धर्मेन्द्र झा
नेपालको राजनीतिक इतिहास अध्ययन गर्ने हो भने राष्ट्रियताको विषय बेलाबखतमा पेचिलो रूपमा प्रस्तुत हुने गरेको छ । कतिपय सन्दर्भमा यो विषय नेपाली राजनीतिको मियो पनि बन्ने गरेको छ । इतिहास हेर्ने हो भने सरकारहरूले आफूअनुकूल राष्ट्रियतालाई अथ्र्याउने गरेका छन् । राष्ट्रियताकै बहसका आधारमा सरकार बन्ने र भत्कने कार्य हुँदै आएको छ । यो दृष्टान्तका लागि धेरै पर गइरहनु आवश्यक छैन, विगतको केपी शर्मा ओली सरकार गठन हुनुमा यही मुद्दा प्रमुख रूपमा उपस्थित भएको थियो । कतिपय अवस्थामा त राष्ट्रियता र उग्र राष्ट्रियताबीचको भेद बिर्सेर पनि राजनीतिक दलहरू तत्कालको तुष्टीकरणका लागि प्रस्तुत हुने गरेको पाइएको छ । निश्चय पनि यो गलत हो । पछिल्लो उदाहरण बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का सन्दर्भमा प्रस्तुत गर्न सकिन्छ । नेपाल र संयुक्त राज्य अमेरिकाबीच मूलतः विद्युत् प्रसारण लाइन निर्माणको उद्देश्यले भएको एमसीसी सम्झौतालाई अघिल्लो साता संसद्बाट अनुमोदन गरियो । अनुमोदन हुनुअघि यो विषयले नेपाली राजनीतिलाई गिजोल्नसम्म गिजोल्यो । यसै नाममा समाजलाई दुई भागमा विभाजित गर्ने प्रयत्न गरियो । आश्चर्य छ, एमसीसीका नाममा नेपाली राजनीति र समाजलाई प्रभावित गर्ने प्रयासका रूपमा हतियार बनाइयो राष्ट्रियतालाई । सत्तामा रहेको एउटा पार्टी त एमसीसी र राष्ट्रियताकै नाममा फुटको सँघारमा पुगेको समेत आकलन गर्न थालिएको छ ।
नेपाली सन्दर्भमा राष्ट्रियता भनेको के हो र यसको परिभाषा कसरी गर्ने ? यसका लागि धेरै टाढा गइरहनु जरुरी छैन । नेपाली काँग्रेसका संस्थापक, पूर्वसभापति र पूर्वप्रधानमन्त्री बीपी कोइरालाका विचारलाई आत्मसात् गरे पुग्छ ।एक पटकको कुरा हो, कोइरालालाई पत्रकार भोला चटर्जीले एउटा अन्तर्वार्ताका क्रममा सोध्नुभएको थियो, ‘‘तपाईंलाई आफ्नो लोकप्रियताको कारण के हो जस्तो लाग्छ ?” बीपीले तत्काल जवाफ दिनुभएको थियो, ‘‘मैले राष्ट्रियताको चुरो समातेको छु, सायद त्यसैले होला ।’’ माथि चर्चा गरियो, नेपालमा बेलाबखत राष्ट्रियताको बहस हुने गर्छ । अहिले एक पटक पुनः राष्ट्रियताको नारा उछालिएको छ र एकथरिले सायद यसै आधारमा आफ्नो राजनीतिको रोटी सेक्ने योजना बनाएका छन् । प्रश्न पुनः उठ्छ, किन ? यसभित्रको अभीष्ट के हो ? थाहा छैन तर यसको उत्तर निश्चय पनि भविष्यले दिनेछ । अहिले जो जो एमसीसीका नाममा राष्ट्रियताको मुद्दा उछालिरहेका छन् तिनले पनि बीपीको विचारलाई आत्मसात् गर्नु वाञ्छनीय छ ।
