logo
२०८१ मंसिर ९ आईतवार



नैतिकताको दोहोरो मापदण्ड

विचार/दृष्टिकोण |




सञ्जीव कार्की

जुनसुकै मानक बन्न र भत्कन लामो समय लाग्छ । कुनै पनि मानक बन्नुको पछाडि त्यहाँ अभ्यास भएको लामो धर्म, परम्परा, संस्कृति, विज्ञान र कानुनको प्रत्यक्ष/परोक्ष निगरानी र साझेदारी रहेको हुन्छ । सामाजिक मूल्यको स्थापनार्थ सामाजिक, धार्मिक र राजनीतिकलगायत अन्य क्षेत्रका अगुवाको देन महत्त्वपूर्ण हुन्छ । समाजको आफ्नो छुट्टै मानक, नैतिकता, सामाजिक समझ र व्यवहार हुन्छ । सामाजिक व्यवहारको आलोकमा नैतिकता निःसृत हुन्छ । सामाजिक भौतिक मूल्य र नैतिक महìवको मूल्य एकै होइनन् । नैतिकता त्यस्तो व्यवहार र आदर्श हो, जसले भौतिक मूल्यलाई कहिल्यै प्राथमिकीकरण गर्दैन । नैतिक मूल्य र उचाइ अङ्कगणितीय जोड घटाउमा भेटिन्न । कतै गणितमा नैतिकता भेटियो भने त्यो च्युत हुन्छ, अच्युत रहँदैन ।

आजकल नैतिकताको पनि व्यापार भइरहेको छ । नैतिक देखिनेहरू पनि बिके÷चुकेका छन् । सार्वभौम नैतिकताले बाटो विराएको देखिन्छ । अतः नैतिकताको पनि पुनरवलोकन, पुनव्र्याख्या र पुनर्पुष्टि जरुरी छ । कुनै पनि विषयको औचित्य त्यतिबेलासम्म रहन्छ, जतिबेलासम्म उसले आफ्नो प्राकृत स्वभाव गुमाउँदैन, उसको धर्ममा आँच आउँदैन, ऊ अप्रश्नीय बन्छ । जब ऊ आफ्नो धर्मबाट विचलनमा पुग्छ तब उसका बारेमा पूर्वमान्यता, दर्शन र मानकबारे सोचमग्न बन्ने स्थिति पैदा हुन्छ ।

समाजमा उच्च नैतिकता र संवेदनशीलता प्रदर्शन गरेर कर्तव्य निर्वाह गर्नुपर्ने डाक्टर बिरामीको उपचारमा कम औषधि बेचबिखनमा बढी सक्रिय देखिन थाल्यो । डाक्टर कम र व्यापारी ज्यादा हुन लाग्यो । शिक्षाधिकारी पद प्राप्त गर्न रकम बोलकबोल गर्दै हिँड्न थाल्यो । विश्वविद्यालयको प्राध्यापक शिक्षामा आँखा हुनुपर्ने तर विवेक हरायो । न्यायालय मुद्दा किनबेच मोलमोलाइको अखडा बन्यो । प्राविधिक जनशक्ति अभ्यास गर्न छाडेर प्रवचनमा जोड दिन थाल्यो । रेडक्रस भ्रष्टाचारको गन्तव्यमा परिणत भयो । धर्मशाला पाँचतारे होटलमा परिणत भयो ।

मन्दिर, चर्च र गुम्बालाई व्यापारिक दोकान बनाइयो । मानवताको हत्या गर्ने मानवाधिकारवादी हुन पुगे । बुद्ध मार्ने र हिटलर पाल्ने महान् मान्छेको दर्जामा उक्लियो । नागरिक अधिकार खोज्ने तर कर्तव्य बिर्सने बन्यो । सरकारले नागरिकप्रतिको दायित्व पूरा गर्न सकेन । राज्यका सबै निकाय र अवयव अगतिशील बन्न थाले तब नैतिकता, इमान, विश्वास र दर्शनको जग भत्कँदै, चर्कंदै, हल्लँदै जान थाल्यो । यही विचलन, अवसाद, विसर्जन, वियोग, नैतिकताको क्रयविक्रय, क्षति र घाटालाई उकासेर नैतिकता र धर्मको पुनर्परिभाषा अपरिहार्य भएकाले नैतिकताको पुनव्र्याख्या जरुरी छ ।

