logo
२०८१ बैशाख १२ बुधवार



सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढ्दो

प्रदेश |




विराटनगर, भदौ ५ गते । गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी मोरङमा १०५ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख शिवराज पोखरेलका अनुसार सो अवधिमा जिल्लाभरिमा ४८४ दुर्घटना भएको थियो । सो दुर्घटनामा परी ८५४ घाइते भएका थिए । आर्थिक वर्ष २०७३/७४ मा ४३४ दुर्घटनाबाट १०४ जनाको मृत्यु भएको थियो भने ८२५ घाइते भएका थिए । आव २०७४/७५ मा ५०३ सवारी दुर्घटनामा १०९ को मृत्यु र ८२८ घाइते भएका थिए ।

सडकको दुरावस्था, तीव्र गति, ओभरलोडजस्ता कारणले दुर्घटना हुने गरेको ट्राफिक प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो । यस्तै, सवारी कारवाहीबाट गत आर्थिक वर्षमा रु तीन करोड ८४ लाख ६९ हजार राजश्व सङ्कलन भएको छ भने आव २०७३/७४ मा रु एक करोड ९९ लाख ६६ हजार र आव २०७४/७५ मा रु तीन करोड ४१ हजार राजश्व सङ्कलन भएको कार्यालयबाट थाहा भएको छ ।

आव २०७५/७६ मा ६५ हजार १३३, आव २०७३/७४ मा ३३ हजार ८८३ र आव २०७४/७५ मा ५४ हजार ८१६ सवारीसाधन कारवाहीमा परेका छन् ।
राधाकृष्ण रथयात्राका लागि सुदृढ सुरक्षा व्यवस्था यस्तै, भदौ ७ गते विराटनगरको पोखरियाबाट निस्किने श्री राधाकृष्ण रथयात्राको सुरक्षाको राम्रो प्रबन्ध मिलाएको प्रहरी उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिनुभयो । लगभग सात किमी दूरी तय गर्ने रथयात्रामा एक हजार ५०० भन्दा बढी प्रहरी परिचालन हुने र नगर क्षेत्रमा जडान भएका सबै सिसी क्यामेरामा निगरानी गरिने व्यवस्था मिलाएको उपरीक्षक अधिकारीले बताउनुभयो । रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?