logo
२०८१ बैशाख १३ बिहीवार



रातभर सुत्दैनन् बेलारवासी

प्रदेश |


रातभर सुत्दैनन् बेलारवासी


चाँदनी आचार्य

लम्की, भदौ ४ गते । पहाडमा सडक खन्ने नाउँमा जथाभावी डोजर चल्न थालेपछि त्यसको प्रभाव तराईसम्म देखिन थालेको छ । पहाडमा जताततै पहिरो तथा बाढी आउन थालेपछि तराईमा डुबान र कटानको समस्या सिर्जना हुन थालेको छ । केही वर्षयता डुबान र कटानको मारमा कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १, बेलारको बस्ती कटान र डुबानको पीडा भोग्दै आएको छ ।
आकाशमा कालो बादल मडारिन नपाउँदै बस्तीमा नदी पस्ने र भएको खेतबारी कटान हुने चिन्तामा यहाँका बासिन्दा पीडित हुन थालेका छन् । सुन्दर बस्तीको रूपमा रहेका बेलार गाउँका १७ घरपरिवार बर्सेनि हुने नदी कटानले सुकुम्बासी बन्ने कुराले चिन्तित बनेका हुन् । यो बस्तीमा थोरै जग्गा हुने घरपरिवार बस्ने गरेका छन् । स्थानीय उजेलीदेवी धामीको घर अगाडिको आँगन र पानी खाने नल्का नदी कटानले लगिसकेको छ । अब त कुन दिन घर बगाउँछ भन्ने चिन्ता हुँदाहुँदै पनि अरू सुरक्षित ठाउँमा जाने विकल्प नहुँदा घर छाड्न नसकेको उहाँले बताउनुभयो ।
धामीले आफ्नो पीडा सबैलाई सुनाइसक्नुभएको छ तर उहाँको पीडामा मलमपट्टी लगाइदिने निकाय व्यक्ति अझै भेटिएको छैन । उहाँले आफ्नो पीडा सुनाउँदै भन्नुभयो, ‘मेयर, वडाध्यक्ष जो आए पनि हाम्रो कुराको सुनुवाइ हुँदैन । सोही गाउँका चक्रबहादुर धामीको पीडा पनि उस्तै छ । उहाँले भन्नुभयो, ‘‘पानी प¥यो भने हामी कोही पनि रातभर सुत्दैनौँ । केटाकेटी काखमा च्यापेर जाग्राम बस्छौँ । दिनभरि मजदुरी गरेर राति ओत लाग्ने घर पनि नदीले नराख्ने भयो ।’’
स्थानीय धनी कुडमालले नदी कटानले घर नै भत्किने सम्भावना भएपछि गतवर्ष तीन महिना नजिकै रहेको विद्यालयमा आश्रय लिएको व्यथा सुनाउनुभयो । कुडमालले भन्नुभयो, ‘‘भोट लिएर जितायौँ तर अहिले यो स्थानीय सरकार हामीजस्ता गरिब दुःखीको लागि भएन, बरु हुने खाने धनीमानीका लागि मात्र भएको छ । धनीका कुराको सुनुवाइ हुन्छ, गरिबले त भोट मात्र दिने रहेछ । पटकपटक आफूहरूले नदीमा तटबन्ध र नदी फर्काउन नगरपालिकासंँग माग राख्दा सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ । यद्यपि वडा नम्बर १ का वडाध्यक्ष मनराज शाहीले नगरपालिकाले दुई लाख ८० हजार सहयोगमा तटबन्ध गरेको दाबी गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?