सञ्जीव कार्की
जीवन र जगत्प्रतिको सम्यक दृष्टिकोण हो दर्शन । जीवन र जगत् हेर्ने दार्शनिक मत नै दर्शन हो । दर्शन मानिसको सामान्य दृष्टिकोण हो । ‘दर्शनशास्त्र विश्वलाई हेर्ने एक प्रकारको चस्मा पनि हो । जगत्को सृष्टि, स्थिति र विनाशलाई बाहिरी आँखा (चर्म चक्षु) र भित्री (आँखा ज्ञान चक्षु) ले हेर्ने र देख्ने प्रक्रिया र प्रयत्न नै दर्शन हो । दर्शन असाध्यै गहन र सूक्ष्म संज्ञान हो । दर्शन कुनै पनि विषयको दृष्टिबोध पनि हो, जो आफ्नो विशिष्ट सिद्धान्त र विधियुक्त हुन्छ । दर्शन शब्दको प्रथम प्रयोक्ता पाइथागोरस हुन् भने आदर्शवादी दर्शनको जन्मदाता प्लेटो । ईश्वरलाई हेर्ने दृष्टिकोणका आधारमा दर्शनको कित्ताकाट भएको पाइन्छ । ईश्वर नै दर्शनको केन्द्र हो । ईश्वरको अस्तित्व छ र छैन यही दुई परिधिमा दर्शनको व्याख्या र पुनव्र्याख्या भएको छ । दर्शनले धार तय गरेको हुन्छ । आध्यात्मिक र भौतिक दर्शनका दुई पक्ष छन् । पूर्वीय दर्शनमा अनुभूतिलाई ऐन्द्रीय र अनैन्द्रीय दुई किसिममा बुझिन्छ । यीमध्ये अनैन्द्रीय अनुभूतिलाई आध्यात्मिक मानिएको छ भने ऐन्द्रीय अनुभव प्रत्यक्ष प्रमाणिक ज्ञानलाई भौतिकवादी भनिन्छ । प्रकृति सृष्टि स्थिति र लयको रचनाकार ईश्वर हुन् या होइनन् यही विषयबाट दर्शनको आ–आफ्नो स्थान निर्धारित छ । दर्शनलाई भौगोलिक आधारमा पनि पूर्वीय र पश्चिमी दर्शन भनेर सिमाङ्कन गरिएको छ ।
आदर्शवादी र आध्यात्मवादीहरू विश्व ब्रह्माण्ड ईश्वर, परमात्मा वा अदृश्य शक्तिबाट पैदा भएको चेतना वा आत्मासृष्टिको आदितìव तथा पदार्थको अस्तित्व निर्धारक स्वीकार गर्ने र संसारलाई बुझ्न नसकिने र अपरम्पार ठान्ने गर्छन् । भौतिकवादी पदार्थलाई सृष्टिको आदितत्व तथा चेतनालाई पदार्थसँग रहने विशिष्ट गुण मान्ने अनि संसारलाई बुझ्न, विश्लेषण गर्न र बदल्न सकिन्छ भन्ने विज्ञानसम्मत तर्क राख्छन् । पूर्वीय र पाश्चात्य जगत्मा दर्शनका अनेकौँ प्रकार र भेद उपभेद छन् । पूर्वीय षडदर्शनमा उल्लिखित वैदिक दर्शनमा साङ्ख्य, योग, न्याय, वैशेषिक, मीमांसा र वेदान्त हुन् । पूर्वीय दर्शनको अवैदिक तीन दर्शन बौद्ध, जैन, चार्वाकमध्ये चार्वाक दर्शनको सङ्क्षिप्त परिचय र विवेचना यस आलेखको क्षेत्र हो । दक्षिण एसियाको प्राचीन र एक मात्र पूर्ण भौतिकवादी दर्शन चार्वाक विचारधारा भनेर चिनिन्छ । चार्वाक दर्शन अनिश्वरवादी दर्शन भएकाले यसले ईश्वरको अस्तित्वलाई नकार्छ । यो लोकभन्दा पर अर्को लोक र यो जुनीभन्दा अर्को जुनी न हिजो थियो न त भोलि रहन्छ । आज जे छ जीवन त्यो मात्रै हो, त्यसैले यसै जुनीमा कर्म गरेर सुखको जीवन जिउनुपर्छ । भ्रमको पछि लागेर अर्को दुनियाँ अर्को लोकको लोभमा यो जीवन बर्बाद गर्नु हुन्न । आज पर्यन्त वेदको निन्दालाई, ईश्वरको अनादर गर्ने व्यक्तिलाई, आपत्तिजनक मानिन्छ र पापको रूपमा अथ्र्याइन्छ । वेदको निन्दा गर्नेको भलो नहुने सोचिन्छ ।
