logo
२०८१ बैशाख १४ शुक्रवार



नगरपालिकालाई अस्पताल हस्तान्तरण

प्रदेश |


नगरपालिकालाई अस्पताल हस्तान्तरण


स्याङ्जा समाचारदाता

स्याङ्जा, भदौ ४ गते । समुदायको मातहतमा रहेको गल्याङ सामुदायिक अस्पताल गल्याङ नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
गल्याङ सामुदायिक स्वास्थ्य केन्द्रका अध्यक्ष लालगोपाल अर्यालले अस्पतालको साँचो गल्याङ नगरपालिकाका प्रमुख भूपराज अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो ।
स्वास्थ्य केन्द्रले अस्पताल चलाउन नसकेपछि नगरपालिकालाई हस्तान्तरण गरको हो । हस्तान्तरणसँगै अस्पतालको नाम गल्याङ नगर अस्पताल राखिएको हो ।
१४ रोपनी क्षेत्रफलमा रहेको अस्पताल भारत सरकारको पाँच करोडको लागानीमा मुख्य भवन, २ करोडको अस्पतालका सामग्री नेपाल सरकार र जग्गा ४० लाखमा बुटवल पावर कम्पनी र सहायक भवन नेपाल सरकारले ३६ लाखमा निर्माण गरेको थियो ।
अस्पतालमा एमबीबीस डाक्टरको २४सै घण्टा सेवा, एम्बुलेन्स, एक्सरे, भिडियो एक्सरे लगायतको सेवा प्रदान गर्दै आएको छ । गल्याङ नगरपालिका, कालीगण्डकी गाउँपालिका, चापाकोट नगरपालिकाका केही क्षेत्रका नागरिकले अस्पतालबाट सेवा सुविधा पाएका छन् ।
अस्पतालले सेवा दिए पनि प्रभावकारी सेवा पूर्ण रूपमा दिन नसकेको बताउँदै समाजसेवी केपी खनालले पूर्ण रूपमा सेवा दिन थालेपछि पाल्पा र पोखरा पुगेर सेवा लिने सयौँ बिरामीलाई राहत मिल्ने बताउनुभयो । अस्पतालले १५ शय्याका लागि अनुमति पाएको बताउँदै खनालले सरकारले थप जनशक्ति उपलब्ध गराउनुपर्ने बताउनुभयो । अस्पताल हस्तान्तरणमा संविधानसभा सदस्य मुक्तिप्रसाद पाठकले गल्याङ सामुदायिक अस्पतालले खेलेको भूमिकाको चर्चा गर्दै अब नगरपालिकाले यसको गुणस्तर बढाउन भूमिका खेल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भूपराज अधिकारीले गल्याङ नगर अस्पताललाई यस क्षेत्रकै नमुना अस्पताल बनाउने प्रतिबद्वता जनाउनुभयो । उहाँले नगरपालिकाले १५ शय्याको मात्र नभई आवश्यक मापदण्ड पूरा गरी थप शय्या निर्माण गरिने बताउनुभयो । उहाँले स्वास्थ्य बिमाको लाभ पनि यसै अस्पतालबाट लिन सकिने व्यवस्था मिलाइने बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रलाई संवेदनशील रूपमा बुझेको भन्दै यसको व्यवस्थापन गर्न कुनै कन्जुस्याङ नहुने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य पुण्य भुसालले नगरपालिकाले कृषि र अन्य क्षेत्रमा महìवपूर्ण काम गरिरहेको भन्दै अस्पताललाई व्यवस्थित बनाउन कुनै कसर बाँकी नराख्ने विश्वास व्यक्त गर्नुभयो । भौतिक संरचनाहरू निर्माण भए पनि गुणस्तर बढाउनका र प्रभावकारी बनाउन नगरपालिकालाई हस्तान्तरण गरिएको गल्याङ सामुदायिक अस्पतालका अध्यक्ष लालगोपाल अर्यालले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?