logo
२०८१ मंसिर ८ शनिवार

  खाँदबारी नपाकाे सडक  

बर्षौं भयो सास्ती भोगेको हालत उस्तै

प्रदेश |


बर्षौं भयो सास्ती भोगेको हालत उस्तै



ध्यान कुलुङ
सङ्खुवासभा, भदौ ९ गते । जिल्लाको जेठो खाँदबारी नगरपालिकामा पर्ने मानेभञ्ज्याङ हेलुवाबेशी सडक हिलाम्य भएपछि आवतजावतमा हैरानी भोग्नु परेको बर्षांै भयो । तर अहिलेसम्म सडक स्तर बृद्धिको कामले भने निकाश पाएको छैन ।
दैनिक सयौं यात्रु हिड्ने उक्त सडकमा बर्षातको समय सुरु हुने वित्तिकै सडक हिलाम्य भएपछि यातायात ठप्प हुन्छ । त्यहाँ कुनै सवारी साधन नचलेपछि भोजपुर र सङ्खुवासभाका यात्रुहरु काँधमा भारी बोकेर घण्टौ हिड्नु परेको छ ।
चिम्टाईलो माटोमा थोरै मात्र पानी पर्ने वित्तिकै सडक चिप्लो हुने भएपछि कुनै सवारी साधन त्यस क्षेत्रमा चल्दैन । लामो समयसम्म घाम लागेपछि एकादुईले सवारी साधन चलाए पनि गाडी फस्ने हुँदा निक्कै झन्झट ब्यहोर्नु परेको सवारी चालक बताउँछन् । जोखिम मोलेर गाडी लगेपनि हिलो काट्नै समस्या भएकोले त्यस क्षेत्रमा सवारी नलगिएको ट्याक्सी चालक सोमबहादुर राईले बताउनुभयो ।
त्यस क्षेत्रमा नगरपालिकाले सडकको स्तर उन्नतीमा कम चासो दिएको आरोप लगाउने गरेका छन् । बर्षौदेखि उस्तै समस्या भोग्नु परेको नगरपालिकालाई थाहा हुँदाहुँदै पनि बर्षा लाग्दा सवारी सञ्चालन गर्न सक्ने वातावरण बनाउन कुनै चासो नदिएको सिलिचोङ गाउँपालिका ३ का सवित कुलुङको दुखेसो छ ।
‘मैले जान्दादेखि नै सडकको हालत उस्तै छ, सरोकारवालाले यताको नागरिकहरुको पिडा कहिले थाहा पाउने हुन्’, कुलुङले भन्नुभयो । बर्षौदेखि उक्त सडकमा उस्तै समस्या भोग्दै आएका नागरिकहरुले नगरपालिकाले आफूहरूलाई उपेक्षा गरेको आरोप लगाउन थालेका छन् ।
बढी जसो हिलाम्य हुने ठाउँठाँउमा मात्र सोलिङ गरिदिए सवारी आवतजावत हुने सक्ने खाँदबारी ११ का भक्तराम राई बताउनुहुन्छ । उहाँका अनुसार त्यस सडक खण्डमा पाँच स्थानमा मर्मत गरे सवारी आवतजावतमा सहजता आउनेछ ।
१८ किलोमिटर लामो उक्त सडक भोजपुरको साल्पा सिलिछो गाउँपालिका र सङ्खुवासभाकै सिलिचोङ गाउँपालिकाको प्रवेश मार्ग हो । त्यस सडकमा कालोपत्रे गर्न बजेट प्राप्त भईसकेको खाँदबारी नगरपालिकाका मेयर मुरारी खतिवडाले जानकारी दिनुभयो ।
यसको सम्पुर्ण काम जिल्ला प्राविधिक कार्यालयले गरिरहेको उहाँले बताउनुभयो । जिल्ला प्राविधिक कार्यालय सङ्खुवासभाका अनुसार त्यस सडकमा कालोपत्रे गर्नको लागि ठेक्का आव्हान गरिसकिएको छ । बोलपत्र आव्हानपछि पेश भईआएको कम्पनीहरू माथि केही प्राविधिक त्रुटी रहेकोले प्रदेश सरकारलाई सवै फाईल पठाईएको जिल्ला प्राविधिक कार्यालयका प्रमुख गंगा सागरले जानकारी दिनुभयो ।
आवेदन परेको मध्ये केही निर्माण कम्पनी माथि अख्तिार दुरुपयो अनुसन्धान आयोगमा उजुरी परेकोले त्यस्ता कम्पनीलाई समावेश गराउने वा नगराउने विषयमा दुबिधा भएकोले प्रदेश सरकारलाई फाईल बुझाईएको प्रमुख सागरले जानकारी दिनुभयो । प्रदेश सरकारबाट छिनोफानो भए लगत्तै काम सुरु हुने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?