ईशापूर्व करिब ६०० को समयमा वेद निन्दक हुनु कति जोखिम र चुनौतीपूर्ण कार्य थियो होला, सम्झँदा पनि आङ सिरिङ्ग हुन्छ । चार्वाक दर्शनको यकिन समय र कृति प्राप्त नभए पनि यो दर्शनको प्राचीनता उल्लेख गर्ने प्रसङ्ग यसको निन्दा बौद्ध र जैन धर्मको कृतिमा पनि पाइनु अनि उपनिषद्, महाभारत रामायणजस्ता ग्रन्थमा चार्वाकको निन्दा गरिनुले यो दर्शन अन्य दर्शनभन्दा जेठो पनि हुन सक्ने र समकालीन पनि हो भनेर अड्कलबाजी गर्न सकिन्छ । महाभारतको युद्ध समाप्त भएपछि युधिष्ठिरले आयोजना गरेको ब्राह्मण सभामा राजा दुर्योधनका परम मित्र चार्वाकले युधिष्ठिरको आलोचना गर्दा राक्षसको सन्तान भनेर ब्राह्मणहरूद्वारा बर्बर ढङ्गले जलाएर मारिनु परेको कथा सुन्दा चार्वाक मत र दर्शन निषेधित थियो भन्ने बुझ्न सहयोग पुग्छ । महाभारतको शान्ति पर्वमा उल्लिखित प्रसङ्गले पनि बन्देज र निषेधको सङ्केत गर्छ । चार्वाक दर्शन वेदलाई निन्दा गरेर ईश्वरको अस्तित्वलाई नकारेर उदाएको तत्कालीन समाजको विद्रोही चेतनाको अभिव्यक्ति हो ।
पुराण साहित्यहरूमा आचार्य बृहस्पतिलाई देवताहरूको गुरु भनिन्छ । जसले देवतालाई सहयोग गर्न र असुर गणलाई पराजित गरी निस्तेज पार्न ईश्वर र वेद विद्याविरोधी विचारको प्रचार–प्रसार गरेर नास्तिक मतको प्रतिपादन गरे सोही शिक्षा पछि गएर बृृहस्पतिको नास्तिक मत बन्न पुगेको किम्बदन्ती छ । आफ्ना गुरुको नास्तिक मत र विचारबाट प्रभावित भएर चार्वाकले वेद र ईश्वरको विरोध गर्दै नास्तिक मत बोकेर हिँडेको कारण उनकै नाम र भूमिकालाई स्वीकार गर्दै नास्तिक विचार चार्वाक दर्शनको नामबाट आज पनि अस्तित्वमा रहेको दर्शन शास्त्रको इतिहासमा पढ्न पाइन्छ ।
चार्वाक दर्शनका अरू अनेकौँ नाम र प्रसङ्ग पढ्न पाइन्छन् । वस्तुतः यो दर्शन अनिश्वरवादी, भौतिकवादी दर्शन भएकाले यसले भौतिकवादी आलोकबाट जीवन र जगत् नियाल्छ । नास्तिक दर्शन भएकाले आस्तिक दर्शनसँग यसको ठूलो भेद नै मृत्युपछि र मृत्युअघिको जन्म मरणको चक्र हुन्छ या हुन्न भन्नेमा आधारित छ । भौतिकवादी दर्शनका केही विशिष्ट अभिलक्षण हुन्छन् । वेद प्रमाण नमान्नुलाई अर्को लक्षणको रूपमा मानिन्छ । कुनै पनि ग्रन्थ स्वतः प्रमाण होइनन् । वेद भगवतवाणी हो, अपौरुषेय हो, शाश्वत हो भन्ने मान्यतासँग तीव्र विमति राख्छ । आत्मालाई देहबाट स्वतन्त्र र पृथक्, नित्य तìव मान्ने विचारलाई पूर्ण रूपले खण्डन गर्छ । ईश्वरको सार्वभौमिकताको विरोध गरेर कार्यकारण सम्बन्धलाई काल्पनिक भन्छ ।
संसार बोधगम्य वा ज्ञय छ । समाज वस्तुगत जगत्को विकासको परिणाम हो । भौतिक सत्यभन्दा टाडा पुगेर गरिने पूर्वजन्म, जन्म र पुनर्जन्मको तर्कलाई अयथार्थको संज्ञा दिन्छ । कर्मकाण्ड पूजा पाठ ईश्वर भक्तिलाई चार्वाक दर्शनले समयको बर्बादीको रूपमा चित्रण गर्छ । चार्वाक दर्शनको एउटा आधारभूत विषय नै प्रमाण विज्ञान हो, जसले चार भौतिक तìव पृथ्वी, जल, तेज र वायु नै सृष्टिको निमित्त र उपादान कारण मानेको छ । सृष्टि, हुन् यिनै चार तìवको संयोजन र वियोजन भए पुग्छ । पदार्थ अर्थात् जड तìव नै परम् तìव हो परमाणुको सङ्घातको परिणाम नै सृष्टि हो । यो भन्दा पर सृष्टिको नियामक कुनै परलौकिक सत्ता र अदृश्य शक्ति छैन ।
जगत्ले आफ्नो व्यवस्था स्वयं प्रतिपादन गरेको छ । त्यसैले जगत् सत्य ब्रह्म मिथ्या हो । स्वर्ग, नरक, मोक्ष, पूर्वजन्म, पुनर्जन्म, भाग्य, अवतार कर्मफल सब झुट र कल्पना मात्रै हुन् । वैदिक दर्शनले भनेको ब्रह्म सत्य जगत् मिथ्या भ्रमको खेती र ब्राह्मणवादी सोच, अवैज्ञानिक र अप्रमाणिक सत्य हो । परलोक हुन्छ भने मानिस मरिसकेपछि आजसम्म कोही न कोही मान्छे कतै न कतै देखिनुपर्ने होइन र ?
