logo
२०८१ मंसिर ९ आईतवार

  विहीबार पूर्वक्षेत्र प्रकाशन उद्घाटन 

पूर्वबाट प्रकाशन हुन लागेकोमा खुशी, गोरखापत्र गोरखापत्र नै रहनु पर्ने माग

प्रदेश |


पूर्वबाट प्रकाशन हुन लागेकोमा खुशी, गोरखापत्र गोरखापत्र नै रहनु पर्ने माग
तस्बिरः सागर बस्नेत


शशिधर पराजुली
विराटनगर, असोज १ गते । मुलुककै सबभन्दा पुरानो राष्ट्रिय दैनिक गोरखापत्रको प्रदेश १ को राजधानी विराटनगरबाट पूर्वक्षेत्र प्रकाशन शुरु गर्न लागेको अवसरमा बुधबार स्थानीय बुद्धिजीवीसँग अन्तक्र्रिया गरेको छ ।
संविधान दिवसका अवसरमा असोज ३ गतेबाट औपचारिक रुपमा प्रदेश १ र २ का पाठकलाई विराटनगरबाट पूर्वक्षेत्र प्रकाशन गर्ने तयारी भएको छ । यसका लागि विराटनगरमा तयार गरिएको भवन, मेसिनलगायत पूर्वाधारको बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले उद्घाटन गर्ने कार्यक्रम छ ।
विराटनगरका विभिन्न पेशा, वर्ग र समूहका व्यक्तित्वसँग गरिएको सो अन्तक्र्रियाको शुरुमा गोरखापत्रका सम्पादक सल्लाहकार गोपाल खनालले ११९ वर्षको गोरखापत्र पुरानो हो तर गोरखापत्रलाई हेर्ने दृष्टिकोण नयाँ हुनुपर्ने विचार व्यक्त गर्नुभयो । गोरखापत्र मुलुककै सम्पत्ति भएकाले सबैले यसलाई माया गर्नुपर्ने उहाँले बताउनुभयो ।
गोरखापत्र दैनिकका प्रधानसम्पादक श्रीओम श्रेष्ठले गोरखापत्र सरकारको मुखपत्र नभएर राज्यको मुखपत्र भएको चर्चा गर्दै तटस्थ, विश्वासनीय समाचार दिन गोरखापत्रले प्रयास गरिरहेको बताउनुभयो । उहाँले प्रदेश १ र २ का पाठकका हातमा औपचारिक रुपमा शुक्रबारबाट विराटनगरबाट हुने पूर्वक्षेत्र प्रकाशन हुने जानकारी गराउँदै यसलाई प्रभावकारी बनाउन थप सुझाव दिन आग्रह गर्नुभयो ।
गोरखापत्रको सहप्रकाशन दि राइजिङ नेपालका प्रधानसम्पादक जगदीश पोखरेलले गोरखापत्र र दी राइजिङ नेपाल विराटनगरबाट प्रकाशन गर्दा चुनौती भए पनि अवसर पनि धेरै भएको धारणा व्यक्त गर्नुभयो । उहाँले समाजमा सञ्चारका विभिन्न माध्यमको विकल्प रहेको भए पनि विश्वासनीयताका लागि गोरखापत्र नै खोजी हुने भएकाले ती पाठकको सम्मानका लागि पूर्वक्षेत्र प्रकाशन शुरु गरिएको बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुले विराटनगरबाट प्रकाशन गर्ने निर्णयमा खुशी व्यक्त गर्दै यसले स्थानीय जनचासोलाई अझ प्रभावकारी रुपमा सम्बोधन गर्न सक्ने आशा व्यक्त गर्नुभयो । उहाँहरुले गोरखापत्रको पुरानो छाप ‘आधिकारिकता, विश्वासनीयता र निष्पक्षता’लाई कुनै अप्ठेरोमा पनि नभुल्न आग्रह गर्दै गोरखापत्र गोरखापत्र नै भएर अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो ।
उक्त अन्तक्र्रियामा स्थानीय वुद्धिजीवीले व्यक्त गर्नुभएको विचारको सम्पादित अंशः