समाज सधैँ सनातन तवरले चल्न सक्दैन, कतिपय असामयिक मानक र बार भत्काउनु र नयाँ इँटा राख्नुपर्छ । नुतन संस्कृति र संस्कारको थालनी गर्नुपर्छ । पूर्वीय दर्शनले प्रतिपादन गरेका विराट मूल्य र अस्तित्व जोगाउन पनि यसको कमजोरी सुधार गरेर आगामी पाइला चाल्नुपर्छ । नेपालले पनि हिन्दु धर्म र यसको विराट दर्शन, सौन्दर्य र ज्ञानको अथाह भण्डार बचाइराख्न यहाँ अभ्यास गरिएका जातीय छुवाछूत र विभेदजन्य संस्कार, संस्कृति र परम्परालाई जरैदेखि उन्मूलन गर्न अभियान चलाउन जति ढिला ग¥यो, नोक्सानी त्यति नै बढ्नेछ ।

हिन्दु धर्ममा जातीय छुवाछूत छैन भनेर सफेद झुट बोल्ने र ढाकछोप गर्ने, टालटुल पार्न खोज्नु मानवताविरुद्धको अपराध र मानवीय सभ्यतामाथिको मजाक हुनेछ । कमजोरी हटाएर यसको मूल्य बोध गर्न जति ढिला ग¥यो, उति हिन्दु धर्म सङ्कुचनमा परेर सङ्कट उन्मुख हुनेछ । एउटा धर्म दर्शनको विलुप्ति उसकै कारण होला तर उसको उपस्थितिमा, उसकै दार्शनिक मान्यताले मान्छेको बाँच्न पाउने हक खोसिनु किमार्थ स्वीकार्य हुन्न । समस्या छन् भने तिनको निदान र उपचार पनि छ । ज्ञान विज्ञानको युगमा अन्धविश्वास र अन्ध तर्कलाई विस्थापित गर्दै धर्म दर्शन र संस्कृतिले अँगालेका मानव हितकारी तìवको आत्मसात् र अमानवीय रूढिग्रस्त विचारलाई तिलाञ्जलि दिएर समयको रथलाई आफू अनुकूल बनाउनुपर्छ ।

धर्म र अप्रमाणिक भनेर सबै कुरा त्याज्य र विस्मृतिमा लैजान लायक छैनन्, मानवीय गुण र भावनाले ओतप्रोत दर्शन पनि छन् । चर्चा र विवादको घेरामा रहेको मनुस्मृति फगत घृणाको लायक मात्र छैन, राज्य सञ्चालनार्थ अति आवश्यक सोच र दर्शन पनि छन् तर मान्छेलाई मान्छे नसम्झने त्यो दुर्गुण र विभेद निन्दनीय र निषेधयोग्य छ । असल पक्षको प्रवद्र्धन गर्दै खराबलाई त्याग्ने नवसंस्कृति बसाल्न देशका प्राज्ञिक, बौद्धिक र प्रबुद्ध वर्गले धर्म नैतिकताको पुनव्र्याख्याको अभियानमा आफूलाई समाहित गर्दै लैजानुपर्छ । कुनै कालखण्डमा स्वार्थवश र अन्जानवश धर्म दर्शन विशेषगरी वेदको व्याख्या गरिँदा आएका विकृत कुरा महिला र शुद्रको नाममा हुने विभेदजन्य पक्षलाई सच्याउने र धर्मले विभेद गर्दैन भने नीति मीमांसलाई पालन गर्दै मार्ग तय गर्न सकिएन भने दुर्घटना निम्तिने खतरा हुन्छ ।

अग्नि (आगो) नै सत्यको उद्घाटन गर्ने उच्चतम शिक्षक भनेर परिचय गराउने सर्वप्राचीन ऋग्वेद पक्कै समान्य विद्या र लहडी लेखन होइन । वेदभित्र के छैन, कति गहन जीवन दर्शन, नीति नियति र विज्ञान छ । त्यसैगरी वेदभित्र त्याज्य कुरा र प्रसङ्ग पनि छन् । वेदलाई आजको युग चेतनाले अपौरुषेय मान्दैन । वेद, पुराण र महाभारतजस्ता कृति मानव लिखित साहित्य धर्म र दर्शन हुन् । यिनको गुदी ग्रहण गर्ने र बाँकी प्राचीन सभ्यता र इतिहास साहित्य भनेर मात्रै बुझ्ने बुझाउने गरियो भने यसबाट उत्पन्न हुने विवाद र झन्झटमा फसेर अलमल परेर बस्नु पर्दैन ।

