logo
२०८० चैत्र १५ बिहीवार



कुकुरको टोकाइले मरे तीन हरिण   

प्रदेश |


कुकुरको टोकाइले मरे तीन हरिण   


भद्रपुर, भदौ २५ गते ।
झापाको मेचीनगर नगरपालिका–११ मा रहेको बाँसबारी सामुदायिक वनले पालेका तीन वटा हरिण भुस्याह कुकुरको टोकाइबाट मरेका छन् भने एउटा घाइते भएको छ ।

आज बिहान वनले तारजालीले घेरा हालेर पालेको स्थानमा चार वटा भुस्याहा कुकुर पसेर हरिणलाई टोकेर मारेको बाँसबारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शम्भु राजवंशीले बताउनुभयो ।

कुकुरको टोकाइबाट मरेका हरिणमध्ये दुई वटा पोथी र एउटा भाले रहेको जिल्ला डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताउनुभयो ।    
    
 उहाँका अनुसार भेटनरी अस्पताल तथा पशु सेवा विभाग कार्यालय झापाका डा सञ्जय ढुङ्गाना र डा गणेश भट्टराई लगायतको टोलीले मृत हरिणको ‘पोस्टमार्टम’ गर्नुभएको थियो ।

‘पोस्टमार्टम’पछि तीनवटै हरिणलाई वन कार्यालयको परिसरभित्रै डिभिजन कार्यालय झापाका टोली, वन समितिका पदाधिकारी, स्थानीयवासी र पत्रकारको रोहबरमा गाडिएको छ ।    
    
 बिहान ६ बजेतिर हरिण कराउन थालेपछि वनका कर्मचारी घटनास्थल पुगेका थिए । कर्मचारी पुगेलगत्तै कुकुर भागेको अध्यक्ष राजवंशीले बताउनुभयो ।

विगत ११ वर्षदेखि वनले हरिणलगायत अन्य जीवजन्तु पाल्न थालेको अध्यक्ष राजवंशीले बताउनुभयो ।

उहाँका अनुसार हाल वनमा पाँच वटा पोथी हरिण र तीन वटा भाले हरिण रहेका थिए ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?