रत्न प्रजापति
नेपालका विभिन्न जातजातिका मानिसले आफ्नो धर्म र संस्कृतिअनुसार फरक–फरक समयमा अनेक चाडपर्व मनाउने गर्छन् । त्यस्ता चाडपर्वमा जातीय विशेषता र जातीय पहिचान झल्किएको हुन्छ । नेपालभित्र र नेपालबाहिर रहेका अधिकांश नेपालीले वर्षभरि मनाउने धेरै चाडपर्वमध्ये सबैभन्दा ठूलो र महìवपूर्ण मानिएका चाड दशैँ र तिहार हुन् । चाडपर्व जहाँको होस्, जसको होस् र जसरी मनाइयोस्, त्यसले पारिवारिक मिलन, आपसी प्रेम र सामाजिक सद्भावलाई बढावा दिने विश्वास हामीमा रहिआएको छ । यही विश्वासले हामी चाडपर्व मनाउँछौँ र आफ्नो संस्कृतिमा गौरव गर्छौं तर पछिल्लो समय चाडपर्व मनाउने क्रममा देखिएको विकृतिले हामी सबैलाई गाँज्दै लगेको छ । यो चाहिँ चिन्ताको विषय बनेको छ ।
पहिचानको मोह
मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भइसकेपछि जातीय पहिचानप्रतिको मोह अझ बढी चर्को रूपमा बढेको पाइन्छ । त्यसैले चाडपर्व मनाउने क्रममा आफ्नो वेशभूषालाई समेत अत्यन्तै महìवका साथ प्रस्तुत गर्ने क्रम पछिल्लो समय निकै बढेको छ । विशेषगरी ज्यापू दिवस, ल्होसार, उँभौली र उँधौलीका अवसरमा काठमाडौँमा रहेबसेका सम्बन्धित जातजातिका मानिसले आफ्नो वेशभूषालाई अत्यन्त महìवका साथ पहिरेर आफ्नो जातीय पहिचानलाई सार्वजनिक रूपमै प्रदर्शन गर्ने र त्यसको संरक्षण गर्ने प्रयास गरेको देखिन्छ ।
संस्कृति संरक्षण र जातीय पहिचानमा जागरण बढ्नु खुसीकै कुरा हो तर पछिल्लो समय संस्कृतिभित्र बढ्न थालेको विकृतिले भने सबैलाई चिन्तित तुल्याउन थालेको छ । जुनसुकै संस्कृति अँगाल्ने समुदायमा पनि विकृतिले प्रवेश पाएको देखिन्छ । विशेषगरी मानिसको आय आर्जनमा वृद्धि भएसँगै खर्च गर्ने क्षमतामा पनि वृद्धि भएको छ । खर्च गर्ने क्षमतामा वृद्धि भएअनुसार मानिसको उपभोग संस्कृतिमा पनि परिवर्तन आएको छ । हिजोका दिनमा अलिकति मनलाई कसेर खर्च गर्ने र आफ्नो संस्कृतिअनुसारको चाडपर्व मनाउनेले अचेल मन फुकाएर खर्च गर्न र चाडपर्व मनाउन थालेका छन् । चाडपर्वमा मन फुकाएर खर्च गर्न थालेसँगै विकृति र विसङ्गति पनि बढ्न थालेको छ ।
संस्कृतिमा बढेको विकृति
बढ्दो आधुनिक जीवनशैलीसँगै पिउने संस्कृति पनि आफ्नो मौलिक संस्कृतिसँगै समानान्तर रूपमा विकसित हुँदै छ । जुन जातिले मदिरालाई सगुनका रूपमा अनिवार्य प्रयोग गर्छन्, तिनले त्यो संस्कृतिलाई निरन्तरता दिइरहेकै छन् तर जुन जातिभित्र मदिरा वर्जित छ, तिनले पनि मदिरालाई नै महìव दिएर चाडपर्व मनाउने संस्कृतिको विकास भएकाले हाम्रा चाडपर्व अब जाँडपर्वमै रूपान्तरण भएको हो कि भन्ने भान पर्न थालेको छ । जन्मोत्सव, पास्नी, व्रतबन्ध, विवाहोत्सव अथवा अन्य कुनै खास अवसरमा गरिने भोजभतेरमा पनि मदिरालाई नै अतिथि सत्कारको मुख्य पेयका रूपमा प्रयोग गर्ने प्रचलन बढेकाले हाम्रो संस्कृति मदिरामय हुन थालेको छ । संस्कृतिअनुसारका सामाजिक तथा धार्मिक विधि विधानलाई भन्दा मदिरा सेवनलाई बढी महìव दिएर चाडपर्व वा उत्सव मनाएर कसरी संस्कृतिको जगेर्ना हुन्छ र कस्तो संस्कृतिको जगेर्ना होला ?