आत्मिक सुख, मोक्षबाट प्राप्त हुने आनन्द अनि अन्तःप्रज्ञा र रहस्यानुभूतिलाई पूर्णतया अस्वीकार गर्दै भौतिक सुख, इन्द्रीय तृप्ति, लौकिक आनन्द, वस्तुवादी, सुखवादी लोक व्यवहार, वैध ज्ञान र प्रकृतिवादी नास्तिक मतलाई आफ्नो दार्शनिक आधार मानेको छ । केवल प्रत्यक्ष अनुभवद्वारा प्रमाणित गर्न नसकिने हठधर्मिताको काल्पनिक ईश्वर लोकायातले निषेध गर्छ । नास्तिकता प्रमुख दार्शनिक अवधारणा मानेको कारण चार्वाक दर्शनलाई केवल भोगवादी, अनैतिक, अराजक, सुखवादी, वासनावादी, र खन्चुवा दर्शन भनेर पनि आलोचना गरिएको पाइन्छ ।
काम गर, सुख भोग गर, कर्तव्य र अधिकार दुवैमा यसको प्राथमिकता छ । कामलाई पुरुषार्थ र मरण मोक्ष भन्छ तर मोक्षलाई सुख भनेर परिभाषित गर्दैन । मरणपछिको कुनै अरू काल्पनिक सम्भावनामा यसको विश्वास छैन । इहलौकिक अर्थात् भौतिकवादी दर्शन र मान्यता भएको पुरानो र वैज्ञानिक दर्शनको रूपमा चित्रण गर्नुहुन्छ त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका दर्शनाचार्यका प्रा.डा. रमेशप्रसाद भट्टराई । यसको स्थापना सम्बन्धमा तिथिमितिमा तलमाथि देखिए पनि प्राचीनातामा शङ्का गर्ने ठाउँ नभएको र आजको भौतिकवादको जग भएको भट्टराईको जिकिर छ ।
दुःख छ भनेर यो लोकको जीवन यस्तै भयो परलोक सपार्छु भनेर दुःखसँग भागेर जीवन उसै त्याग्ने होइन दुःखसँग सामना गर्दै अघि बढ्ने हो । दुःखबाट छुट्कारा पाउन मुक्ति खोज्न, चुनौतीपूर्ण परिस्थितिको सामु आत्मसमर्पण गर्ने कि सङ्घर्ष गर्दै अघि बढेर वर्तमान (जो फेरि कहिल्यै पाइँदैन) जीवनलाई सुखी बनाउन प्रयत्न गर्ने ? मूलतः समता, स्वतन्त्रता, खुसी र सुखीहरूको समाज बनाउने अवधारणा बोकेको दर्शनको रूपमा चार्वाक दर्शनलाई लिन सकिन्छ । ज्ञान मीमांसा प्रत्यक्षवादी, तìव मीमांसा भौतिकवादी र आचार मीमांसा सुखवादी चार्वाक दर्शनको दर्शन दर्शन शास्त्रीय सूत्र हो । समष्टिमा भन्दा मृत्युपछिको तथाकथित स्वर्गको एक चिम्टी लोभ, माया र मोहबाट टाढा रहेको वाद र विचार हो चार्वाक अर्थात् लोकायत दर्शन । मानिसलाई साँचो कुरा बुझ्न सही दृष्टिकोण वा धारणा निर्माण गर्न मानव समाज रूपान्तरणका लागि मार्गनिर्देशन गर्न चिन्तन मननका आम नियम लागू गर्न, पदार्थ र चेतनाको अन्तरसम्बन्धको अध्ययन गर्न समाजको वास्तविकता बोध गर्न, एकबारको मानव जुनीको मूल्यबोध गर्न दर्शनको भूमिका अपरिहार्य हन्छ ।