logo
२०८१ मंसिर ९ आईतवार



दिव्योपदेशबाट शास्त्रीय ठेली

विचार/दृष्टिकोण |




सञ्जीव कार्की

संसारका कुनै पनि एकीकरण निर्विवाद र निर्विकल्प बनेका छैनन् । पृथ्वीनारायण शाहद्वारा गरिएको नेपाल एकीकरणका क्रममा भएका भनिएका अपवादस्वरूपका त्रुटि र कमजोरी उछालेर राष्ट्रनिर्माणको अभियानलाई मानमर्दन गर्नु उचित होइन । पृथ्वीनारायण राजकुलमा जन्मेको र राजा भएकै कारण सम्मान र तारिफयोग्य पात्र बन्नुभएको होइन । उहाँले गरेको ऐतिहासिक योगदानलाई छायाँमा पार्ने प्रयास गरिनु धरातलीय यथार्थमाथि आँखा चिम्लनुसरह हो । जित्नेले आफूअनुकूल केही प्रभाव, छाप र निर्णय गराउने स्वाभाविक प्रक्रियालाई तत्कालीन चेतनाको आँखाबाट पनि अस्वाभाविक प्रभुत्व जमाएको भनेर आरोप लगाउने ठाउँ इतिहासमा कहीँकतै भेटिँदैन ।

देश बनाउन कसै न कसैको महìवाकाङ्क्षी योजना साहस, सङ्कल्प र दूरदर्शिता चाहिन्छ । पृथ्वीनारायण दूरदर्शी राजा मात्रै होइन लडाकु र राजनीतिज्ञ पनि हुनुहुन्थ्यो । उहाँको सम्मान नेपालकै सम्मान हो । पृथ्वीनारायण दार्शनिक पनि हुनुहुन्थ्यो । नेपालको स्वाभिमान, स्वावलम्बन र सार्वभौमसत्ता निर्माणार्थ उहाँले जे गर्नुभयो त्यो अविस्मरणीय छ । पृथ्वीनारायणका दिव्योपदेशबाट अर्थशास्त्र, दर्शनशास्त्र, न्यायशास्त्र, समाजशास्त्र, व्यवस्थापनशास्त्र, कूटनीतिशास्त्र र राजनीतिशास्त्रका ठेलीका ठेली निर्माण गर्न सकिन्छ, परिष्कार र परिमार्जन गरेर ज्ञान विज्ञान र दर्शनलाई अरू फराकिलो बनाएर विश्वलाई बाँड्न सकिन्छ ।

अग्रजलाई सम्झनु अनुजको कर्तव्य हो, आफ्नो अस्तित्व पनि भोलि अनुजले अनुसरण गरोस् भन्ने चाह हो पुस २७ । पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस विगत केही वर्षदेखि छायाँ र विवादमा छ । राज्यका तर्फबाट औपचारिक बिदा दिन छोडिएपछि पृथ्वीनारायणको योगदान महìव र गरिमामा अनेकन कोणबाट बहस र छलफल भएका छन् । राज्यले गणतान्त्रिक प्रणाली अवलम्बन गरेपछि पूर्वराजाका रूपमा मात्रै हेरेर पृथ्वीनारायणको योगदानको मूल्याङ्कन हुनसक्दैन । बिदा दिएर फगत औपचारिकता मात्रै निभाउनु र कसैको योगदान, गौरव र पुरुषार्थप्रति अनुगृहित हुनु होइन । राज्यले दिने औपचारिक बिदा भन्दा ठूलो कुरा सम्मानको संस्कृति हो । पूर्वजप्रति कृतज्ञ हुने असल मान्यता र परम्पराबाट कतै हामी भाग्दै त छैनौँ ? धर्म, संस्कृति र परम्पराले सिकाएका असल कुरा बिर्सेर गलत
बाटो हिँडिरहेका त छैनौँ ?

