logo
२०८१ बैशाख ११ मंगलवार



एमबीबीएसका भरमा जिल्ला अस्पताल

प्रदेश |


एमबीबीएसका भरमा जिल्ला अस्पताल


सङ्खुवासभा समाचारदाता

सङ्खुवासभा, भदौ ४ गते । अस्पतालको स्तर वृद्धिसँगै उच्च तहको जनशक्ति नहुँदा खाँदबारीस्थितजिल्ला अस्पताल सङ्खुवासभाले गुणस्तरीय सेवा प्रदान गर्न सकिरहेको छैन ।
दुई वर्षअघिसम्म जिल्ला अस्पताल सङ्खुवासभा १५ शय्याको थियो । त्यो समयमा नवौँ तहको चिकित्सकले सेवा दिएका थिए । अहिले ५० शय्याको अस्पताल हुँदा त्यो पनि घटुवा भएर आठौँ तहका एमबीबीएस डाक्टरहरूले मात्र सेवा दिइरहेका छन् ।
यसरी अस्पतालको स्तरअनुसार दक्ष जनशक्ति नभएपछि उच्च गुणस्तरको सेवाबाट सेवाग्राही वञ्चित भएका छन् । अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा अस्पताल आएका बिरामीलाई अन्यत्र ‘रेफर’ गर्नुको विकल्प नरहेको अस्पताल प्रशासनको भनाइ छ । जटिल प्रकृतिका बिरामीहरू आए उपचार गर्न समस्या रहेको अस्पतालका निमित्त प्रमुख डा. लक्ष्मण खड्काले जानकारी दिनुभयो । सिनियर डाक्टर भए परामर्श गरेर जटिल रोगको पनि उपचार गर्न सकिने उहाँको भनाइ छ ।
५० शय्याको अस्पतालमा न्यूनतम ११औँ तहको चिकित्सक राख्नुपर्ने भए पनि हालसम्म सरकारले डाक्टर नपठाएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यको गुनासो छ । सरकारलाई पटकपटक विशेषज्ञ डाक्टरको माग गरे पनि अहिलेसम्म सुनुवाइ नभएको उहाँको भनाइ छ । अझ डाक्टरहरूको समायोजनले हाल कार्यरत रहेका डाक्टरहरू पनि अन्यत्र जान लागेको अवस्था छ । साथै समायोजनपछि सङ्खुवासभा आउने डाक्टरहरूको बारेमा अहिलेसम्म पनि कुनै जानकारी नआएको समेत उहाँले बताउनुभयो ।
अहिले खाँदबारी अस्पतालमा पाँच जना आठौँ तह (एमबीबीएस)का डाक्टरहरू कार्यरत छन् । त्यसबाहेक शल्यक्रियाबाट बच्चा जन्माउनका लागि निक साइमन नामक संस्थाले उपलब्ध गराएको एमडीजीपी डाक्टर पनि जिल्ला अस्पतालमा नै कार्यरत हुनुहुन्छ । शल्यक्रिया फाँटमा नै व्यस्त रहने हुँदा उहाँको सेवा अन्य बिरामीले पाएका छैनन् । यसरी जिल्ला अस्पताल एमबीबीएस डाक्टरको भरमा सञ्चालन गर्नुपर्दा गुणस्तरीय सेवा नागरिकले नपाएको व्यवस्थापन अध्यक्ष शाक्य स्वीकार्नुहुन्छ ।
माथिल्लो निकायमा पटकपटक विशेषज्ञ डाक्टरको माग गर्दा पनि नपठाएपछि आन्तरिक स्रोतबाट माथिल्लो तहको चिकित्सक ल्याउने तयारीमा अस्पताल लागिपरेको अध्यक्ष शाक्यले जानकारी दिनुभयो । १५ शय्याको भन्दा पनि न्यून जनशक्ति भएकाले आन्तरिक स्रोतबाट भए पनि ११औँ तहसम्मको विशेषज्ञ डाक्टर यही भदौभित्र राख्न लागिएको अध्यक्ष शाक्यले जानकारी दिनुभयो । आन्तरिक स्रोतबाट विशेषज्ञ राख्नका लागि प्रदेश सरकारले पनि आर्थिक सहयोग दिने भएको शाक्यको भनाइ छ ।

इन्डोस्कोपीको सेवा
यसैबीच यही भदौ महिनाबाट नै जिल्ला अस्पतालमा इन्डोस्कोपीको सेवा सुचारु हुनेभएको छ । अस्पतालको आन्तरिक स्रोतबाट इन्डोस्कोपीको विशेषज्ञ डाक्टर ल्याएपछि उक्त सेवा दिइने भएको हो ।
इन्डोस्कोपीको सम्पूर्ण उपकरणहरू जडान भइसकेको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा हालै उक्त उपकरणहरू जडान गरिएपछि गएको आइतबार र सोमबार स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरमा १२७ जनाले परीक्षण गरिएकोमा ५० जनाको इन्डोस्कोपी गरिएको अस्पतालले जनाएको छ । वीर अस्पतालका इन्डोस्कोपीका विशेषज्ञ डाक्टर भूपेन्द्र बस्नेतको नेतृत्वमा शिविर सञ्चालन गरिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?