logo
२०८१ मंसिर ९ आईतवार



विकास र समृद्धिको पहिले शर्त शान्तिसुरक्षा : मुख्यमन्त्री राई

प्रदेश |


विकास र समृद्धिको पहिले शर्त शान्तिसुरक्षा : मुख्यमन्त्री राई


विराटनगर, भदौ ३० गते । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिको पहिलो शर्त जनतामा शान्तिसुरक्षाको प्रत्याभूति हुुनुपर्नेमा जोड दिनुभएको छ ।

प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालयद्वारा जडित सिसिटिभी क्यामेरा आज शुभारम्भ गर्दै उहाँले सुरक्षा निकायलाई नमूनाका रुपमा अघि बढाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अनियमितता हुन नदिन कडा निगरानी गरिनेमा जोड दिँदै उहाँले परियोजना बैंक खोलिने र लगानी सम्मेलन गरेर अर्थतन्त्रलाई बलियो बनाई आधुनिक प्रदेश निर्माण गरिनेछ भन्नुभयो । हिजो सम्पन्न सुरक्षा बैठकले प्रदेशभरिका सार्वजनिक जग्गा एक महीनाभित्र खोजी गर्न निर्देशन भएको जानकारी गराउँदै मुख्यमन्त्री राईले प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह पनि गर्नुभयो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सुरक्षा संयन्त्रलाई बलियो बनाउन र प्रविधिमैत्री बनाउन प्रदेश सरकारको तर्फबाट भएको सहयोगको सराहना गर्नुभयो । उहाँले समुदायमा विश्वासको वातावरण सिर्जना गरेर समाजमा शान्तिसुरक्षा कायम गर्न प्रहरीलाई सफलता मिल्ने भएकाले अब अपराध र अपराधीको गुञ्जाइस छैन भन्नुभयो । आफ्ना कमी कमजोरी सच्याउँदै अघि बढ्न प्रहरीलाई निर्देशन दिँदै महानिरीक्षक खनालले सबैको मर्यादालाई केन्द्रबिन्दुमा राखेर काम गर्न सुझाव दिनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले मानव जीवनको सर्वोत्तम काम शान्तिसुरक्षा हो भन्नुभयो । आन्तरिक मामिला तथा कानून सचिव हरिप्रसाद मैनालीले प्रहरी प्रविधिमैत्री भएमा अपराध नियन्त्रणमा बल पुग्नाका साथै सुरक्षा व्यवस्था सुदृढ हुने र सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप पनि नियन्त्रण हुनेमा जोड दिनुभयो ।

प्रदेश प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीले प्रहरी समयसापेक्ष सुदृढ एवं बलियो हुँदै गएकाले समाजमा शान्तिसुरक्षा कायम गर्न सफल भएको छ भन्नुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्व अधिकारीले रु एक करोड १४ लाखको लागतमा ५८ थान सिसिटिभी जडान भएको र यसबाट मोरङभर ६० किमी क्षेत्रको निगरानी गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?