logo
२०८१ बैशाख ८ शनिवार



हलेसीमा खाद्यान्न सङ्कट

प्रदेश |


हलेसीमा खाद्यान्न सङ्कट



खोटाङ समाचारदाता

खोटाङ, भदौ ४ गते । खोटाङ जिल्लाको हलेसी क्षेत्रमा अनिकाल सुरु भएको छ । लामो खडेरीसँगै मकैका बिरुवा सुकेका कारण हलेसी तुवाचुङ नगरपालिकाको बाहुनीडाँडा, डिकुवा, च्यास्मिटार र बडहरेलगायतका क्षेत्रमा अनिकाल सुरु भएको हो ।
यो वर्षको हिउँदमा लामो खडेरीले खेतबारीमा लगाइएको र घोगा लाग्ने समयमै मकैको बिरुवा सुकेपछि मकै पाकिसक्नुपर्ने यो समयमा खाद्यान्नको चरम सङ्कट भएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले बताउनुभयो । अहिले सबै किसानको घरमा मकैको थाग्रो हुनुपर्ने समयमा किसानको घरमा एक गेडो अन्न नभएको मेयर राईको भनाइ रहेको छ ।
खेतबारी लामो खडेरीले सुकाएपछि फेरि छरिएको मकैको बिरुवालाई असार अन्तिमपछि परेको लगातारको वर्षाले बिगारेका कारण तेस्रोपटक छरिएकोे मकै भर्खर उम्रिँदै गरेको स्थानीय किसानको भनाइ रहेको छ । अर्कातर्फ बजारसँग जोड्ने सडक वर्षाका कारण ठाउँ÷ठाउँमा भत्किएकाले खाद्यान्नलगायतका अन्य उपभोग्य सामान त्यस क्षेत्रमा ढुवानी गर्न कठिन भएको छ । हाल गाउँमा अ‍ैंचोपैंचो गर्ने अन्नसमेत नभएको स्थानीयको गुनासो छ ।
११ वडा रहेको नगरपालिकामा खाद्यसङ्कट क्षेत्र घोषणा गरी एक करोड ४० लाख रुपियाँ राहत कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ । उक्त बजेटलाई विशुद्ध कृषि पेसा अपनाउने घरपरिवार छनोट गरी वितरण गर्ने नगरको योजना छ । नगरपालिकाभित्रका अवरुद्ध सडक सुचारु गराउन पहल भइरहेको मेयरको भनाइ छ ।
यसैबीच, प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयको टोलीले खाद्यसङ्कट क्षेत्रको अनुगमन गरेको छ भने एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईसमक्ष नगरपालिकाले खडेरी तथा वर्षापीडित नागरिकलाई राहत उपलब्ध गराउन माग गरेको छ ।
प्रदेशसभा सांसद राजन राईको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री राईलाई भेट गरी खडेरी र वर्षाको मारमा परेका सर्वसाधारणको सहजताका लागि आवश्यक खाद्यान्न व्यवस्था गर्न माग गरिएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?