logo
२०८१ मंसिर ८ शनिवार



शान्तिको प्रतीक सेतो वस्त्र

विचार/दृष्टिकोण |




यादव देवकोटा
औपचारिक समारोहमा पोसाक र त्यसको रङलाई विशेष महत्त्व दिइन्छ । नेपालमा मात्र होइन यो प्रचलन संसारभरकै हो । त्यस्तै वस्त्रको रङले समाजको वास्तविकता वा सभ्यताको चिनारी पनि दिन्छ तर, कहिलेकाहीँ वस्त्रको रङलाई लिएर गलत व्याख्या र दुव्र्यवहार पनि हुने गरेको छ । विशेष गरी नेपाली समाजमा महिलाले लगाउने वस्त्र र त्यो वस्त्रको रङलाई समय, परिस्थिति र सन्दर्भअनुसार किटानी गरिएको छ र यसले धेरै अर्थ राख्छ ।

वस्त्रले मानिसको लाज ढाक्ने वा शरीरलाई जोगाउने मात्रै होइन यसले सङ्घर्ष, त्याग र बलिदानलाई समेत उजागर गर्छ । कुन रङको वस्त्र लगाएको छ, त्यसअनुसारको अर्थ र सङ्केत उनीहरूबाट व्यक्त भइरहेको हुन्छ । तीजमा रातो लगाउनु सङ्घर्ष वा स्वतन्त्रताको प्रतीक मानिन्छ भने पूजापाठ गर्दा पहेँलो वस्त्र लगाउँदा ईश्वरप्रतिको भक्तिभावलाई उजागर गर्दछन् । पहेँलो रङलाई भक्ति र धर्म परायणताका रूपमा लिइन्छ ।

त्यस्तै आजभोलि साउन महिनामा हरियो वस्त्र लगाएर महिला शिवालयमा जान्छन् । विवाहित महिला हरियो चुरा अनि पहेँलो पोते लगाउँछन् । हरियो रङलाई प्राण, जीवनशक्ति एवं मार्मिकताको प्रतीक मानिन्छ । यसलाई जीवनशक्तिको भित्री मर्म बुझ्ने जीवित रङ पनि भनिन्छ ।

रङहरूको सम्बन्ध प्रकृतिसँग छ र हरेक रङको आआफ्नै विशेषता पनि छ र तापनि विश्वभर नै अत्यधिक प्रचलनमा रहेको वस्त्र कालो, सेतो, निलो, रातो र पहेँलो हो । यसमा पनि सेतो र रातो रङका वस्त्रले सबैभन्दा बढी महìव राख्दछ । अर्को महìवपूर्ण कुरा के छ भने सेतो र रातो रङको अर्थ र सङ्केत फरक भए पनि दुई भिन्न ध्रुवमा यसको एउटै अर्थका रूपमा उपयोग गरिन्छ । नेपालजस्ता मुलुकमा रातो रङको वस्त्रलाई क्रान्ति वा सङ्घर्षका रूपमा लिइन्छ भने युरोप–अमेरिकामा सेतो रङको वस्तुलाई
त्यस्तो ठानिन्छ ।

नेपालमा रातो रङको पहिरनलाई सौभाग्य र क्रान्तिको प्रतीकका रूपमा लिइन्छ भने सेतोलाई निरश वा आजभोलिको भाषामा अशुद्ध । वास्तवमा रङ सेतो होस् वा रातो दुवै क्रान्ति र सङ्घर्षका प्रतीक हुन् । युरोप होस् वा नेपाल दुवैतिर रातो र सेतो दुवैलाई सङ्घर्षकै रूपमा लिइन्छ । सामाजिक व्यवहारमा नेपालजस्ता मुलुकमा भने सेतो रङको वस्त्रलाई अर्कै रूपमा व्याख्या गरिन्छ । यसको गहिराइमा जाने हो भने सेतो रङको वस्त्र अति पवित्र मानिन्छ । आशौचमा बसेका बेला पहिरिने सेतो रङले शुद्ध र पवित्र छ भन्ने अर्थ लगाउँछ ।

त्यसैले त युरोप–अमेरिकातिरका महिला राजनीतिकर्मी सेतो वस्त्रलाई पवित्रता र शुद्धताको प्रतीक मान्दै पवित्र र शुद्ध भए मात्र पुरुषले भन्दा बढी सम्मान पाइन्छ भन्ने मान्यतामा विश्वास गर्छन् । उनीहरू आफ्नो उपस्थिति जनाउन सेतो वस्त्र लगाउँछन् । एक सय वर्षभन्दा पनि अघि बेलायतबाट सेतो वस्त्रको आन्दोलन सुरु भएको थियो । बेलायतबाट सुरु भएको सेतो वस्त्रको आन्दोलन युरोप हुँदै अमेरिकासम्म पुगेको थियो । आज पनि अमेरिकी राजनीतिमा महिलाले विशेष समारोहमा सेतो वस्त्र लगाएर उपस्थित हुने गर्दछन् । यसको एउटै कारण हो त्यो बेलाको सङ्घर्षलाई स्मरण गर्नु अनि शुद्ध भएको प्रमाण दिनु ।

