logo
२०८१ बैशाख ८ शनिवार



राजघाटवासीको पीडा बर्खा लागेपछिको त्रास

प्रदेश |


राजघाटवासीको पीडा बर्खा लागेपछिको त्रास



भवानी ऐर

कैलाली, भदौ ४ गते । बस्ती कञ्चनपुर जिल्लाको तर सेवा सुविधा सबै कैलाली जिल्लाको धनगढीबाट लिनुपर्ने बाध्यता । बस्ती र धनगढी बीचमा उर्लिंदो मोहना नदी । तराईमा प्रचण्ड गर्मी भएर पानी नपरे पनि पहाडी भूभागमा पानी पर्दा उर्लेर आउने मोहना नदीले तर्दातर्दै गर्दा कतिको ज्यान लिइसकेको छ । पानी परोस् कि नपरोस् बर्खे भेलको त्रास जहिले नि भइरहन्छ, कञ्चनपुरका राजधाटवासीलाई । साँझ–बिहानको कामकाजका लागि धनगढी पुग्न मोहना नदी तर्नै पर्ने बाध्यताले यहाँका बासिन्दालाई सधैँजसो तर्साइरहन्छ । हिउँदको समयमा काठेपुलबाट यात्रा गर्न सहज हुने भए पनि बर्खाका लागि सम्पर्क विहीन हुनुपर्ने कि त डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्नुको विकल्प छैन यहाँका बासिन्दालाई ।
प्रदेश राजधानी धनगढीसँगै जोडिएको मोहना नदीमा पुल नहुँदा कञ्चनपुरमा पर्ने राजघाटवासी सामान्य सेवा सुविधाबाटसमेत वञ्चित छन् । नदीमा पानीको बहाव बढेपछि डुङ्गासमेत नचल्ने भएकाले विद्यार्थी कयौँ दिन विद्यालय आउनबाटै वञ्चित हुन्छन् भने कहिले परीक्षा दिनबाट । साना बालबालिका डुङ्गाबाट जोखिमपूर्ण यात्रा गरेर विद्यालय आउने जाने गर्दा एकातिर अभिभावकहरू चिन्तित भइरहनुपर्ने अवस्था छ भने अर्काेतिर राजघाटको कृषि उत्पादनलाई बजारसम्म ल्याउन नपाउँदा किसान मर्कामा पर्ने गरेका छन् । मोहना नदीमा छ वर्षअघि पुल बनाउने ठेक्का सम्झौता गरिएको थियो ।
पुल निर्माण सम्पन्न गर्न तीन वर्षको समयावधि दिइएको ठेकेदारले पाँच वर्ष बित्दासमेत पुल निर्माण सम्पन्न गरेको छैन । वर्षात्का भेलमा तर्न नसक्दा कति दिन त साथीसँग धनगढीमै बस्नुपर्ने बाध्यता भएको विद्यार्थी यज्ञराज जोशीले दुःखेसो सुनाउनुभयो । धनगढी उपमहानगरसँग सिमाना जोडिएका राजघाट, रैकवार बिचुवाका बासिन्दाको पीरमर्कालाई कसैले नबुझेको रैकवार बिचुवाका अरुण चौधरीले बताउनुभयो ।
२०७१ साल असारमा सुरु गरिएको पुल निर्माण कार्य २०७४ असारसम्म कम्पनीले २० प्रतिशत पनि पुल निर्माणको काम गर्न नसकेपछि २०७५ असारसम्मका लागि थप एक वर्ष म्याद थपिएको थियो । दोस्रोपटक म्याद थप गरिएको समयसमेत सकिँदा कम्पनीले पुलको पिलर ठड्याउन नसकेपछि स्थानीय विरोध जनाउँदै आएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?