नेपाल राज्यको एकीकरण तत्कालीन आवश्यकता र औचित्यका आधारमा सही थियो भन्ने प्रमाण र आधार जुटाउनै आवश्यक छैन । सिङ्गो मुलुक, पहिचान र अस्तित्व नै प्रमाण हो । बहुआयामिक र कुशल रणनीतिक खुबीका पृथ्वीनारायण चतुर र समय परिस्थितिको आँकलन गर्ने व्यक्ति हुनुहुन्थ्यो । आजको युगचेतनाका दृष्टिकोणबाट तत्कालीन समयका कतिपय ज्यादती सह्य देखिँदैन तर प्राप्त उपलब्धि पछाडिका केही कमजोरी र त्रुटिलाई आजको परिवेशसँग दाँजेर हेर्न मिल्दैन । विश्व परिस्थिति नै युद्धमय थियो । एकीकरणको वस्तुगत आधार पनि युद्धमय विश्वमा आफ्नो अस्तित्व कायम राख्न बलियो भएर बस्नुपर्ने थियो । ससाना टुक्रे राज्य सधैँ एकापसमा टकराएर बस्नुपर्ने सधैँ भय, अन्योल र युद्धमा जीवन व्यतित गर्नुपर्ने त्यो समाजको मनोविज्ञान पृथ्वीनारायणले बुझ्नुभएको थियो ।

बेलायतको बढ्दो सैन्यशक्तिको त्रास र उन्माद विश्वभर व्याप्त थियो । रुस–पर्सिया युद्ध, अङ्ग्रेज–स्पेनिस यद्ध, रुस– टर्कीबीचको भयङ्कर र घमासान लडाइँ, चीनका प्रभावशाली सिंग लंग वादशाहको राज्य विस्तारको अभियान, हिन्दुस्तानमा मुगलको दयनीय स्थितिले पनि नेपाल बलियो भएर बस्नुपर्ने अवस्था थियो । त्यसैले पनि नेपाल राज्य एक बनाउने अभियान औचित्यपूर्ण र तर्कसङ्गत थियो । हिमवत् खण्डभित्रको मौलिकता कायम राख्न, आफ्नो छुट्टै अस्तित्व जोगाउन पृथ्वीनारायणले जे गर्नुभयो त्यो समयसापेक्ष सामयिक थियो । तत्कालीन परिस्थितिको उपज र बाध्यतालाई लिएर आज पृथ्वीनारायण विस्तारवादी र मिचाह राजा भन्नु तर्कसङ्गत होइन । आजको प्रजातान्त्रिक युग चेत र तत्कालीन चेतलाई सँगै राखेर दाँज्न सकिन्न÷मिल्दैन ।

युद्धका क्रममा पृथ्वीनारायणबाट पनि कमजोरी भए होलान् । विश्वको इतिहासमा युद्धबिना कुन राज्यको निर्माण र विस्तार सम्भव भएको थियो ? बिर्सन नहुने तथ्य युद्धका क्रममा प्रतिशोध र बदला लिने क्रममा केही नाजायज युद्धविरोधी गतिविधि पनि भएका हुन सक्छन् । जसलाई विस्मृतिमा राख्नुको विकल्प हुन्न । पृथ्वीनारायणले राज्यको मात्र एकीकरण गर्नुभएन बिजेता राज्य गोर्खालाई नेपाल राज्यमा विलय गरेर ठूलो छाती भएको पुष्टिसमेत गर्नुभयो । संसारकै प्राचीन सभ्यता संस्कृति भावनाको एकीकृत रूप हो आजको विश्व । त्यसकै अविछिन्नताको एक अंश हो नेपाल । नेतृत्वका नायक पृथ्वीनारायण थिए भने सहनायक बिसे नगर्ची, विखासिंह विश्वकर्मालगायत हाम्रा वीर पुर्खा र सिपाही भएको तथ्य पनि जीवन्त छ । पृथ्वीनारायणले आफ्ना कालजयी दिव्योपदेशमार्फत समाजको राजनीति, अर्थनीति, परराष्ट्रनीति, सांस्कृतिक, धार्मिक मूल्य र मान्यता कसरी सञ्चालित हुनुपर्छ भन्ने सिद्धान्तलाई सरलीकृति गर्नुभएको छ ।

