्व राजनीतिको सघन अध्ययन गर्दै त्यसको आलोकमा नेपालको समकालीन राजनीतिबारे सूक्ष्म विश्लेषण एवं अभिलेखन गर्दै आएका बीपीका दृष्टिकोणहरू तेस्रो विश्वका लागि पनि सान्दर्भिक रहे । मूलतः उनका प्रजातान्त्रिक समाजवादी दृष्टिकोणहरूले अन्तर्राष्ट्रिय समाजवादी सङ्गठनमा विशेष महŒव प्राप्त गरे ।
बीपीको राजनीतिक चिन्तन र विचारको केन्द्रबिन्दु प्रजातन्त्र हो । प्रजातन्त्रका सन्दर्भमा उनका जे जति सामग्री उपलब्ध छन्, तिनमा उनले स्वतन्त्रता वा वैयक्तिक स्वतन्त्रताका सम्बन्धमा मनग्गे चर्चा गरेका छन् । बीपीको स्वतन्त्रताको अर्थलाई प्रजातन्त्रबाट अलग्याउन सकिँदैन । प्रजातान्त्रिक हकअधिकारहरू सबै व्यक्तिगत तवरले उपयोगमा रहने स्वतन्त्रताकै विषय हुन् । बीपी भन्छन्, “व्यक्तिगत स्वतन्त्रता, मौलिक अधिकार, चुनाव, पार्टी आदि प्रजातन्त्रका अभिन्न अङ्ग हुन् । जहाँ यी सब अधिकार एवं स्वतन्त्रतामा कुनै किसिमको पनि बन्धन रहन्छ, त्यहाँ प्रजातन्त्रमाथि नै बन्धन छ भनी ठान्नुपर्छ ।”
व्यक्तिगत स्वतन्त्रताको बन्देज हुनु भनेको प्रजातन्त्रमाथिकै प्रतिबन्ध हो भन्ने बीपीको धारणा पाइन्छ । फेरि, बीपीले प्रजातन्त्रलाई मानवीय स्वतन्त्रताबाट अलग गराएर सोच्न नसकिने विषय भएको बताएका छन् । अर्कातिर, उनले प्रजातन्त्रलाई समाजवादभित्रकै अभिन्न तŒवका रूपमा व्याख्या गरेका छन्, “प्रजातन्त्र समाजवादमा निहित समानताको राजनीतिक रूप हो ।” जसरी व्यक्तिगत स्वतन्त्रता र प्रजातन्त्रलाई छुट्याउन सकिँदैन त्यसरी नै प्रजातन्त्र र समाजवादलाई पनि छुट्याउन सकिँदैन । यसर्थ बीपीको व्यक्तिगत स्वतन्त्रताको अवधारणाले प्रजातान्त्रिक मूल्यमान्यता आत्मसात् गर्दै समाजवादसम्मको फराकिलो चिन्तनयात्रा तय गरेको छ । अध्ययनको व्यापकता र स्वविवेकीय सामथ्र्यको प्राचुर्यताका कारण उनले व्यक्त गरेका दृष्टिकोणहरू कुनै पनि पश्चिमी जगत्का राजनीतिक विचारकहरूका भन्दा कमजोर नभएका प्रतीत हुन्छन् ।
यस्तै बीपीले स्वतन्त्रता वा प्रजातन्त्र भन्ने कुरा इतिहासको दान नभएर त्यो नैसर्गिक मानवीय स्वभावजन्य गुण भएको बताएका छन् । इतिहासलाई त मानिस, समाज वा राज्यले निर्माण गर्छ । स्वतन्त्रता वा प्रजातन्त्र भन्ने कुरा इतिहासमा निर्मित नभएर इतिहासभन्दा पहिलेदेखिकै मानवीय चैतन्यको आलोकद्वारा सहज रूपमा पुस्तान्तरण हुँदै आएको विषय हो । वैयक्तिक स्वतन्त्रता र सामाजिक व्यवस्थाका सर्वमान्य मापदण्डहरू भनेका मानव मनोविज्ञानमा मौलिक रूपमा सिर्जित हुने तŒव हुन् । तिनलाई इतिहासको निगाह हुनै पर्दैन । स्वतन्त्रताको भावना इतिहासेत्तर अर्थात् इतिहासभन्दा पहिलेको मानवीय अस्तित्वसँगै गाँसिएर आएको विषय नैसर्गिक तŒव हो । व्यक्तिगत स्वतन्त्रताका अतिरिक्त अनेकौँ आन्तरिक मानवीय भावनाहरू जीवनसँग प्रत्यक्षतः जोडिएका