logo
२०८१ बैशाख १३ बिहीवार



डेङ्गु नियन्त्रित रहेको प्रदेश मन्त्रीको दावी, नियन्त्रण र रोकथाम प्रभावकारी भएनः प्रदेश सभाका सदस्य

प्रदेश |


डेङ्गु नियन्त्रित रहेको प्रदेश मन्त्रीको दावी, नियन्त्रण र रोकथाम प्रभावकारी भएनः प्रदेश सभाका सदस्य
प्रदेश ३ को प्रदेश सभाको सोमबार बसेको वैठकमा सहभागी प्रदेश सभाका सदस्यहरु


मकवानपुर समाचारदाता
हेटौँडा, भदौ २३ गते । प्रदेश ३ का प्रदेश सभाका सदस्यहरुले प्रदेशका जिल्लासहित देशभर डेङ्गु महामारीकारुपमा फैलिरहेको बेला नियन्त्रण र रोकथामको काम प्रभावकारी नभएको बताउनु भएको छ ।
डेङ्गुको ज्वरोका सङ्क्रमण नियन्त्रण गर्न सरकारले ठोस योजना ल्याउनुपर्ने भन्दै प्रदेश सभाका सदस्यहरुले डेङ्गु नियन्त्रण गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारबीच समन्वय आवश्यक भएको औँल्याउनुभयो ।
प्रदेश सभाको सोमबारको बैठकमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मुख्य सचेतक रामेश्वर फुँयालले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्दै प्रदेश ३ मा डेङ्गु ज्वरो भयावह बन्दै गएकाले नियन्त्रण र रोकथाम आवश्यक भएको बताउनुभयो ।
उहाँले प्रदेशका विभिन्न जिल्लामा देखिएको डेङ्गु ज्वरोले भयावहरुप लिंदासमेत नियन्त्रण र रोकथाम भएको नपाइएको भन्दै नियन्त्रण र रोकथामका कार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
मुख्य सचेतक फुँयालले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्दै डेङ्गु महामारीको रुपमा फैलिन नदिन आवश्यक काम अघि बढाउन सरकारसँग माग गर्नुभयो ।
जरुरी सार्वजनिक महत्वको प्रस्तावको समर्थन गर्दै प्रमुख विपक्षी दल नेपाली काँग्रेसका प्रमुख सचेतक राधा घलेले डेङ्गु ज्वरो महामारीको रुपमा फैलिएको भन्दै सरकारी अस्पतालहरु दुर्घन्धित भएको र विरामी कुरुवा समेत विरामी भएको बताउनुभयो ।
चिकित्सक र नर्सनै डेङ्गु भाइरसको सङ्क्रमणमा परेको बताउँदै उहाँले रोकथामका लागि साझा प्रयास आवश्यक भएको बताउनुभयो ।
यस्तै प्रस्तावको समर्थन गर्दै प्रदेशसभाका सदस्य कञ्चन खनालले डेङ्गु भाइरसविरुद्ध सरसफाई र सचेतनामा कमी रहेको बताउँदै रोग लाग्नै नदिन सचेतना अपनाउनुपर्नेमा जोड दिनुुभयो ।
प्रदेश सभाका सदस्य राजेन्द्र पाण्डेले डेङ्गु ज्वरो नियन्त्रण गर्न प्रदेश सरकारले स्पष्ट योजना बनाएर सार्वजनिक गर्नुपर्ने भन्दै महामारीको अवस्थामा विश्व स्वास्थ्य सङ्गठनको सहयोग लिन सरकारलाई आग्रह गर्नुभयो ।
यस्तै प्रदेश सभाका सदस्य रीता माझीले डेङ्गु ज्वरो नियन्त्रण र उपचारलाई कमाउ धन्दा बनाउनसक्ने बताउँदै नियन्त्रण गर्न सचेतना अपनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाईंले अहिले सरकारको परीक्षाको घडी भएको बताउँदै डेङ्गु ज्वरो नियन्त्रण र विरामीको सहज उपचारमा सरकारको सक्रियता आवश्यक भएको औँल्याउनुभयो ।
प्रदेश सदस्यहरु गीता वाग्ले, विराजभक्त श्रेष्ठ, वसन्त मानन्धर, भीमसेन खत्री, शोभा शाक्य, जीवन खड्का, रीना गुरुङ, कृष्णप्रसाद शर्मा खनाल, विजया केसी श्रेष्ठ, इन्द्रमाया गुरुङ, प्रेमबहादुर पुलामी, नरोत्तम वैद्य, राजेन्द्रमान श्रेष्ठ, राजेन्द्र गुरुङ, सरस्वती बाटी, बलराम पौडेललगायतले सरकारी अस्पतालमा डेङ्गु जाँचगर्ने किट अभाव रहेको बताउँदै डेङ्गु ज्वरो नियन्त्रण र उपचारमा प्रदेश र स्थानीय सरकारबीच समन्वय आवश्यक भएको बताउनुभयो ।
यसअघि विशेष समयमा बोल्दै प्रमुख विपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले डेङ्गु ज्वरोले भयावह अवस्था सिर्जना गरेकाले नियन्त्रण र उपचारमा सरकारको ध्याकर्षण गराउनु भएको थियो ।
चट्याङ्गद्वारा भएको मानवीय क्षति नियन्त्रण गर्न माग गर्दै बाढी पहिरो पीडितले प्रभावकारीरुपमा राहत नपाएको उहाँले आरोप लगाउनुभयो ।
जरुरी सार्वजनिक महत्वको प्रस्तावमा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफमा प्रदेशमा सामाजिक विकास मन्त्री युवराज दुलालले डेङ्गु ज्वरो देखिएसँगै नियन्त्रणको प्रयास सुरु गरिएको बताउनुभयो ।
उहाँले डेङ्गु ज्वरो नियन्त्रित अवस्थामा रहेको दावी गर्दै सङ्क्रमणको दर घटेको बताउनुभयो ।
उहाँले डेङ्गु ज्वरो सङ्क्रमण गर्ने लामखुट्टे र बस्ने स्थानको खोजी एवं नष्ट गर्ने अभियान चलाइएको भन्दै प्रदेश ३ मा दुईहजार १० जनामा डेङ्गु भएको जानकारी दिनुभयो ।
प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले मुख्य न्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०७५÷०७६ को प्रतिवेदन पेस गर्नु भएको थियो ।
साथै, प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेलले प्रदेश लोक सेवा आयोगको गठन, काम, कर्तव्य, अधिकार र कार्यविधिका सम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन प्रदेश सभाको वैठकमा पेस गर्नुभएको थियो ।
प्रदेश सभाको बैठक मङ्गलबार विहान ११ बजे बस्ने भएको छ । तस्विरः राममणि दाहाल, हेटौँडा 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?