logo
२०८१ बैशाख ५ बुधवार



प्रदेश नं. २ मा बेटी बचाऊ बेटी पढाऊ अभियान

विद्यालय विद्यालयमा छिर्दै मुख्यमन्त्री

प्रदेश |


प्रदेश नं. २ मा बेटी बचाऊ बेटी पढाऊ अभियान
छात्रालाई साइकल वितरण गर्दै मुख्यमन्त्री ः प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत लहानस्थित लक्ष्मण ललिता कुशवाहा माध्यमीक विद्यालय (ललकुमावि) का छात्रालाई साइकल वितरण गर्दै ।


सन्तोष सुवेदी-
सिरहा, भदौ १५ गते । आइतबार विहानै प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले लहानस्थित लक्ष्मण ललिता कुशवाहा माध्यमीक विद्यालयमा गई कक्षा ८ मा अध्ययन गर्ने एकसय तीन छात्रालाई साइकल वितरण गर्नुभयो । उहाँले त्यहाँ साइकल मात्र वितरण गर्नुभएन, आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापकसँग कानेखुशी गर्दै शैक्षिक प्रगतिबारे जानकारी पनि लिनुभयो ।

मुख्यमन्त्री राउतको यो क्रम लहानमा मात्र सीमित भएन । उहाँले सिरहाको विद्यानगरस्थित छजना माध्यमीक विद्यालय, बर्छवा माध्यमीक विद्यालय, मिर्चैयाको मोहन माध्यमीक विद्यालय तथा फुलबरिया माध्यमीक विद्यालयमा पनि पुगेर यसैगरी विद्यालयमा अध्ययन गर्ने छात्राको शैक्षिक प्रगतिबारे जानकारी लिंदै कक्षा ८ का विद्यार्थीहरुलाई साइकल वितरण गर्नुभयो ।

लहानमा १०३, छजनामा ५७, बर्छवामा ११२, मिर्चैयामा ११२ तथा फुलबरियामा ७० वटा गरी ४५४ वटा साइकल वितरण गर्नुभयो । साइकल पाएर जति खुशी देखिन्थे, त्यति उनीहरुमा जिम्मेवारी र आश्चर्य पनि छर्लङ्गिएको देखिन्थ्यो । ‘पढाइमा त जहिल्यै पनि मेहेनेत र परिश्रम त गरिन्थ्यो नै तर साइकल पाएपछि भने हामी छात्राले पनि केही गरेर देखाउनै पर्छ भन्ने लागेको छ’ कार्यक्रमको समापनपछि सोधिएको जिज्ञासामा ललकुमावि लहानको कक्षा ८ की तृतीय स्थान प्राप्त गरेकी शारदा साहले भनिन्–मुख्यमन्त्रीको अभियानबारे जानकारी पाएपछि मलाई मात्र होइन, हाम्रो विद्यालयको सबै छात्रालाई हामीले कमसेकम १२ कक्षासम्म पनि पढ्नै पर्छ भन्ने लागेको छ ।

कार्यक्रममा मुख्यमन्त्री राउतले चालु शैक्षिक शत्रमा प्रदेश नं. २ को आठ वटै जिल्लामा १४ हजार छात्रालाई साइकल वितरण गर्ने कार्यक्रम रहेको बताउनुभयो । उहाँले प्रदेश नं. २ मा महिला जागरण निकै पिछडिएको अवस्थामा रहेकोले त्यो अवस्थालाई सुधार्न अहिल्यैदेखि नै विद्यालयस्तरबाट लागिपरेको बताउनुभयो ।

‘अलिकति जानेबुझेका र खर्चको जोहो गर्न सक्ने अभिभावकले आफ्ना वालवालिकालाई निजी विद्यालयमा अध्ययन गराउँछन जो हरतरहले कमजोर आर्थिक अवस्थाका वालवालिकादेखि अब्बल ठहरिन सक्छन्’, उहाँले भन्नुभयो–तर न्यून आर्थिकस्तर भएका अभिभावकलाई आफ्ना वालवालिकालाई पढाउन अति नै गा¥हो परेको हुन्छ, त्यस्ता अभिभावकको ध्यान मुश्किलले छोरीलाई भन्दा छोरालाई मात्र विद्यालय पठाउनेतर्फ केन्द्रित हुन्छ ।

‘त्यसैले प्रदेश नं. २ को सरकारले न्यून आर्थिकस्तरको परिवारलाई केन्द्रमा राखेर बेटी बचाउ बेटी पढाउ भन्ने अभियान थालनी गरेको हो’, मुख्यमन्त्री राउतले भन्नुभयो–माध्यमीक तहसम्म विद्यालयको अध्ययन निःशुल्क गरेर मात्र हुँदैन, त्यहाँसम्म पुग्न छात्रा र उनीहरुका अभिभावकलाई प्रेरणा र प्रोत्साहन पनि दिन सक्नुपर्छ, छात्राहरुलाई प्रदान गरेको साइकलले विद्यालय आउने समयको बचतका साथै दैनिक कामधन्दामा समेत सहयोग पु¥याउने भएकोले यसबाट छात्रा र अभिभावकलाई प्रेरणा र प्रोत्साहन दुवै मिल्छ ।

प्रदेश नं. २ मा महिला शिक्षाको स्तर निकै कमजोर पाइएपछि मुख्यमन्त्री लालबाबु राउतको अवधारणा र सक्रियतामा गत २०७५ सालको माघ १ गतेदेखि प्रदेश नं. २ मा ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ अभियान थालनी गरिएको छ । जुन अभियानलाई गत फागुन ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक उद्घाटन गर्नुभएको थियो ।

प्रदेश सरकारको सबैभन्दा महत्वाकांक्षी र चर्चित कार्यक्रमको रुपमा लिइएको ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ अभियानले वालविवाह रोक्न तथा शिक्षामा छोरीको आकर्षण बढाउन विशेष भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ । अभियान अन्तर्गत छोरी शिक्षा वीमा, साइकल वितरण, सय वटा शौचालय निर्माण, १० हजार सेनेटरी प्याड वितरण गरिने कार्यक्रम छ ।

छोरी शिक्षा वीमा कार्यक्रम अन्तर्गत माघ १ गतेपछि जन्मिएका छोरीले प्रदेश सरकारबाट २० वर्षपछि एकमुष्ठ एक लाख २५ हजार रुपैयाँ पाउनेछन् । ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ योजना अन्तर्गत छोरीहरु जन्मिएपछि गरिएको वीमावापतको रकम प्राप्त गर्न केही सर्त राखिएका छन् । छोरीका अभिभावकले वीमा गराउँदा प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्नुपर्ने हुन्छ ।

उक्त प्रतिवद्धतापत्रमा कम्तीमा विद्यालय शिक्षा अन्तर्गत कक्षा १२ वा सो सरहको शिक्षा पूरा गराएको हुनुपर्छ । यस्तै, प्रचलित कानुनको अधीनमा रही छोरीको उमेर २० वर्ष पूरा नभएसम्म विवाह गराउन नपाउने प्रावधान समेत प्रतिवद्धता पत्रमा उल्लेख भएको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?