हुन्छन्, ती इतिहासपूर्वदेखि नै अनवरत रूपमा अस्तित्वमा रहँदै आएका हुन् भन्ने उनको चिन्तन रहेको छ, “प्रजातन्त्र कुनै त्यस्तो उपजात होइन जो सामाजिक वा ऐतिहासिक प्रक्रियाबाट मात्र निर्मित हुन्छ । व्यक्तिलाई चाहिएको स्वतन्त्रता र समाजमा सामूहिक निर्णयका लागि चाहिएको व्यवस्थाका मौलिक नियम, कानुन र सत्यको सर्वमान्य सामाजिक मापदण्ड यी सबै मानव मनोविज्ञानका त्यस्ता मौलिक बीज हुन् जसको अस्तित्व इतिहासको दान होइन । यो भावना इतिहासेत्तर मानव अस्तित्वसँग टाँसिएको मानसिकता हो जहाँ अरू सामाजिक भावनाहरू जस्तो न्यायभावना, मातृभावना, परदुःख, कातरताको भावना, सहयोगका भावनाहरू आद्य मौलिक रूपमा विद्यमान रहन्छन् ।”
बीपीले प्रजातन्त्रको नैसर्गिकता एवं मानव स्वभावजन्य चैतन्यलाई इतिहासको उपज वा उपजात भनेर प्रजातन्त्रका विरोधीहरूले यसप्रतिको चिन्तन–आन्दोलनलाई दूषित तुल्याएको बताएका छन् । बीपी प्रजातन्त्रलाई स्वतन्त्रताको स्रोत र स्वतन्त्रतालाई प्रजातन्त्रको स्रोतका रूपमा मान्दछन् । प्रजातन्त्रको सर्वसुलभताको प्रत्याभूति भएबाट नै मानिसले स्वतन्त्रताको सर्वसुलभताको पनि प्रत्याभूति गर्दछ । अर्कातिर, मानिस सामाजिक प्राणी भएकाले घरबाट बाहिँरिँदा मात्रै पनि पाइलापाइलामा उसलाई प्रजातन्त्रको प्रत्याभूति अनिवार्य रूपमा हुनुपर्छ । प्रजातान्त्रिक परिवेश र त्यसको स्वस्फूर्त अनुभूतिबाट मात्र मानिसले स्वतन्त्रताप्रतिको आफ्नो सुषुप्त चाहनालाई प्रकट गर्दछ र ऊ सन्तुष्ट रहन्छ । त्यसैले सम्पूर्ण मानवीय आकाङ्क्षाहरूको अभिप्राप्तिको प्रस्थानबिन्दु नै प्रजातन्त्र हो । प्रजातन्त्रले व्यक्तिगत स्वतन्त्रता, मौलिक हक अधिकारको उपयोग गर्न गराउन व्यक्तिलाई उत्प्रेरणा प्रदान गर्छ । यसले यस्ता अनेक आशाको विस्तार गराउँदै मानिसलाई अनन्त सम्भावनाहरूतर्फ उन्मुख गराउँछ । बीपीले यसरी स्वतन्त्रता र प्रजातन्त्रका सघन अर्थहरूलाई उधिनेर सम्पूर्ण प्रजातन्त्रवादीको दृष्टिकोणलाई फराकिलो बनाउने चिन्तन प्रदान गरेका छन् ।
बीपी इतिहासलाई मनुष्यले आफ्नो कल्पनाशीलतालाई यथार्थमा रूपान्तरण गर्ने प्रयत्नकै निरन्तरताको उपज ठान्दछन् । स्वतन्त्रताको तृष्णालाई पनि मनुष्यले आफ्नो चैतन्यशीलताको उषाकालदेखि नै सम्पोषण गर्दै आयो । इतिहासका अनेक कालखण्डमा त्यसका अनेक स्वरूपहरू उत्पन्न भए । प्रत्येक युगान्तरमा भएका त्यस्ता उपलब्धिहरू सापेक्षिक इतिहासका दस्तावेज पनि बने । स्वतन्त्रताको अवधारणाले फ्रान्सेली राज्यक्रान्ति (सन् १७८९) पछि आधुनिक मानव सभ्यताको इतिहासमा सार्वभौम स्वीकृति प्राप्त गर्दै आयो । बीपी त्यसलाई ‘प्रजातन्त्रवाद’ भन्दछन्, “मानव जातिको इतिहास नै प्रधानतः हाम्रो हृदयमा उम्रेको जस्तै कल्पनालाई यथार्थमा परिणत गर्ने चेष्टाको एउटा लामो र रोचक कथा