logo
२०८१ मंसिर ८ शनिवार



डेढ महीनापछि यातायात सञ्चालनमा   

प्रदेश |





भोजपुर, भदौ २ गते ।  बस व्यवसायीको सक्रियतामा भोजपुर सदरमुकामबाट टक्सार, गुम्बा हुँदै दक्षिणी क्षेत्रका तीन वटा स्थानीय तह जोड्ने मुख्य सडक लामो समयपछि सञ्चालनमा आएको छ ।    
    
सडक मर्मतमा भोजपुर नगरपालिकाले चासो नदिएपछि व्यवसायीले सडक मर्मत गरेर बन्द भएको करीब डेढ महीनापछि सञ्चालनमा ल्याएका हुन् । स्थानीयवासीको दैनिक जनजीवनसँग जोडिएको सडक मर्मतमा व्यवसायी आफैँ जुटेका हुन् ।    
    
उनीहरूले गत असार महीनाको वर्षाले बिगारेको सडक आफ्नै पहलमा निर्माण गरेर शनिबारबाट यातायात सञ्चालनमा ल्याएका छन् । नगरपालिकासमक्ष सडक मर्मतका लागि पटक–पटक अनुरोध गर्दा पनि चासो नदिएपछि करीब १२ किलोमिटर सडक आफैँले डोजर लगाएर मर्मत गरेको तत्कालीन संयुक्त बस व्यवसायी सङ्घका अध्यक्ष गोपाल मोक्तानले बताउनुभयो ।    
    
 उहाँले भन्नुभयो, “सरोकारवाला पक्षलाई धेरै पटक अनुनयविनय गर्दा पनि चासो नदिएपछि हामी आफैँ मर्मतमा जुटेका हौँ ।” धेरैपटकको अनुरोधपछि काम थालेको नगरपालिकाले बीचैमा काम छाडेपछि व्यवसायी आफैँले सडक मर्मत गरेका हुन् । नगरपालिकाले तीन दिन लगाएर सडक बजेट सक्न देखावटीरूपमा करीब ५० मिटर मात्र मर्मत गरेको व्यवसायीको आरोप छ ।    
    
 आफूहरूले भने करीब दुई दिन लगाएर १२ किलोमिटर सडक मर्मत गरेको व्यवसायीको भनाइ छ । “हामीले दुई दिनमा १२ किलोमिटर सडक मर्मत गरेर यातायात सञ्चालन ल्याएका छौँ, तर नगरपालिकाले तीन दिनमा करीब ५० मिटर सडक खनेको छ । यसले नगरपालिका काम गर्न भन्दा पनि बजेट सक्न लागेको देखिन्छ”, मोक्तानले भन्नुभयो ।    
    
नगरपालिकाले गर्नुपर्ने काममा जनताको सेवालाई ध्यानमा राख्दै व्यवसायी नै अग्रसर भएपछि स्थानीयवासीले पनि सडक मर्मतमा साथ दिएका छन् । तर यस्तो काममा नगरपालिकाले चासो नदिएकोमा भने उनीहरु आक्रोसित बनेका छन् । स्थानीयवासी शिव कार्कीले भन्नुभयो, “बाटो अवरोध भएको एक महीना भएको थियो तर खुलाउन सरोकारवाला पक्षको ध्यान गएन, गर्भवती, बिरामी तथा अशक्त नागरिकलाई डोको तथा स्ट्रेचरमा बोकेर ल्याइरहेको अवस्था छ, खोइ यसतर्फ जनप्रतिनिधिको ध्यान गएको ?”    
    
सदरमुकामबाट दक्षिणका तीन गाउँपालिकासँग जोड्ने यो मुख्य सडक हो । पिखुवा खोलापारिको सडक त्यहाँका स्थानीय तहले यसअघि नै मर्मत गरेको भए पनि नगरपालिका क्षेत्रको सडक भने बन्द रहेको थियो । सो सडकमा नियमित यातायात सञ्चालनमा आएसँगै स्थानीय खुशी भएका छन् । (रासस)     

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?