logo
२०८० चैत्र ६ मंगलवार



निर्वाचनमा सहभागी हुन उपराष्ट्रपति पुनको अपील

राजनीति |


निर्वाचनमा सहभागी हुन उपराष्ट्रपति पुनको अपील
फाइल तस्बिर


काठमाडौं, वैशाख १ गते। उपराष्ट्रपति नन्दबहादुर पुनले वैशाख ३० गते निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन नयाँ वर्षले प्रेरणा दिने अपेक्षासहित निर्वाचनमा सहभागी हुन सम्पूर्ण नेपालीलाई अपील गर्नुभएको छ। उपराष्ट्रपति पुनले नयाँ वर्षका अवसरमा दिनुभएको शुभकामना सन्देशमा नयाँ वर्षमा संविधानको पूर्ण पालना, राजनीतिक स्थायित्व कायम तथा शान्ति प्रक्रियाका बाँकी काम पूरा हुने विश्वास पनि व्यक्त गर्नुभएको छ।

नयाँ वर्षका अवसरमा उपराष्ट्रपति पुनले दिनुभएको शुभकामना सन्देशको पूर्ण विवरणः
नयाँ वर्ष विक्रम् संवत् २०७९ शुभारम्भ भएको छ। नयाँ वर्ष शुभारम्भको सुखद अवसरमा देश–विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, सु–स्वास्थ्य, उत्तरोत्तर प्रगति एवम् राष्ट्रको निरन्तर समुन्नती र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।

नयाँ वर्ष विगत दुईवर्षका भन्दा सुखद रुपमा आइपुगेको छ। २०७७ को नयाँ वर्ष विश्वव्यापी महामारी कोरोना भाइरस (कोडिभ–१९) रोकथाम नियन्त्रण तथा नियन्त्रणका लागि जारी बन्दाबन्दीको अवस्थामा मनाएका थियौँ। २०७८ को नयाँ वर्ष मनाउँदै गर्दा कोरोना भाइरस देशमा तीव्र रुपमा फैलिरहेको थियो। हामीले यस वर्षको नयाँ वर्ष मनाउँदै गर्दा कोरोना भाइरसको महामारी नियन्त्रणमा छ। र, देशको सम्पूर्ण अवस्था सामान्य छ। म विगत दुई वर्षका नयाँ वर्षलाई भुल्दै यस वर्षको नयाँ वर्ष हर्षोल्लासका साथ मनाउन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई अपील गर्दछु।

२०७८ को वर्ष सन्तोषजनक मान्न सकिन्छ। उत्साहजनक रहन सकेन। वर्षको प्रारम्भका दिनमा राजनीतिक अस्थिरताका घटना भए। तर, देश राजनीतिक स्थायित्व रहने गरी लयमा फर्कियो। विश्वव्यापी महामारी कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लिइएका नियम र विश्व परिवेशका कारण देशको अर्थतन्त्र सुधार हुन सकेन। खेलकुद क्षेत्रमा केहीं महत्वपूर्ण उपाधीसहितको उपलब्धि हासिल भयो, तर टि–२० विश्वकपमा छनौटको सपना पूरा हुन सकेन।

२०७९ लाई स्वागत गर्दै गर्दा भने हामी उत्साहित हुनुपर्ने अवस्थामा आइपुगेका छौँ। कोरोना भाइरस महामारी पूर्ण नियन्त्रणमा छ। सबै क्षेत्र खुल्ला छ। जनजीवन सामान्य छ। अर्थतन्त्रका सबै क्षेत्र चलायमान भइसकेकाले चुनौतीपूर्ण अवस्थामा रहेको हाम्रो अर्थतन्त्रमा सुधार आउने विश्वास सृजना भएको छ। खेलकुद क्षेत्रले नयाँ आशा जगाइरहेको छ।
विक्रम् संवत् २०७९ लाई हामीले निर्वाचन वर्षको रुपमा स्वागत गरेका छौँ। स्थानीय तहको निर्वाचन यहीं वैशाख ३० गते एकसाथ सम्पन्न हुँदैछ। यसैवर्षको मध्यतिर प्रतिनिसभा र प्रदेशसभाको निर्वाचन गर्नुपर्ने हाम्रो संवैधानिक व्यवस्था छ। अन्य केही महत्वपूर्ण निर्वाचन पनि यसै वर्ष हुनेछन्। म संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाभित्रको महत्वपूर्ण तथा जनताले प्रत्यक्ष मतदान गरेर चुन्ने स्थानीय सरकार गठनका लागि वैशाख ३० गते हुने निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन नयाँ वर्षले प्रेरणा दिने अपेक्षासहित निर्वाचनमा सहभागी हुन सम्पूर्ण नेपालीलाई अपील गर्दछु।

राष्ट्रको प्राथमिकता संविधानको पूर्ण कार्यान्वयन, राजनीतिक स्थायित्व, स्थायी शान्ति, दिगो विकास तथा प्रत्येक नेपाली जनताको आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माण हो। नयाँ वर्ष–२०७९ ले संविधानको पूर्ण पालना, राजनीतिक स्थायित्व कायम तथा शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्दै समृद्ध नेपाल निर्माणमा एकाकार भएर लाग्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु। साथै, मलाई तथा यस कार्यालयमा नयाँ वर्षको शुभकामना सन्देश पठाउनु हुने सबै संघ, संस्था तथा महानुभावहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।
धन्यवाद।
१ वैशाख २०७९

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?