कार्ल माक्र्सभन्दा पनि जेठा, अब्राहम लिङ्कन भन्दा पनि पहिलेका, महात्मा गान्धीभन्दा पनि अघिका पृथ्वीनारायणको परिचय र परिधि आफ्नै भूमिमा पनि खुम्च्याउने÷विवादित बनाउने विषयले हामी सही गन्तव्यमा पुग्दैनौँ । बुद्धपछिको महान् सपूत पृथ्वीनारायण हाम्रो देशका निधि हुनुहुन्थ्यो । आज पर्यन्त उनका दिव्योपदेश उत्तिकै सान्दर्भिक र अवस्थितिअनुकूल छन् । पृथ्वीनारायणका विचार र दर्शन संसारका अरू दर्शन र विचारभन्दा दमदार छन् । सधैँ उपयोगी र सारगर्भित छन् । सानो, साँघुरो र सीमित स्वार्थको घेराभन्दा माथि उठेर हेर्ने हो भने तत्कालीन परिस्थितिमा पनि कति उच्च सोच, गहन दार्शनिक भनाइ र समयसापेक्ष दूरदर्शिता प्रदर्शन भएको पाइन्छ ।

पृथ्वीनारायणलाई एउटा राजाको रूपमा मात्र हेर्ने बुझ्ने चेष्टा उचित छैन । राजा नै भएर पनि सही काम गर्दा आरोपित र दण्डित हुनुपर्ने कारण हँुदैन । पृथ्वीनारायणको सट्टा यो हिमवत् खण्डभित्रको तत्कालीन जुन राजा राजौटाले नेपाल एकीकरण गरेको भए पनि राष्ट्रनिर्माता मान्न हामीलाई अप्ठ्यारो हुने थिएन । काम र गुनको मूल्याङ्कन गर्ने परिपाटी होस् भन्ने मात्र नेपालीले चाहेको हो । राष्ट्रनिर्माता भयो, कुन कुल वंश परम्पराले त्यसको नेतृत्व लियो भन्ने ठूलो कुरा भएन, कसले राष्ट्र निर्माण ग-यो त्यो महìवपूर्ण विषय हो । आफ्नो देश बनाउने राष्ट्र निर्माताको अवमूल्यन गरेर कुनै पनि देश बनेको उदाहरण छैन । सम्मानका नाममा राज्यलाई भार पर्ने गरी बिदा दिने हैन सिर्जनात्मक, रचनात्मक कार्य गरेर व्यक्तिको सम्मान गर्ने परम्पराको थालनी गर्नुपर्छ राज्यले । राज्यले औपचारिक रूपमा २७ पुस २००९ देखि राष्ट्रिय एकता दिवस मनाउन योगी नरहरिनाथले गरेको सङ्कल्प सराहनीय छ ।

देशको जग बसाल्ने परमपरागत धर्म संस्कृति र धरोहरको रक्षा नै भावनात्मक एकताको सेतु हो । नेपाली स्वाधीनता जोगाउन स्थानीय परम्पराको रक्षाको नीति थियो । चार जात छत्तीस वर्णको साझा फूलबारीका रूपमा देशलाई चित्रित गरी सबैको अपनत्व पृथ्वीनारायणले स्वीकार गर्नुभएको थियो । युगपुरुषको गहन सोच र व्यवस्थापकीय क्षमता उहाँका उपदेशमार्फत प्राप्त विचार र दर्शन आज पनि उत्तिकै मननयोग्य छन् ।

नेपालको हकमा पनि पुस २७ लाई राष्ट्रिय एकता दिवस र पृथ्वीजयन्ती मनाउने राजनीतिक, ऐतिहासिक, दार्शनिक र प्रामाणिक आधार तथ्य र नजिरहरू छन् । १७७९ मा जन्मेर २० वर्षको उमेरमा १७९९ मा राजा भएका पृथ्वीनारायण पूरै शासन अवधि ३२ वर्ष नेपाल एकीकरणको योजना र लडाइँमै तल्लीन हुनुभयो । ५२ वर्षको अल्पायुमा नुवाकोटको देवीघाटमा १८३१ मा उहाँको निधन भयो । निधन भएको ४२ वर्षपछि सुगौली सन्धि (१८७२) नहुन्जेल नेपाल एकीकरणको प्रयास उहाँका छोरा र बुहारी तथा नातिको नेतृत्वमा नेपाली जनताको साथ समर्थन र बलिदानीमा चलिरह्यो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?