logo
२०८१ बैशाख १५ शनिवार



काँक्रेविहार जाने सडक सबैभन्दा जीर्ण

प्रदेश |


काँक्रेविहार जाने सडक सबैभन्दा जीर्ण



ललित बसेल

सुर्खेत, भदौ ४ गते । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ मा रहेको प्रसिद्ध पुराताìिवक तथा ऐतिहासिक स्थल काँक्रेविहार जाने सडक जिल्लाकै सबैभन्दा बढी जीर्ण बनेको छ । वीरेन्द्रनगरको मङ्गलगढीदेखि तीन किलोमिटरको दूरीमा रहेको काँक्रेविहार पुग्नलाई सडकमा निकै सङ्घर्ष गर्नु पर्दछ ।
सडकैभरि असङ्ख्य खाल्डाखुल्डी र त्यसमा गुड्ने ३२ टनका दर्जनौं टिप्परले साना तथा पैदल यात्रुलाई डरलाग्दो यात्रा बनाउने गरेको छ । विगतमा कालोपत्रे गरिए पनि अहिले त्यो सबै उप्किएर ग्राभेलजस्तै भएको छ भने बीचबीचमा ठूलाठूला खाल्डाले वर्षायाममा पोखरी बन्ने गरेको छ । स्थानीयले सडक स्तरोन्नतिका लागि बारम्बार हारगुहार गरे पनि सडकको अवस्था उस्तै छ ।
काँक्रेविहार र शिव मन्दिरजस्ता प्रमुख पर्यटकीय क्षेत्र जाने सडकको दुरवस्था देखेपछि बाहिरी जिल्लाबाट आउने पर्यटकलगायत स्थानीयले प्रदेश राजधानीको यस्तो सडक भनेर खिसी गर्ने गरेको स्थानीय लोकजङ्ग रोकायले बताउनुभयो । मङ्गलगढीदेखि काँक्रेविहारसम्म सडक राम्रो भएमा गाडी मोटरबाट केवल पाँच मिनेटको समय लाग्ने उक्त सडक अहिले कम्तीमा २० मिनेट लाग्ने गरेको छ ।
काँक्रेविहार जाने सडक बिग्रनुमा टिप्परको मुख्य कारण रहेका छन् । लाटिकोइली नजिकै क्रसर उद्योग भएको र त्यहाँ आउने जाने गर्दा टिप्परले बाटो बिगारेको उहाँको भनाइ छ । गिट्टी, बालुवा बोकेर आधा दर्जन बढी टिप्पर दिनहुँ दर्जनौं पटक ओसार–पसार गर्ने गर्दछन् । बढी लोडका कारण उक्त सडक बिग्रिएको रोकायको भनाइ छ ।
केही समयअघि स्थानीयले टिप्परले सडक बिगारेको भन्दै विरोधसमेत जनाएका थिए । वडा कार्यालयले खाल्डाखुल्डीमा माटो हालेर पुर्ने सहमति जनाएपछि विरोध थामथुम भएको थियो । माटो हालेर पुरिए पनि वर्षाको पानीले पुनः उस्तै भएको रोकायले बताउनुभयो । बिग्रिएको सडकका कारण काँक्रेविहार हेर्न आउनेहरूको सङ्ख्या कम भएको उहाँको निष्कर्ष छ ।
वीरेन्द्रनगर नगरपालिकाले वर्षायाम सकिने वित्तिक्कै काँक्रेविहार जाने सडकको स्तरोन्नति गर्ने जनाएको छ । नगरप्रमुख देवकुमार सुवेदीले उक्त सडकका लागि ११ करोड बजेट विनियोजन भएको जानकारी दिँदै वर्षायाम सकिनासाथ स्तरोन्नतिको काम सुरु गरिने बताउनुभयो ।
वीरेन्द्रनगरका धेरैजसो सडक स्तरोन्नति गर्नुपर्ने देखिएको छ । नगरप्रमुख सुवेदी ठूला क्षमताका गाडीहरू गुड्दा सडकको आयु कमजोर भएको बताउनुहुन्छ । सुरुमा कालोपत्रे गर्ने बेला १६ टनको लोडरले पेल्ने तर अहिले २६ देखि ३२ टनका गाडी गुड्न थालेपछि कालोपत्रै सबै काम नलाग्ने भएको उहाँले जनाउनुभयो । सुरुको कालोपत्रे गर्ने बेलैमा सोही गुणस्तरको सामग्री राखेर रोलरले पेल्ने गर्नुपर्ने रहेछ, उहाँले भन्नुभयो ।
वीरेन्द्रनगरका सडक धेरै पहिले कालोपत्रे गरिएका हुन् । अहिले प्रदेशको राजधानी भएपछि गाडीहरूको आउजाउ बढेको, ठूला क्षमताका मालबाहक गाडी आउने र यही बाटो भएर प्रदेशका अन्य जिल्लामा जाने गर्नाले सडकको आयु छिटै कमजोर हुने गरेको नगर प्रमुख सुवेदीले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?