प्रेमनारायण भुसाल
पटक पटक नयाँ भेरियन्टका रूपमा दोहोरिइरहेको कोरोनाको लहरले यस पटक पनि विद्यालय शिक्षामा नराम्रो प्रभाव पा-यो । सरकारी निर्देशनअनुसार सबै किसिमका परीक्षा तथा भौतिक उपस्थितिमा हुने पठनपाठन बन्द छन् । सुरुमा माघ १५ सम्म भनिए पनि घना बस्ती भएका क्षेत्रमा यस शैक्षिक सत्रका बाँकी दिन पनि अस्तव्यस्त नै हुने सङ्केत देखापरेका छन् । वैकल्पिक स्रोतसाधनको सुनिश्चितता नभएको तथा जसरी पनि विद्यार्थीलाई सिकाइ क्रियाकलापमा जोड्नुपर्छ भन्ने विषयमा विद्यालय तथा शिक्षक दृढ नभएका कारण विगत दुई वर्षको पढाइ लथालिङ्ग भयो ।
सहरी र सुविधासम्पन्न क्षेत्रका बालबालिकाले वैकल्पिक विधिअन्तर्गत अनलाइनका माध्यमबाट आंशिक भए पनि अध्ययन क्रियाकलापलाई अगाडि बढाए तर अपेक्षाकृत रूपमा अनलाइन कक्षाको प्रभावकारिता देखिएन । विश्वविद्यालय तहका विद्यार्थी आफैँमा परिपक्व हुने हुँदा अनलाइन र यस्तै अन्य वैकल्पिक विधि र प्रविधि उपयोगी देखिए । विद्यालय तहका कलिला बालबालिकालाई भने अनलाइन त्यति प्रभावकारी बन्न सकेन । विद्यालयभन्दा बाहिर रहेका ठूलो सङ्ख्याका विद्यार्थी र अनलाइन माध्यमबाट अध्ययनलाई निरन्तरता दिएका विद्यार्थीका बीचमा तुलना गर्दा अनलाइन पढेकाभन्दा स्कुल जान नपाएका विद्यार्थी मनोसामाजिक स्वास्थ्यका दृष्टिले स्वस्थ देखिएका छन् । त्यसो त विद्यालयको राम्रो व्यवस्थापन र अभिभावकको उपयुक्त सुपरीवेक्षणका कारण केही विद्यार्थीले भने भौतिक उपस्थितिमा भन्दा अझ राम्रो किसिमले अनलाइनबाट सिकाइलाई अगाडि नबढाएका पनि होइनन् तर विद्यालय तहको समग्र सिकाइ उपलब्धि हेर्ने हो भने यस अवधिमा अभिभावकको निगरानीबिना अनलाइनमा छाडिएका विद्यार्थी व्यक्तित्व तथा आधारभूत सीप विकास र मनोसामाजिक स्वास्थ्यका दृष्टिले निकै जोखिममा छन् । गत वर्ष कस्ता समस्या देखिए ?
गत वर्ष अनलाइन माध्यमबाट पठनपाठनमा संलग्न भएका केही विद्यार्थीमा गलत साइटमा पहुँच पुगेका कारणले नराम्रो प्रभाव परेको देखियो । मनोसामाजिक परामर्शका लागि पङ्क्तिकारसँग ल्याइएका बालबालिकालाई हेर्दा उनीहरूले सिकेका खराब आचरण र व्यवहारको कारक इन्टरनेटमा सहज र निर्वाध उपलब्ध वयस्क साइट र अश्लील सामग्री देखिए । केही बालबच्चाले असामान्य व्यवहार प्रदर्शन गरेको पाइयो । पाँच कक्षामा अध्ययन गर्ने १०–११ वर्षका बच्चाले विद्यालयकै शौचालयमा हस्तमैथुन गर्दै साथीहरूलाई पनि उत्प्रेरित गरेका र विपरीतलिङ्गी साथीहरूसँग वयस्क व्यवहार गरेका घटनालाई सामान्य र स्वाभाविक मान्न सकिन्न ।
अनलाइन कक्षामा लगइन मात्र गरेर आफ्नै छुट्टै समूह निर्माण गरी कक्षाकोठाको समयमा विभिन्न किसिमका हिंस्रक खेलमा व्यस्त हुने विद्यार्थीको सङ्ख्या पनि निकै धेरै रह्यो । यस्ता विद्यार्थीलाई शिक्षकले अन्तक्र्रियाका लागि बोलाउँदा इन्टरनेट वा डिभाइसले राम्रोसँग काम नगरेको जस्ता बहाना देखाउँदै कक्षागत क्रियाकलापमा निष्क्रिय पाइए । प्रविधिको दुरुपयोग गरेर स–साना बालबालिकासमेत गृहकार्य नक्कल गर्ने, एकजना विद्यार्थीले गरेको काम अरू विद्यार्थीले