logo
२०८१ बैशाख २४ सोमवार



शान्तिसुरक्षा स्थापनामा प्रविधिको खाँचो

प्रदेश |


शान्तिसुरक्षा स्थापनामा प्रविधिको खाँचो


रमेश पौडेल

पोखरा, भदौ ४ गते । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शान्तिसुरक्षा स्थापनामा प्रविधिको प्रयोगसँगै जनशक्ति आवश्यक रहेको बताउनुभयो ।
महानिरीक्षक खनालले सङ्घीय प्रहरी इकाई कार्यालय पोखराको नवनिर्मित कार्यालय भवन उद्घाटन तथा व्यारेक भवन शिलान्यास गर्दै पोखरामा मङ्गलबार सो कुरा बताउनुभएको हो ।
उहाँले अपराध अनुसन्धान नियन्त्रणमा विश्वमा नेपाल प्रहरीको स्थान उच्च रहेको दाबीसमेत गर्नुभयो ।
महानिरीक्षक खनालले मुलुको शान्तिसुरक्षा सबल बनाउन अन्य स्टेकहोल्डरको जिम्मेवारी पनि आवश्यक हुने बताउनुभयो । उहाँले सबै नागरिक बिनाबर्दीका प्रहरी भएकाले बर्दी लगाएका प्रहरीलाई सहयोग गरी सामूहिक जिम्मेवारी लिन सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अगाडि ल्याएको स्पस्ट पार्नुभयो ।
पोखरा पर्यटकीय केन्द्र रहेको भन्दै उहाँले लेकसाइड चौबीसै घण्टा खुलाउन आवश्यक सुरक्षा व्यवस्था दिन प्रहरी सक्षम रहेको तर व्यवसायीले व्यासायिक मर्यादा अनुरूप व्यवसाय सञ्चालन गर्न आग्रह गर्नु भएको छ । पर्यटन क्षेत्र भन्दैमा जथाभावी व्यवसाय गर्ने छुट कसैलाई छैन, उहाँको भनाइ थियो ।
उहाँले चर्को आवाज दिने बुलेट मोटरसाइकल नियन्त्रण लिन तथा रातिको समयमा हुलहुज्जत गर्नेलाई तत्काल पक्राउ गर्न गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद शर्मा घिमिरेलाई निर्देशनसमेत दिनुभयो । उहाँले व्यवसायीलाई पनि पैसा मात्र कमाउने नहेरी मर्यादामा रहेर व्यवसाय गर्नुपर्ने सुझाव दिँदै ध्वनि प्रदूषण गर्ने डिस्को र पाटी प्यालेसहरूलाई अनुगमन गर्ने निर्देशन दिनुभयो ।
यसैगरी कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मनोहरप्रसाद खनाल, प्रदेश प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरे सङ्घीय संरचना अनुरूप प्रहरीले कार्य प्रारम्भ गरिसकेको बताउनुभयो ।
प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद अधिकारी, प्रहरी निरीक्षक चतुर्भुज बोहरा, पत्रकार महासङ्घ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पोखरा उद्योग वाणिज्य सङ्घ अध्यक्ष दामु अधिकारीलगायतले प्रहरीको भूमिकाको बारेमा बोल्नुभएको थियो ।
दुई करोड ७८ लाख ७० हजार रुपियाँ लागतमा १६ कोठा भएको साढे २ तले भवन निर्माण गरिएको हो । भवन ३ करोड २५ लाख लागतमा बन्ने अञ्चल प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?