सेतो पहिरनले महिला अधिकारको आन्दोलनको प्रतिनिधित्व गर्दछ, जुन एक शताब्दीपूर्व बेलायतबाट सुरु भएको थियो । अहिले अमेरिकी राजनीतिमा यसको महìवलाई अरू प्राथमिकता दिन थालिएको छ । सन् १९०० को दशकको सुरुवातमा बेलायतमा “ह्वाइट विमन सोसल एण्ड पोलिटिकल युनियन” का रूपमा स्थापित भएको संस्थाले चलाएको महिला मताधिकार आन्दोलनमा सेतो वस्त्र चुनिएको थियो । यसपछि सिङ्गो बेलायतभर प्रदर्शन भएको थियो । हरियो र बैजनी सानोतिनो कार्यक्रमका लागि थियो भने ठूलो सभाका लागि सेतो पहिरनलाई प्राथमिकता दिइएको थियो । त्यसपछि १९०८ को प्रदर्शनमा सहभागीलाई मद्दत गर्न लन्डनको हाइडल पार्कमा एक संयुक्त मोर्चा तयार गरियो । संयुक्त राज्य अमेरिकामा पनि सेतो, बैजी र स्वर्ण रङलाई राष्ट्रिय महिला पार्टीको आधिकारिक रङ बनाइयो ।

लन्डनमा सन् १९०८ को प्रदर्शनपछि हजारौँ सहभागीलाई आकर्षित ग-यो । सेतोलाई शुद्धताको प्रतीकका रूपमा लिइयो । मताधिकारका लागि लड्ने कैयौँ महिला उनीहरूले आफूलाई शुद्ध स्त्रीका रूपमा प्रस्तुत गर्ने हो भने पुरुषको तुलनामा बढी सम्मान मिल्नेछ भन्नेमा निर्धक्क देखिए । यसपछि अमेरिकी महिला कार्यकर्ताले पनि सेतो पहिरन लगाएर महिला अधिकारका लागि सङ्घर्ष गरे । पछिल्लो कैयौँ वर्षमा अनगिन्ती उल्लेखनीय महिलाले सेतो वस्त्र लगाएका छन्, जो मताधिकार आन्दोलन र महिला अधिकार आन्दोलनका रूपमा रहेको छ । यो क्रम अहिले पनि जारी छ ।

१९८४ मा डेमोक्र्याटिक नेसनल कन्भेसनमा उपाध्यक्षका लागि मनोनित गेराल्ड फेरारोले मनोनयन स्वीकार गर्न सेतो वस्त्र लगाएकी थिइन् । उनी त्यतिबेला उपराष्ट्रपति पदको उम्मेदवार बन्ने महिला थिइन् ।
त्यस्तै हिलारी क्लिन्टनले २०१६ मा राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीले मनोनयन गर्दा विशेष रूपले सेतो वस्त्र लगाएकी थिइन् । क्लिन्टन अमेरिकी इतिहासमै महिलालाई राष्ट्रपतिको उम्मेदवारमा मनोनित गरिएको पहिलो महिला थिइन् । त्यो वर्ष चुनावका दिन कैयौँ अमेरिकी महिलाले सेतो वस्त्र लगाएका थिए ।

महिलाले राजनीतिक कार्यक्रममा यसरी सेतो पहिरन लगाएर उपस्थिति हुनु शताब्दीपूर्वको राजनीतिक सङ्घर्ष, शुद्धता र पवित्रताको सङ्केत गर्दै आफ्ना अधिकारप्रति अहिले पनि सचेत रहेको र सङ्घर्ष जारी राख्नुपर्ने आवश्यकता बोध गरेको मानिन्छ ।
मानिसको जीवनमा रातो र सेतो रङ सबैभन्दा बढी प्रभावशाली छ र यी दुवैको अर्थ र यी रङले पार्ने प्रभाव फरक छ । खासमा सेतो शान्ति र रातो क्रान्तिको प्रतीक हो । क्रान्ति हरपल आवश्यक पर्दैन । क्रान्तिपछि शान्ति नै चाहिन्छ । त्यसैले सेतो वस्त्रधारीलाई अशुभको प्रतीक मानेर दुत्कार्ने होइन कि ऊ शान्तिको प्रतीक हो भनेर सम्मान गर्नुपर्छ ।

क्रान्ति, आन्दोलन वा परिवर्तनका नाममा रङहरूको प्रयोग (दुरुपयोग) अनि यसको अपव्याख्या गर्दै यसको विश्वव्यापी इतिहासलाई कुरूप पार्ने काम कसैबाट पनि हुनुहुँदैन । वस्त्रधारणको आफ्नै विशेष अर्थ रहने मात्र हैन यो व्यक्तिको स्वतन्त्रता पनि भएकाले यसलाई लिएर अनेक तर्क–कुतर्क गर्नुको पनि कुनै अर्थ रहँदैन । वस्त्रहरूको रङले मानिसको व्यक्तित्वमा पनि निखार ल्याउँछ । मानिसको व्यक्तित्व सुहाउँदो रङको वस्त्रले उसमा थप ऊर्जा पनि उत्पन्न गराउँछ । खासमा महिला अधिकारका लागि क्रान्ति र त्यसपछि शान्ति नै महìवपूर्ण पाटो हो ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?