सार्ने तथा गुगलमा उत्तर खोजेर शिक्षकलाई बुझाउने गर्न तत्पर देखिए । सूचना प्रविधिका क्षेत्रमा भएको विकासका साथसाथै यसले हरेक कार्यालयमा हुने कागजी प्रक्रियालाई समेत प्रविधियुक्त र छरितो बनाएको छ । यस अर्थमा विगतमा जस्तो आकर्षक हस्तलेखनको महìव नरहे पनि नेपालका सन्दर्भमा सबै क्षेत्रमा कम्प्युटरका माध्यमबाट काम गर्न अझै सम्भव बनिसकेको छैन । यसैले विद्यार्थीका हस्तलेखन र लेखन सीपलाई बेवास्ता गर्न सकिँदैन । अनलाइन कक्षाका सन्दर्भमा विद्यार्थीको लेखन अभ्यास र आदत शून्यप्रायः बन्यो ।
अनलाइन गेम खेल्ने र आफ्नो समूहमा विद्यार्थीले कोड भाषाका रूपमा असभ्य शब्दको प्रयोग गरी शिक्षक, अभिभावक र साथीहरूलाई समेत विभिन्न किसिमका अशिष्ट उपनाम दिने, नक्कली आईडी बनाई बेइज्जती गर्नेजस्ता काममा समेत विद्यार्थी संलग्न भएका पाइए । अनलाइन कक्षा सञ्चालनको अवधिभर विद्यार्थीको स्वाभाविक पारिवारिक अन्तक्र्रियामा समेत कमी देखियो । केही बालबालिकामा गृहकार्यमा व्यस्त भएको बहानामा अनुपयुक्त र असामान्य काममा व्यस्त भई लामो समय ग्याजेटमा बिताउँदा आँखा तथा स्क्रिन डिसअर्डरको समस्यासमेत देखा प-यो ।
मनोसामाजिक प्रभाव
भौतिक रूपमा साथीहरूसँग खेल्ने, कुराकानी गर्ने र रमाउने गर्दा विद्यार्थीको मानसिक तथा सामाजिक वृद्धि र विकासमा निकै सहयोग पुग्दछ । विगतमा निषेधाज्ञा र अनलाइन कक्षाका कारण घरबाहिर निस्कन नपाउँदा बालबालिका भर्चुअल संसारमा अति व्यस्त भए । सामान्य जनजीवनबाट भर्चुअल संसारमा प्रवेश गर्दा बालबालिकाको मनोसामाजिक स्वास्थ्यमा नकारात्मक असर परेको देखियो । बालबालिका एकलकाटे बन्ने, तुरुन्तै उत्तेजित हुने, रिसाउने, अभिभावकबाट टाढिनेजस्ता समस्या धेरै बालबालिकामा देखा परे । आफूभन्दा ठूला मानिस, अभिभावक तथा छरछिमेकी र नातेदारसँग अन्तक्र्रिया गर्ने सामाजिक सीपमा आएको ह्रासका कारण उनीहरूले असामान्य र असामाजिक व्यवहार देखाए । केही बालबालिकामा अनलाइन/इन्टरनेट निर्भरतासमेत देखा प-यो । एकैछिन इन्टरनेट नहुँदा छटपटी बढ्ने, निदाउन नसक्ने र झर्कनेजस्ता लक्षण धेरै बालबालिकाले देखाए । शारीरिक व्यायामको अभाव र एकै ठाउँमा बसेर डिभाइस हेरिरहने बानीले गर्दा केही बालबालिकामा मोटोपनको समस्या पनि थपियो । लामो समयको बन्दाबन्दीपछि विद्यार्थी उपस्थित हुँदा केही स्कुलमा त निर्धारित बेन्चमा नअटाउने र सामान्य किसिमका शारीरिक व्यायाम गर्दासमेत खोच्याउने तथा शारीरिक सन्तुलन कायम गर्न नसक्ने समस्या पनि देखा परे । लामो समयसम्म इन्टरनेटमा अभ्यस्त हुँदा बालबालिकाको सोच्ने, सम्झने र व्यवहार गर्ने तौरतरिकामा परिवर्तन देखियो ।
भर्चुअल र अवास्तविक सोचका कारण वास्तविक जीवनका संवेदनाजन्य अनुभूति र मानवीय भावको अभाव देखियो । कामकाजी अभिभावक बच्चा कक्षामा भुलोस् भनेर लामो समयका अनलाइन कक्षाको अपेक्षा गरे, केही स्कुलले दिनभर बच्चालाई स्क्रिनअगाडि बस्न बाध्य पारे । जसले गर्दा बच्चाको पढाइप्रतिको रुचि मर्ने, आँखासम्बन्धी समस्या र स्क्रिन डिसअर्डरको समस्या बढाउने कामसमेत भएको पाइयो । उपेक्षित वा अभिभावकले समय नै नदिएर बेवास्ता गरेका बालबालिकामा यस समयमा चुरोट र गाँजा सेवनको लतसमेत बढेको देखियो । यी आदतले गर्दा भौतिक रूपमा विद्यालय सञ्चालन हुँदा उनीहरूमा समायोजनजन्य समस्या देखिए ।
