logo
२०८१ बैशाख १३ बिहीवार



पढ्ने उमेरका बालबालिका दाउरा खोज्दै

प्रदेश |


पढ्ने उमेरका बालबालिका दाउरा खोज्दै



सहदेव बस्नेत

खलङ्गा, भदौ ४ गते । जिल्लाकै दुर्गम गाउँपालिकाको रूपमा रहेको बारेकोट गाउँपालिकाका आर्थिक अवस्था कमजोर भएका दलित बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ । घरको आर्थिक अवस्था कमजोर भएकाले आवश्यक शैक्षिक सामग्री खरिद गर्न नसकेपछि उनीहरू विद्यालय शिक्षाबाट बाहिर भएका हुन् ।
जिल्लाको बारेकोट गाउँपालिका वडा नं. ६ की तारा नेपाली घरको आर्थिक अवस्था नाजुक भएको कारण विद्यालयको पहुँचबाट टाढा हुनुभएको हो । ताराले भन्नुभयो ‘मलाई पढ्न मन त छ तर घरको आर्थिक अवस्थाले विद्यालय जान पाएकी छैन ।
सोही वडाका निर्मला नेपाली पनि विद्यालय जानुभएको छैन । उहाँको पनि अवस्था उस्तै छ । जिल्लाको अति विकट मानिएको बारेकोट गाउँपालिकाका तारा र निर्मला उदाहरण मात्र हुन् । बारेकोटका सयभन्दा बढी दलित बालबालिका विद्यालयको पहँुचभन्दा बाहिर रहेको बारेकोट गाउँपालिकाका स्थानीय कालीबहादुर नेपालीले बताउनुभयो ।
बारेकोट गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष तिलक महतारा यस वडामा धेरै बालबालिका शिक्षाको पहुँचबाट बाहिर रहेको बताउनुहुन्छ । घरको आर्थिक अवस्था कमजोर हुनु र सानै उमेरमा आमाबाबुको निधन भएका यहाँका बालबालिका शिक्षाको पहुँचभन्दा बाहिर रहेको उहाँको भनाइ छ ।  बिहान नै उठेर विद्यालय जानुभन्दा पहिले यहाँका बालबालिका डाले घाँस लिन स्थानीय जङ्गल जाने गर्छन् । बालबालिकामा शिक्षाको विकास गर्न कुनै पनि सरकारी निकायले ध्यान दिएका छैनन् ।
शिक्षाको अभावले उनीहरू सानै उमेरमा बिहे गर्छन् र स्वास्थ्यमा समस्या देखिएका कारण उनीहरूको अकालमा मृत्यु हुने गरेको वडाध्यक्ष तिलक महताराले बताउनुभयो । विद्यालयमा पढ्ने बालबालिका कापी, कलम र अन्य अनिवार्य सामग्री किन्न नसकी पढाइबाट टाढा छन् ।
वडा ४ मैनाका जगत् कामीका छोराछोरी पनि विद्यालयको पहँुचभन्दा बाहिर रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘आफू दृष्टिविहीन भएकाले घरमा कमाएर बालबालिका पढाउने अवस्था छैन । सोही गाउँकी ५२ वर्षीय अनुरुपा विकका दुई छोराछोरी पनि आर्थिक अभावकै कारण विद्यालय जान पाएका छैनन् । कापी, कलम र आवश्यक सामग्री नहुँदा विद्यालय पठाउन नसकेको उहाँको भनाइ छ ।
बारेकोट गाउँपालिकाभित्र गरिबीको रेखा मुनिरहेका र गरिबीकै कारण पढ्न नपाएका विद्यार्थी धेरै रहेकाले उनीहरूको तथ्याङ्क सङ्कलन गरी गाउँपालिकाले पठनपाठनको व्यवस्था गराउने गाउँपालिकाका उपाध्यक्ष ओमा शाहीले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?