logo
२०८० चैत्र ६ मंगलवार

  नयाँ वर्ष २०७९ सालको शुभकामना  



कुनै पनि बहानामा चुनाव रोकिनु हुँदैन : अध्यक्ष ओली

राष्ट्रिय |
राजनीति |


कुनै पनि बहानामा चुनाव रोकिनु हुँदैन : अध्यक्ष ओली
फाइल तस्विर


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख १ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७९ को अवसरमा देश विदेशमा रहनुभएका नेपालीलाई शुभकामना व्यक्त गर्नुभएको छ । नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै अध्यक्ष ओलीले नयाँ वर्षको १ गतेलाई नेपालीहरुले मौलिक परम्पराअनुसार मनाउँदै आएको स्मरण गर्नुभएको छ । अध्यक्ष ओलीले कुनै पनि बहानामा चुनाव रोक्नु लोकतन्त्र विरोधी काम हुने बताउनुभएको छ ।

“नयाँ वर्ष २०७९ को यस सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुको सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु” शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

राजनीतिक स्थिरताको दृष्टिकोणले २०७८ साल सुखद नरहेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभएको छ, “गतवर्ष राजनीतिक स्थिरताको दृष्टिकोणबाट सुखद रहेन । केही वर्षदेखि शुरु भएको हाम्रो विकास र समृद्धितर्फको यात्रामा गम्भीर अवरोध उत्पन्न हुन पुग्यो ।” यतिखेर मुलुक आर्थिक सङ्कटउन्मुख रहेको बताउनुहुँदै पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले आफू नेतृत्वको यसअघिको सरकारले दुरुस्त छाडेको अर्थतन्त्र अहिले भत्किएको आरोप लगाउनुभएको छ ।

यो वर्ष निर्वाचनको वर्ष भएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभएको छ, “हामीले आसन्न निर्वाचनमा कुनै कृत्रिम एजेण्डाको बैशाखी टेकिरहनु पर्दैन । विगतमा गरेका जनपक्षीय कामका विवरण हाम्रो योग्यता र क्षमताका उदाहरण हुन् ।” उहाँले ताजा जनादेश लोकतान्त्रिक विधिद्वारा सामाजिक सुव्यवस्था र विकासका लागि जनमतसंग्रह सावित हुने दाबी पनि गर्नुभएको छ ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?