एक फरक सन्दर्भमा बीपीले भन्नुभएको थियो ‘‘तराईको सिमानामा बस्ने नागरिक असली राष्ट्रवादी हुन्, उनीहरू खुला सिमानाको सास्ती भोगेर पनि यो देशको रक्षामा दिनरात खटिरहेका छन् ।’’ बीपीको यो विचारले धेरैलाई सोच्न बाध्य बनाउँछ ।कहिलेकाहीँ त के लाग्छ भने राजनीतिक नेताहरूले राष्ट्रियताको मुद्दा उठाएर जनतालाई मुर्ख बनाउन खोजिरहेका हुन्छन् । उनीहरू राष्ट्रियताको कुरालाई यसरी उठाउँछन् मानौँ यो एउटा विशुद्ध राजनीतिक हतियार हो । यथार्थमा राष्ट्रियता के हो त ? नेपालमा अहिलेसम्म उद्देश्यपूर्ण र सार्थक बहस भएकै छैन । निरङ्कुश पञ्चायती शासनभर त्यसबेलाका शासकले बीपीलाई भारतबाट निर्देशित देखाउन राज्यसत्ताको दुरुपयोग गरे । तिनीहरू बीपीलाई अराष्ट्रिय भन्नसम्म पनि पछि परेनन् । कम्युनिस्टहरू पनि यसैगरी प्रचारमा सक्रिय भए । बीपीको राष्ट्रियतासम्बन्धी दर्शनका सन्दर्भमा पञ्चायतकालभर दरबार र कम्युनिस्टको स्वर मिल्नुलाई निश्चय पनि संयोग मात्र मान्न सकिँदैन । त्यसैकारण पनि हुन सक्छ, बीपीले नेपालका कम्युनिस्टलाई कम्युनिस्ट नै मान्नुभएन । कतिपय दृष्टान्तमा त उहाँले कम्युनिस्टलाई दरबारका उत्पादन भनेरसमेत टिप्पणी गर्नुभएको स्मरणीय छ । पञ्चायतकालमा सत्ताले बीपीको राजनीतिक व्यक्तित्वलाई जहिल्यै घटाउने मनसाय राख्यो र उहाँलाई सधैँ एउटा साहित्यकारका रूपमा मात्र सीमित गर्ने प्रयास गरिरह्यो तर वास्तविकता सबैका सामु छर्लङ्ग छ ।
नेपाली राष्ट्रियताको व्याख्या बीपीले जसरी नेपालमा कसैले गर्न सकेका छैनन् । ०७ सालको जनक्रान्तिमा सिङ्गो नेपालको एउटा एजेन्डा बन्यो । बीपीका अनुसार राष्ट्रियताको जग त्यही हो । एउटा अन्तर्वार्तामा बीपीले भन्नुभएको छ, ‘‘हामीले ०७ सालको क्रान्तिमा जय नेपालको कल दियौँ महाकाली–मेचीबाट सबैले जय नेपाल भने, त्यो नेपालको सन्दर्भमा राष्ट्रवादको पहिलो कल थियो ।’’ यो उदाहरणबाट बुझ्न सकिन्छ कि राष्ट्रियता भौतिकभन्दा पनि भावनात्मक पक्ष हो । अझ स्पष्टसँग भन्ने हो भने देशभित्रका नागरिकको सामूहिक चासो र चिन्ता नै राष्ट्रियता हो । यस सन्दर्भमा बीपीको अर्को भनाइ पनि चर्चित छ, राष्ट्रियता भनेको जनताको सामूहिक भावना हो ।बीपीको विचारको विश्लेषणका आधारमा भन्नुपर्दा मेची दुख्दा काली रुनु र काली दुख्दा मेची रुनु नै राष्ट्रियता हो । देश वा राष्ट्र भनेको माटो र भूगोल होइन, त्यो यथार्थमा जनता तथा जनताको भावना र विश्वास हो । बीपी राष्ट्रियता र जनताबीचको सम्बन्धमा प्रष्ट हुनुहुन्थ्यो । उहाँका अनुसार राष्ट्रियताको सन्दर्भमा पहिलो र अन्तिम निर्णय गर्ने तìव भनेको जनता हो । राष्ट्रियता जनताको सामूहिक मनोभावनालाई लक्षित गर्ने शब्द हो ।
