logo
२०८० चैत्र १५ बिहीवार



नदी कटानले सडक भासियो

प्रदेश |


नदी कटानले सडक भासियो


चित्र मिजार

सिन्धुपाल्चोक, भदौ ४ गते । अरनिको राजमार्गका विभिन्न खण्डका सडक साना ठूला नदीका कारण भासिएका छन् । भारी वर्षाका कारण नदीमा सडक भासिएका हुन् । बर्सेनि भोटेकोसीको बाढीले बाह्रबिसे नजिक रहेको महभीर सडक खण्ड भासिने गरेको छ । वर्षैपिच्छे सरकारले सो सडक खण्ड सुधारका लागि करोडौँ रुपियाँ बजेट परिचालन गरेको भए पनि वर्षाको बाढीले सडक तानेर जीर्ण बनाउने गरेको छ । हिउँदभरि सो सडकमा बिना अवरोध यातयातका साधन चल्ने गर्छन् तर वर्षा लाग्ने बित्तिकै सडकको अवस्था जीर्ण हुने गरेको छ ।
सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकको सिमाना ५४ किलोस्थित अरनिको सडक खण्ड नदीले भत्काएर जीर्ण बनाएको छ । सो सडक खण्डमा दैनिक एक हजारभन्दा बढी ठूलासाना सवारी साधन आवतजावत गर्छन् । अत्यन्तै जोखिममा सवारी साधन चल्ने गरेका व्यवसायीले बताएका छन् ।
बाह्रबिसेबाट तातोपानीका विभिन्न सडक खण्ड यो वर्ष पनि भोटेकोसी नदीले तानेको छ । चिनियाँ सरकारको सहयोगमा बनाइएको बसेरी लिपिङ सडक खण्डका सडक फेरि भोटेकोसी नदीले भत्काएको छ । जम्बु, शिरिसे, दसकिलो तातोपानी सडक खण्डका सडक भोटेकोसीको कटानले भासिएका छन् । झ्याले भीरको सडक पनि भोटेकोसीले कटान गरेको छ ।
जुगल गाउँपालिकाको जलवीरे क्षेत्रमा पर्ने ब्रह्मायणी नदी र बोक्से खोलाका कटानले सडक, मोटरेबल पुल र बस्तीलाई उच्च जोखिममा पारेको छ । नदीले सडक कटान गरेपछि जोखिम लिएर सवारी साधन चलाउनु परेको चालक मङ्गले तामाङले दुःखेसो गर्नुभयो ।
सडक कटानबारे सडक डिभिजन कार्यालय चरीकोटका प्रमुख धर्मेन्द्र झाले अरनिको राजमार्ग नरम चट्टानमा निर्माण भएकाले समस्या आएको बताउनुभयो । गत वर्षहरू भन्दा यो वर्षमा भारी वर्षा भएको कारण पानी सतह बढेर नदीले सडक कटान गरेको उहाँले बताउनुभयो ।
गाउँगाउँमा खनिएका स्थानीय बाटो र वन विनाशका कारण आउने पहिरो र बाढी भोटेकोसी र सुनकोसीमा मिसिने भएकोले नदीको सतह बढेर सडक कटान भइरहेको झाले जानकारी दिनुभयो । नदीले कटान गरेको सडक खण्ड निर्माण गरिने प्रमुख झाले बताउनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?