logo
२०८० चैत्र ६ मंगलवार



नयाँ बजेटको प्राथमिकतामा खेलकुद

खेलकुद |


नयाँ बजेटको प्राथमिकतामा खेलकुद


काठमाडौँ, चैत ३० गते । आगामी आर्थिक बर्ष ०७९–८० का लागि नीति कार्यक्रम र बजेट निर्माणका लागि सुझाव लिन अर्थ मन्त्रालयले खेलकुद क्षेत्रका विभिन्न संघसंस्था, प्रशिक्षक र खेलाडीसँग छलफल गरेको छ ।
बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले खेलकुद क्षेत्रलाई नयाँ ढङ्गले अगाडी बढाउनका लागि सुझाव लिएको बताउनुभयो । ‘सबैले राम्रो सुझाव दिनुभएको छ । यी सबै बिषय समेट्ने मन छ तर साधन, स्रोतले नभ्याउला की भन्ने लाग्छ’ उहाँले भन्नुभयो, ‘यदपी, खेलकुद क्षेत्रले खुसी मनाउने गरी केही नयाँ कार्यक्रम ल्याउने गृहकार्य भइरहेको छ ।’

उहाँले खेलकुद क्षेत्रको पूर्वाधार निर्माणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । छिटो प्रतिफल दिने (पुरस्कार जित्ने संभावना उच्च भएका खेलहरुका लागि ) पूर्वाधार निर्माणका योजना बनाएर अगाडी बढाउनुपर्ने बताउनुभयो । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २२ देखि २८ गतेसम्म आयोजना गर्ने निर्णय गरेको र सो प्रतियोगिता भव्य रुपमा आयोजना गर्न बजेटको कुनै समस्या हुन नदिने प्रतिबद्धता जनाउनुभयो । उहाँले नयाँ खेलाडी उत्पादन गर्नेतर्फ कार्यक्रम र बजेटले ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

‘मुलुकमा एउटा खेलकुद विश्वविद्यालय छैन । यसको जरुरी परेको देख्छु’ उहाँले भन्नुभयो, ‘यो भयो भने खेलकुद सम्बन्धी नीति निर्माण गर्न, अध्ययन गर्न, नयाँ खेलाडी जन्माउन सहयोग पुग्छ ।’ उहाँले व्यवसायीक भइसकेका फुटबल, क्रिकेट जस्ता खेलहरुको पनि पूर्वाधार अभावले थप व्यवसायीकरण गर्न नसकिएको बताउनुभयो ।

‘राष्ट्रको गौरब र पहिचान निर्माण गर्ने क्षेत्रका रुपमा खेलुकदलाई सरकारले सधैं प्राथमिकतामा राखेको छ । खेलले देश–विदेशमा रहेका नेपालीलाई एकताबद्ध गरेको हुन्छ’ उहाँले भन्नुभयो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले एउटै खेलका लागि पूर्वाधार निर्माणमा ठूलो लगानी गर्न सक्ने अवस्थामा नरहेको जानकारी दिदै धेरै खेलहरु खेलाउन सकिने रंगशाला वा कभर्ड हल निर्माण सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन सबैले मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा राखेपका पूर्व सदस्य सचिव जीवनराम श्रेष्ठले सरकारले खेलकुदलाई अनुत्पादक क्षेत्रको रुपमा हेर्ने गरेको भन्दै खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताउनुभयो । खेलकुद क्षेत्रलाई सक्षम बनाउने गरी बजेट बिनियोजन हुनुपर्ने उहाँको सुझाव थियो ।

पूर्व खेलाडी दीपक श्रेष्ठले राष्ट्रिय खेलकुद प्रतियोगिता र एसियन गेम्स नजिकै आइसकेकाले तयारी गर्नुपर्ने र यस्ता प्रतियोगिताका लागि राम्रो बजेट राख्नुपर्ने सुझाव दिनुभयो । उहाँले बजेट निर्माणका सन्दर्भमा पहिलो पटक खेलकुद क्षेत्रका प्रतिनिधि बोलाएर सुझाव लिएको भन्दै अर्थ मन्त्रालयलाई धन्यवाद दिनुभयो । खेलाडीलाई बर्गीकरण गरी सेवा, सुविधा दिनुपर्ने, नयाँ खेलाडी उत्पादन गर्न हाल भइरहेका खेलाडीलाई खेल क्षेत्रबाटै राम्रो आम्दानी दिन सक्नुपर्ने, खेलाडीको अक्षय कोषमा ठूलो रकम राखिदिनुपर्नेलगायतका सुझाव दिनुभएको थियो ।

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले खेलकुदलाई ब्राण्डिङ गर्नुपर्ने, सातै प्रदेशमा ठूला पूर्वाधार बनाउनुपर्ने, स्थानीय–प्रदेश र संघले राष्ट्रिय खेलकुद प्रतियोगिताको पिरामिड बनाएर काम गर्नुपर्नेलगायतका सुझाव दिनुभएको थियो । पूर्व क्रिकेटर बिनोद दासले खेलकुदको बजेटलाई लगानीका रुपमा हेर्नुपर्ने बताउनुभयो । उहाँले स्वदेशमै प्रशिक्षक र प्राविधिक उत्पादनका कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा उपस्थित नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान सन्दिप लामिछानेले क्रिकेटका लागि कम्तीमा दुई ठूला रंगशाला हुनुपर्ने बताउनुभयो । ‘अन्तर्राष्ट्रिय मापदण्डको कम्तीमा दुई ठूला रंगशाला भयो भने अन्य देशलाई नेपालमा ल्याएर प्रतियोगिता गरी ठूलो लाभ लिन सक्छौं’ उहाँले भन्नुभयो । सबै क्षेत्रका खेलाडीलाई प्रोत्साहन भत्ताको व्यवस्था हुनुपर्ने उहाँको सुझाव थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?