निश्चय पनि देशको नक्सा र झन्डा मात्र राष्ट्रियता होइन । राष्ट्रियता भूगोल र भूमि मात्र पनि होइन । राष्ट्रियता शब्दको प्रयोग भूगोलसँग जोडेर मात्र गरिनु राष्ट्रियताबारेको अपूर्ण बुझाइ हो । राष्ट्रियताको आन्दोलन विदेशीका विरुद्धको लडाइँ हो भनेर पनि प्रचार गर्ने गरिएको पाइन्छ । पछिल्लो समयमा एमसीसीलाई केहीबाट यसै रूपमा बुझाउने प्रयत्न गरियो, जो निश्चय पनि अधुरो बुझाइ थियो । राष्ट्रियताको आन्दोलन त जनताका सामूहिक चाहनालाई कुण्ठित गर्ने शासक वा तानाशाहविरुद्ध र जनताको चाहनालाई सम्बोधन गर्न नचाहने राज्यसंयन्त्रका विरुद्ध हुन्छ । नेपालमा अधिनायकवादी सोच राख्ने केहीले राष्ट्रियतलाई उग्रताको जामा पहि-याएर जनतालाई दिग्भ्रमित गरी आफूअनुकूल प्रयोग गर्ने रणनीति बनाउन चाहेको स्पष्ट छ । बीपीकाअनुसार राष्ट्रियता अधिनायकवादी शासनमा होइन प्रजातन्त्रमा सुदृढ हुन्छ । उहाँले एक ठाउँमा भन्नुभएको छ, ‘‘प्रजातन्त्रको सफल सञ्चालनबाट राष्ट्रियताको भावना पनि सुदृढ हँुदै जान्छ ।’’
राष्ट्रियताको यो व्यापक अर्थ नबुझ्दा र त्यसलाई सीमित दायरामा बुझ्दा त्यसबाट धूर्त तानाशाह वा राजनीतिज्ञले आफ्नो स्वार्थसिद्ध गरेको विश्व इतिहासमा अनेकौँ उदाहरण पाउन सकिन्छ । विश्वका नामुद तानाशाह हिटलरदेखि नेपाली राजामहाराजाको इतिहास हेर्ने हो भने उनीहरूले राष्ट्रियताको नारा दिएर आफूले शक्ति हासिल गरेका छन् र त्यस्ता शासक भएको ठाउँका जनता कमजोर भएका छन् । यथार्थ त के हो भने राष्ट्रियताले जनता कमजोर हँुदैनन् । जनताको सबलता नै बलियो राष्ट्रियताको आधार हो । राष्ट्रियताको लक्ष्य शक्तिशाली जनता हो । योे भन्न कुनै सङ्कोच मानिरहनु जरुरी छैन कि राष्ट्रियताका सम्बन्धमा स्पष्ट धारणा भएका कारण बीपी सगरमाथा नेपालको हो भन्ने कुरा प्रमाणित र स्थापित गर्न सक्षम हुनुभयो । त्यस्तै, बीपी भारतलाई पनि नेपालको सन्दर्भमा सच्चिन दबाब दिन सफल भएको इतिहास साक्षी छ ।
देशमा आफ्नो प्रभुत्व स्थापित गर्न विदेशीसँग झुक्ने, एउटासँग नजिकिने कार्यले राष्ट्रियता सुदृढ हुँदैन । उत्पन्न समस्या समाधानका लागि छिमेकीसँग आँखामा आँखा जुधाएर आफ्नो ‘स्ट्याण्ड’ राख्न सक्ने नेतृत्व भएमा मात्र स्वाधीनता र अखण्डता सबल भई राष्ट्रियता बलियो हुनेछ ।
नेपाली राजनीतिक इतिहासको निष्पक्ष मूल्याङ्कनको प्रयत्न गर्ने हो भने, नेपाली राष्ट्रियताको आन्दोलनको नेतृत्व निःसन्देह बीपीले गर्नुभएको कुरा स्वीकार गर्नुपर्छ । बीपीको निधनपछि वक्तव्य निकाल्दै तत्कालीन राजा वीरेन्द्रले भनेको कुरा यहाँ स्मरणीय छ, ‘‘बीपीबाट हरेक नेपालीले राष्ट्रियताको पाठ सिक्न सक्छ ।” राजाको त्यो भनाइमाथि तत्काल प्रतिक्रिया दिँदै कृष्णप्रसाद भट्टराईले भन्नुभएको थियो, ‘‘हामीले त बीपीबाट राष्ट्रियता सिकिसकेका छौँ, अब महाराजले सिक्न आवश्यक छ ।’’