हो । प्रत्येक युगमा एकएक खास विचारधारा मान्यता प्राप्त गर्न सङ्घर्ष गर्दछ र त्यो युग त्यस विचारधाराको प्रधानताका निम्ति इतिहासमा प्रसिद्ध हुन्छ । दुई शताब्दीपहिले मनुष्यको व्यक्तिगत स्वतन्त्रताका निम्ति सङ्घर्ष चल्यो । फ्रान्सको राज्यक्रान्ति त्यसै सङ्घर्षको एउटा उदाहरण र लक्षण थियो । त्यसैको परिणामस्वरूप प्रजातन्त्रवादको मान्यता सार्वभौम भयो ।”
फ्रान्सेली राज्यक्रान्तिद्वारा प्रवाहित एवं विस्तारित चैतन्य धाराले नेपाली जनमानसमा उत्पन्न गराएको आकाङ्क्षाको परिणाम नै २००७ सालको जनक्रान्ति थियो । विश्वका हरेक मुलुकमा हुने प्रजातान्त्रिक सङ्घर्षका लागि मानिसमा उत्पन्न स्वस्फूर्त चेतना र त्यसद्वारा प्रदत्त आकाङ्क्षा नै प्रजातन्त्रवाद हो भन्ने चिन्तन बीपीको पाइन्छ ।
बीपीले स्वतन्त्रता वा प्रजातन्त्रका बारेमा अरू सबैले गर्नेजस्तो सामान्य चर्चा मात्र नगरी केही शाश्वत दृष्टिकोणहरू पनि प्रस्तुत गरेका छन् । विश्व राजनीतिक इतिहासको प्रचुर अध्ययन गरेका बीपीले कुनै पनि देशमा भएका जनक्रान्तिहरू पेटको प्रेरणाबाट नभएर मानवीय स्वतन्त्रता, समानता वा प्रजातन्त्र प्राप्तिको अभिलाषाबाट प्रेरित भएर मात्र भएका हुन् भन्ने विचार राखेका छन् । मानिस भौतिक तृिप्त वा प्राप्तिको प्रेरणाबाट भन्दा भावना, विचार, बुद्धि आदिबाट सञ्चालित हुने भएकाले उसको सामथ्र्यको आधार उस्को अन्तःचेतना हो । माक्र्सवादले मानिसलाई एउटा आर्थिक प्राणीका रूपमा मात्र गरेको व्याख्याप्रति बीपीको तीव्र असहमति रह्यो ।

प्रजातन्त्र एउटा जीवन दर्शन हो । जीवन स्वतन्त्रताको चाहनाद्वारा निर्देशित हुन्छ भन्ने बीपीको चिन्तन रहेको छ, “प्रजातन्त्र भनेको त्यसको बुद्धिसँग सम्बन्ध छैन, जीवनसँग सम्बन्ध छ । एउटा व्यक्तिलाई थुनेर राखेर मीठो खान, राम्रो लाउन दिन्छु भने पनि ऊ आफ्नो स्वतन्त्रता छोड्न तयार हुँदैन । यसको बुद्धिसँग सम्बन्ध छैन । जीवनको सबभन्दा मूलभूत प्रवृत्ति हो स्वतन्त्रता । बाँच्नुपर्छ भन्ने भावनासँगसँगै स्वतन्त्रताको अन्तरनिहित भावना छ ।”
आर्थिक पक्ष त एउटा आयाम मात्र हो । मानवीय आवश्यकताका अनेक आयामलाई प्रजातन्त्रले मात्र समेट्न सक्छ । बीपीले आफ्ना सार्वजनिक मन्तव्यका क्रममा फ्रान्सेली राज्यक्रान्ति, अमेरिकी स्वतन्त्रता सङ्ग्राम, रुसको क्रान्ति, भारतीय स्वतन्त्रता सङ्ग्राम वा नेपालको जनक्रान्ति आदि क्रान्तिका कारण भोक नभएर स्वतन्त्रता, प्रजातन्त्र एवं समानता रहेको बताएका छन, “...मेरो विचारमा मानवका अनन्त पक्ष छन् । आर्थिक पक्षले मात्र उसको व्याख्या गर्न सक्दैन । वास्तवमा इतिहासका क्रान्तिहरू मानिसको पेटको समस्याले भएका होइनन् भन्ने मेरो धारणा छ । पेटको समस्याभन्दा उच्चतर कुनै उद्देश्यले प्रेरित नभईकन मानिस बलिदान हुन्छन् भन्ने म ठान्दिनँ ।”