अभिभावकको भूमिका
सङ्क्रमण बढ्दै गएको अवस्थामा बालबालिकालाई विद्यालय पठाउनु उनीहरूको मानसिक तथा शारीरिक स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण काम हो । यस्तो अवस्थामा वैकल्पिक विधिबाट बालबालिकाको सिकाइलाई निरन्तरता दिने प्रयास गर्नुपर्दछ । भौतिक कक्षाकोठाको विकल्प अनलाइन मात्र नभए पनि अन्य माध्यमभन्दा यसलाई बढी प्रभावकारी मानिएका कारण धेरैले अनलाइन कक्षामै जोड दिएका छन् । घरायसी वातावरण राम्रो भएको अवस्थामा छोटो समयका विद्यार्थीमैत्री अनलाइन कक्षा विद्यालय तहमै पनि प्रभावकारी हुने गर्दछन् । यसका लागि अभिभावक बढी सचेत हुनुपर्छ ।
कक्षामा पढिरहेकै त छन् नि भनेर विद्यार्थीलाई स्वतन्त्र छोड्ने हो भने उनीहरूले जतिखेर पनि बाटो बिराउन सक्ने भएकाले हरेक समय आफ्ना बालबालिका के गर्दै छन् र कति समय अनलाइनमा बिताउँछन् भन्ने कुरालाई निगरानी गर्नुपर्छ । असामान्य परिस्थितिका कारण बालबालिकामा सिर्जना भएको तनाव मोचनका लागि कक्षा सकिएपछि उनीहरूलाई अन्तक्र्रिया र शारीरिक श्रम पर्ने किसिमका सामान्य घरायसी काम वा खेलकुदका गतिविधिमा संलग्न गराउनुपर्छ । सन्तुलित आहार, व्यायाम र सुताइको व्यवस्थापनमा अभिभावक चनाखो हुनुपर्छ । बालबालिकालाई साँझको समयमा ग्याजेटहरू नहेर्ने, भौतिक किताबबाटै पाठहरू पढ्ने र कापीमा लेखेर अभ्यास गर्ने बानीको निरन्तरताका लागि अभिभावकले प्रोत्साहित गर्नुपर्छ । दिनभर गर्ने हरेक कामको तालिका निर्माण गरी अनुशासनमा बस्ने बानीलाई नियमन गर्नुपर्छ । भर्चुअल संसारमा सिकाइका स्रोत अनेक हुने भएकाले बालबालिकाले इन्टरनेटका माध्यमबाट राम्रा/नराम्रा दुवैथरी कुरा सिक्ने उत्तिकै सम्भावना रहन्छ । यसैले प्रजातान्त्रिक अभिभावकीय भूमिका निर्वाह गरी सहज रूपमा अन्तक्र्रिया र विचार आदानप्रदान तथा छलफल गर्ने वातावरण सिर्जना भएमा उनीहरू कुलतमा लाग्ने सम्भावना न्यून हुन्छ ।
निष्कर्ष
बालबालिकालाई लामो समयसम्म अनलाइन कक्षाका नाममा भुलाइ राख्नुहुँदैन । छोटो समयका प्रभावकारी कक्षाका माध्यमबाट उनीहरूको सिकाइलाई निरन्तरता दिने खालका योजना बनाउनुपर्छ । अनलाइन कक्षामा शिक्षकको भन्दा अभिभावकको भूमिका बढी महìवपूर्ण र प्रभावकारी हुने भएकाले उनीहरूको प्रत्यक्ष निगरानी र पथप्रदर्शन हरेक बालबालिकाका लागि अपरिहार्य छ । विद्यालय पठाएर दिनभर ढुक्क भएजस्तै अनलाइन कक्षामा पनि अभिभावक ढुक्क भएर बालबालिकालाई स्वतन्त्र छाडिदिने हो भने यसले उनीहरूलाई दीर्घकालीन रूपमै शारीरिक तथा मानसिक रूपमा अस्वस्थ, असामाजिक र असन्तुलित बनाउने सम्भावना हुन्छ । अभिभावकले आफ्ना बालबालिकाका गतिविधिलाई निरन्तर सुपरीवेक्षण गरे मात्र अनलाइन कक्षा प्रभावकारी बन्न सक्दछ अन्यथा अव्यवस्थित अनलाइन कक्षा बालबालिकालाई कुलतमा लाग्ने गोरेटो बन्न सक्छ ।