पछिल्लो समय पिउने संस्कृति महìवपूर्ण सभ्यताकै रूपमा विकसित हुँदै छ । पश्चिमा संस्कृतिमा मदिरा सेवनलाई सभ्यताको एउटा अभिन्न अङ्गका रूपमा लिइन्छ । नेपाली समाजमा पनि मदिरा सेवन बिस्तारै संस्कृतिकै अभिन्न अङ्गका रूपमा विकास हुँदै छ । विशेषगरी शिक्षित, सभ्य र सम्पन्न वर्गमा यस्तो संस्कृतिले प्रश्रय पाएको देख्न पाइन्छ । विदेशी महँगा मदिराको बिक्री र यसको आक्रामक बजारीकरणलाई हेर्दा खाने संस्कृतिलाई पिउने संस्कृतिले उछिन्ने पो हो कि भन्ने लाग्न थालेको छ । हाम्रो कुल उपभोग खर्चमा खानका लागि भन्दा पिउनका लागि गरिने खर्च बढ्दै जानु सोचनीय छ ।
उद्योगीको भूमिका
नेपाली चाडपर्वलाई मदिरामय बनाउनमा देशका उद्योगी व्यापारीको पनि ठूलो भूमिका छ । उत्पादक र व्यापारीले चाडपर्वलाई नै लक्षित गरेर विभिन्न थरीका मदिराको विज्ञापन र बजारीकरणलाई तीव्रता दिने हुँदा त्यसले उपभोक्तालाई प्रत्यक्ष प्रभाव पार्ने गरेको छ । दशैँ र तिहारजस्ता ठूला चाडपर्वका बेला देशभरिका ठूला अखबारका मुख्य पाना र टेलिभिजनका पर्दा मदिराकै रङ्गीन विज्ञापनले भरिएको देख्न पाइन्छ । यसले चाडपर्वलाई बजार अर्थतन्त्रले आक्रामक हस्तक्षेप गरेको भन्न सकिन्छ । यस्तै हस्तक्षेपले गर्दा हाम्रो उपभोग संस्कृति बजार निर्देशित हुन थालेको छ । सिटामोल र जीवनजल नै नपाइने ठाउँमा पनि स्वदेशी तथा विदेशी ब्रान्डका मदिरा सजिलै पाइन्छन् । यसले गर्दा उपभोक्ताले मदिरालाई आफ्नो जीवनशैलीको एउटा अभिन्न अङ्गका रूपमा अँगाल्न थालेका छन् । पछिल्लो समय जुनसुकै जाति र सम्प्रदायका मानिसले चाडपर्वमा सबैभन्दा बढी खर्च मदिरामै गर्ने गरेका छन् । विशेषगरी दशैँ र तिहारजस्ता राष्ट्रिय चाडपर्वका बेला मदिरामा ठूलो धनराशि खर्च हुने गरेको छ । यस्तो खर्चले बजारमा नगद प्रवाह बढ्ने र अर्थतन्त्र चलायमान हुने भए तापनि यसले आमउपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पार्ने गरेको छ भने आर्थिक अवस्थामा समेत यसको असर पर्ने गरेको छ । साथै उपभोक्ताको रोजाइमा पर्ने धेरैजसो मदिरा आयात हुने हुँदा यसले नेपालको वैदेशिक व्यापारमा असर गर्ने र व्यापारघाटा बढाउने हुँदा अर्थतन्त्रलाई जोखिमतर्फ धकेल्न मद्दत गरेको देखिन्छ । सामाजिक असर पनि उत्तिकै छ । घरेलु हिंसाको बढ्दो ग्राफलाई केही हदसम्म मदिरा सेवनकै परिणाम मान्न सकिन्छ ।
मदिरा आयातमा खर्च
भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ मा तीन अर्ब ५४ करोड ८३ लाख रुपियाँबराबरका ७६ लाख ६६ हजार लिटर मदिरा तथा मदिराजन्य वस्तु आयात भएको थियो । यसबाट राज्यलाई चार अर्ब १८ करोड ८८ लाख राजस्व आम्दानी भएको थियो । यसैगरी आर्थिक वर्ष २०७६/७७ मा तीन अर्ब तीन करोड ३८ लाख रुपियाँबराबरको करिब ८० लाख २६ हजार लिटर मदिरा तथा मदिराजन्य वस्तु आयात भएको थियो । यसबाट राज्यलाई चार अर्ब ४१ करोडभन्दा बढी राजस्व आम्दानी भएको थियो । त्यसैगरी गत आर्थिक वर्ष २०७७/७८ मा भने दुई अर्ब ६५ करोड सात लाख रुपियाँबराबरको करिब ६१ लाख ५६ हजार लिटर मदिरा तथा मदिराजन्य वस्तु आयात भएको छ र यसबाट राज्यलाई तीन अर्ब ८८ करोडभन्दा बढी राजस्व आम्दानी भएको छ । स्थानीयस्तरमा बन्ने घरेलु मदिराजन्य पदार्थलाई जोड्ने हो भने मदिराजन्य पदार्थमा हुने खर्चको परिमाण निकै धेरै हुन्छ । मदिराजन्य पदार्थको सेवन संस्कृतिको अभिन्न अङ्ग बनेको सन्दर्भमा आयातमा निर्भर मुलुकमा आफ्नो मौलिक संस्कृतिमा समेत आयातित संस्कृतिको प्रभाव बढ्नु थप चिन्ताको विषय बनेको छ ।
चाडपर्वलाई मनोरञ्जन र परिवार मिलनका रूपमा मनाउनुपर्छ । विकृतिजन्य कुरा समाजमा हुन दिनु हुँदैन । चाडपर्वका बेला हुने अत्यधिक सडक दुर्घटना, झैझगडा, स्वास्थ्य समस्या आदि मदिरा सेवनकै उपज हुन् । अत्यधिक मदिरा सेवनले अन्ततोगत्वा सामाजिक सद्भावलाई समेत खलबल्याउने गरेको छ । मदिरा सेवनकै कारण अनावश्यक झैझगडा बढ्नाले मित्रता र सम्बन्ध तोडिने अप्रिय घटना पनि हुँदै आएका छन् । विशेषगरी सहरका उच्च घरानामा चल्ने जाँडपर्व अहिले रेमिट्यान्सका कारण देशका सबै जिल्ला र गाउँगाउँमा र घरघरमा चल्न थालेको छ । यसले हाम्रो मौलिक संस्कृतिलाई नै धरापमा पार्न थालेको समाजशास्त्रीहरूको विश्लेषण छ ।