क्रान्तिकारीको प्रेरणा पेट हुँदैन । उनीहरू आदर्शका लागि शहीद हुन्छन्, भएका छन् । अनेकाँै शहीदको स्मरण गर्दै ती सबै एउटा आदर्शका निम्ति, एउटा सिद्धान्तका निम्ति शहीद भएका हुन् भन्ने बीपीको दृष्टिकोण रहेको पाइन्छ । व्यक्तिका लागि आर्थिक आवश्यकताको परिपूर्ति जति अनिवार्य छ, त्यति नै प्रजातन्त्रतको पनि छ । यी दुवै पक्षको सहज एवं निर्विकल्प उपलब्धताका लागि प्रजातान्त्रिक समाजवादको राजनीतिक सिद्धान्तलाई आफूले अवलम्बन गर्नु परेको विचार उनको रहेको छ । व्यक्ति, समाज र राष्ट्रको गर्व एवं मर्यादाको पहिलो सर्त नै स्वतन्त्रता र प्रजातन्त्र हो भन्ने दृष्टिकोणलाई उनले अनेक राष्ट्रिय÷अन्तर्राष्ट्रिय मञ्चहरूबाट व्यक्त गरे ।

प्रजातन्त्र सामूहिकताको भावनासँग जोडिएर वैयक्तिक जीवनका अनेक नैसर्गिक आयाम वा पक्षहरूलाई पनि प्रस्फुटन गराउने राजनीतिक चिन्तन हो । यसले प्रकटमा देखिने सत्यका अनेक रूपलाई अनेक कोणबाट नियाल्न उत्प्रेरित गर्छ । मानवजीवन एकरेखीय वा एकाभिलाषीय मात्र छैन । त्यसैले सत्य पनि एकपक्षीय रहँदैन, बहुपक्षीय रहन्छ । सत्यको यस बहुपक्षीयताको अनुभूति गर्नसक्ने व्यक्ति मात्र साँचो अर्थमा प्रजातन्त्रवादी हुनसक्ने कुरा बीपीको चिन्तनबाट महसुस गर्न सकिन्छ, “यदि म प्रजातन्त्रवादी हुँ भने मेरो सबभन्दा पहिलो विश्वास हुन्छ–जीवनको अनेकतामय सत्यमा । सत्यको विभिन्न पक्ष हुन्छ भन्ने व्यक्ति मात्र प्रजातन्त्रको साँचो अनुयायी हुन्छ र यदि विभिन्न पक्षीय दृष्टिकोण भएको जीवनदर्शनमा त्यसको आस्था छ भने विरोधीको पक्षमा पनि सत्य होला भन्ने विश्वास हुन्छ ।” बीपीले व्यक्ति र प्रजातन्त्र बहुआयामिक सत्यमा जीवित रहेका हुन्छन्, ती दुवैलाई एकपक्षीय ढङ्गमा बुझ्न खोज्नाले सत्यको निकटमा पुग्न सकिन्न भन्ने चिन्तन गरेका छन् ।
मुलुकका सन्दर्भमा राजनीतिक दलहरू, लोकतान्त्रिक सरकार, संविधान, निर्वाचन, कानुनी शासन व्यवस्था, राज्यशक्तिको विकेन्द्रीकरण, शिक्षा, स्वास्थ्य, सुरक्षा, अभिव्यक्ति स्वतन्त्रता, समतामूलक एवं लोककल्याणकारी कार्यहरू आदि सम्पूर्ण कुराको प्राप्ति र व्यवस्थापनतर्फ आमनागरिक एवं सरकारलाई क्रियाशील गराउने वैचारिक आधारशीला प्रजातन्त्र नै रहेको बीपीको धारणा छ । प्रजातन्त्रका उपलब्धिका रूपमा प्राप्त हुने यी सामान्य र सर्वमान्य विषयहरूको अविभाज्यता, अकण्टकता र अनवरत सर्वसुलभताका निम्ति बीपीले लामो सङ्घर्षपूर्ण जीवन व्यतीत गरे । उनको वैचारिकताबाट प्रभावित वा दीक्षित भएर राजनीतिमा क्रियाशील हुँदै आएका अनुयायीहरूले उनको नाम बारम्बार लिइरहनु अन्यथा हुँदैन । तर, सम्झिनुपर्ने कुरा के छ भने उनको नाम लिइरहँदैमा सच्चा अनुयायी नै बन्न सकिन्छ भन्ने चँै देखिँदैन ।