वेद ज्ञानको अथाह भण्डार हो । यसको आफ्नै सामाजिक मूल्य र नैतिक धरातल दार्शनिक मत छ । यद्यपि पुरानो हुनेबित्तिकै यो समग्रमा सही छ र हो भन्ने चिन्तन विल्कुल गलत छ । अतीतमा जे सही र मानक मूल्य हुन्थ्यो, सो आज हुन, नहुन सक्छ त्यसैले मूल्याङ्कन, पुनर्मूल्याङ्न. पुनरवलोकन, पुनर्ताजगी विज्ञानको नियम र गति हो । विवेकपूर्ण सचेतता हो । जतिसुकै प्राचीन सिद्धान्त र मान्यता भए पनि (सामयिक) अहिलेको युग विज्ञान र परिवेश सुहाउँदो बन्न सकेन भने त्यसको मृत्यु अवश्यम्भावी छ ।

आफैँले आफैँलाई चिन्नु, चिनाउनु पूर्वीय दर्शनको मूल स्थापना भएकाले कुनै पनि मृत धारणा बोकेर कुद्नु पनि यस धर्मको मर्मविपरीत हुन जान्छ । यस्तो तथ्य र तर्कबारे अनुयायीले बुझ्नुपर्छ । दर्शन बुद्धि तìव र ज्ञानको विषय भएकाले तìवको साक्षात्कार र अनुभूति दर्शनको ध्येय हो । पौरस्त्य दर्शनशास्त्रअनुसार आध्यात्मिक अनुभूतिबाट तìव ज्ञान सम्भव छ, सो अनुभूतिलाई उद्देश्यमूलक बनाउने विषय अहिलेको प्रमुख चुनौती र अवसर हो ।

धर्म वस्तुको प्राकृतिक गुण हो । धर्मसँग नैतिकता जोडिएर आउँछ । नैतिकता भौतिक मूल्य नभएको उच्चतम अभ्यास र संस्कार हो । नैतिकताको अनुहार जहिले र जताबाट हेरे पनि एकै हुन्छ । अनैतिक र विरोधाभाषको अनुहार अनेकथरी हुन्छ तर नैतिकता जताबाट हेरे पनि उही र उस्तै देखिनुपर्छ । नैतिकता अवलम्बन गरिने विषय हो, यसको दोहोरो मापदण्ड हुनुहुन्न । सत्तामा बस्दा र सत्ता बाहिर बस्दा फरकफरक नैतिकता र राष्ट्रिय दृष्टिकोणमा भिन्नता आजको मूल्यहीन राजनीतिको विकृत रूप र अनुहार हो । नैतिकता मानवीय मूल्यहरूको त्यस्तो व्यवस्था हो, जसले हाम्रो व्यवहार सुधार्ने र जीवनमा खुसी ल्याउने तागत राख्छ ।

नैतिकता खुसीको साँचोका रूपमा पनि परिचित छ । लोकतन्त्र र गणतन्त्रलाई नैतिकता नभएको चिज भनेर जसरी आज बदनाम र अस्वीकृत गरिँदै छ । लोकतन्त्रले प्रार्थना, विनयशीलता र कृतज्ञता गुमाउँदै गएको देखिन्छ, यस्तो समाज अराजक र अनुशासनहीन बन्दै गएको छ र जान्छ । विवेक आवेगको नियन्त्रणबाट खोस्न पनि नैतिक शिक्षालय खोल्नु र चलाउनु नैतिक आरन बनाउन र अर्चाप्न पाइन राख्नुपर्छ । विचार, सिद्धान्त, दर्शन र दिग्दर्शन कुनै पनि कुराको हामीमा कमी छैन । ज्ञान र विज्ञानको युगमा गैरजिम्मेवार अनि असन्तुष्ट र खतरनाक भएर आफैँलाई सिध्याउने छुट हामीलाई छैन । सुध्रने र सपार्ने बिन्दु र सीमा बाँकी छन्, समय रहँदै हेक्का राखौँ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?