बीपीलाई आदर्श मान्नेले प्रत्यक्ष राजनीतिसँग गाँसिएका उनका विचारहरूलाई बुझेकै पनि होलान् । नबुझेकाले पनि बुझेको झैँ अभिनय गर्ने गरेका देखिन्छन् । पार्टीगत होस् वा संसदीय होस्, निर्वाचनमा विजय पाउन बीपीलाई सम्पूर्णतः बुझ्नै पनि पर्दैन । टिकट पाउन र जित्न बीपीलाई चिन्नुभन्दा बढी सजिलो पनि देखिन्छ । तर, बीपीद्वारा प्रदत्त राजनीतिक वैचारिकतालाई सापेक्षिक व्याख्याका साथ आत्मसात् गर्दै आफ्नो राजनीतिक जीवनको परिचय स्थापित गर्न सक्नुमा नै उनलाई आदर्शका रूपमा लिनुको औचित्य रहन्छ । नेपाली काँग्रेसभित्र एउटा बौद्धिक तह देखिन्छ तर त्यसले बीपी विचारको सघन सामथ्र्यलाई एउटा शास्त्र वा आदर्श मात्र मान्दछ र व्यावहारिक राजनीतिमा त्यसको अधिक प्रयोजनीय अभ्यासतर्फ उदासीन देखिन्छ । अर्कातिर, उनको प्रजातन्त्रवादलाई शीर्ष राजनीतिक नेतृत्व तहबाट वर्तमान नेपालको राष्ट्रिय राजनीतिमा जीवन्त राखिरहन एवं त्यसको सार्वकालिक महŒवलाई निरन्तरता दिइरहन संस्थागत प्रयासहरू गरिएको पनि पाइँदैन । बीपी विचारको सघन अध्ययन र त्यसको प्रवद्र्धनतर्फ केही कामै भएको छैन भन्दा पनि फरक पर्दैन । यसको परिणाम नेपाली काँग्रेसको वर्तमान पुस्ता बीपीको प्रजातन्त्रवादभित्रको मर्मलाई बुझेर राजनीतिमा सक्रिय रहनुमा भन्दा नेतृत्वको सामान्य पिछलग्गुकै रूपमा रहेर सापेक्षिक लाभहानिको दौडमा मात्र भौँतारिएको देखिन्छ । बीपीका चिन्तनलाई अभिलिखित गर्ने प्रयत्नहरू व्यक्तिगत तवरबाट केही भएका पनि होलान्, त्यति मात्र हो । अझ दुर्भाग्यको कुरा, बीपीका असली वैचारिक, बौद्धिक अनुयायी वा विद्वान्हरूले उनको त्यस विराट् बौद्धिक चिन्तनको क्षितिजलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउने न्यूनतम चेष्टा नै गरेका छैनन् भन्दा अत्युक्ति नहोला । उनीहरू पार्टी गतिविधिजन्य क्रियाशीलताकै परिधिमा मात्र रमाउँदै आए र बीपीलाई आफ्नो राजनीतिक ध्येयमा मात्र सीमित राख्दै आए, आइरहेका छन् ।

अन्त्यमा, बीपीको प्रजातन्त्रवाद एउटा आदर्श मात्र होइन । आममानिसले अनुभूत गरेका र गरी नसकेका वैयक्तिक स्वतन्त्रताका अनेक आयामको समष्टिगत चिन्तन नै उनको प्रजातन्त्रवाद हो जसले सधैँ मानवीय सत्यका अनेक स्वरूपमा स्वतन्त्रताको आलोकलाई बिउँझाइरहन्छ । राजनीतिक नेतृत्व तहबाट बीपीको प्रजातन्त्रवादलाई नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक आदि अनेक पक्षमा अन्तरघुलन गर्दै अखण्डित र अनवरत रूपमा जीवन्त राखिरहन सकेमा मात्रै बीपी विचार र उनका अनुयायीहरूको पनि राजनीतिक भविष्य सुरक्षित रहन सक्छ । आगामी चौधाँै महाधिवेशनका सन्दर्भमा नेपाली काँग्रेसका तमाम नेता तथा कार्यकर्ता पदीय होडबाजीमा दौडिरहँदा उनीहरूले बीपीको प्रजातन्त्रवादलाई कत्तिको स्मरण गरेका होलान् ! चेतना भया ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?