प्रा. अर्जुन बराल ः अर्थशास्त्री


गोरखापत्र पत्रिका मात्र होइन परिवर्तन र सङ्क्रमणको साथी पनि हो । राणाकालदेखि अहिलेसम्म विभिन्न परिवर्तन र सङ्क्रमणको अवस्था यसले पार गरेको छ । प्रदेश १ औद्योगीकरणको इतिहास बोकेको ठाउँ हो । विराटनगरबाट औद्योगीकरणको आरम्भ भएको भनिए पनि इतिहासले इलाममा वि.सं. १९३० मा चिया प्रशोधन प्लान्ट स्थापना भएको प्रमाणित गरेको छ ।
प्रदेश १ औद्योगिक इतिहास र बर्तमानमा शैक्षिक हबका रुपमा विकास भएको छ । यतिबेला गाउँ रितिदै गएका छन् । मुलुकको ब्यापार घाटा उच्च छ । कृषिजन्य उत्पादन बढाउन सकेका छैनौँ । विद्यार्थी र युवा वर्गमा नकारात्मक सोचको विकास हुँदै गएको चुनौतीपूर्ण अवस्थामा हामी छौँ । गोरखापत्रले राष्ट्रिय उत्पादनको पक्षमा, युवा वर्गलाई आशा जगाउने र नकारात्मक सोचविरुद्ध सशक्त भूमिका देखाउनुपर्छ । पछिल्लो समय तथ्यहीन समाचार र सूचनाबाट मानिस दिग्भ्रमित भइरहेका छन् गोरखापत्रले सत्यतथ्य यथार्थ र सही सूचना दिनुपर्छ । गोरखापत्र विराटनगरबाट प्रकाशन हुने खवर हाम्रा लागि निकै खुसीको क्षण हो र उत्सवको अनुभूति भएको छ ।


टिकाराम पुरी ः प्याब्सन, राष्ट्रिय अध्यक्ष


गोरखापत्र हाम्रो पहुँचमा थिएन हुँदा पनि सरकारी हो के सूचना होला र भन्ने मानसिकता थियो । अहिले पनि त्यो मानसिकता धेरैमा छ । अब यहिँबाट प्रकाशन हुने भएपछि बिहानै हेर्न पाइन्छ भन्ने लागेको छ । त्यसका लागि गोरखापत्रले चुस्त व्यवस्थापनमा ध्यान दिनुपर्छ ।
जनतालाई सकारात्मक सन्देश दिने र तथ्यपरक सूचना दिनेतर्फ ध्यान दिनुपर्छ । शिक्षाको सवालले पनि राम्रै स्थान पाउँछ भन्ने अपेक्षा छ । उत्पादनसँग नागरिकलाई जोड्ने गरी यसले काम गर्नुपर्छ । नेपालीमा अल्छेपना छ त्यसविरुद्ध सञ्चारमाध्यमले भूमिका निर्वाह गर्नुपर्छ ।
निकट भविष्यमा नेपाल भ्रमण वर्ष २०२० सुरु हुँदैछ । प्रदेश १ का प्रमुख गन्तव्य कुनकुन् हुन् र त्यहाँका आकर्षण के हुन् भन्ने कुरालाई स्थान दिनुपर्छ । मिडिया अराजक भीडको पछाडि लागेर हिँड्नु हुँदैन । मार्सी चामल मिठो हुँदो रहेनछ तर पनि हामीले विरोध गर्ने नाममा जुम्लाको उत्पादनकै विरोध गर्यौं । यो प्रवृत्तिको हावी हुन नदिने गरी गोरखापत्रले भूमिका खेल्नुपर्छ ।

मोहन भण्डारी ः अग्रज पत्रकार , सम्पादक उद्घोष दैनिक

गोरखापत्रलाई सबैको साझा भावना प्रस्तुत गर्ने ढङ्गबाट अगाडि बढाउनुपर्छ । गोरखापत्र पूर्वी संस्करणसहित प्रकाशित हुनु राम्रो कुरा हो । पत्रकारिताको विकाससँगै अन्य अभियानमा सहकार्य गर्ने र सकारात्मक सहयोग गनेर्छौं ।
प्रा. डा. कृष्ण पोखरेल ः राजनीतिशास्त्री
राज्यको पुनर्संरचनापछि बनेको तीन तहको सरकारमा प्रदेश नयाँ संरचना हो । प्रदेशले गरेका कामलाई केन्द्रीत गरेर धेरै नकारात्मक कुरा नआऊन् । सङ्घीयता र गणतन्त्रको स्थायित्वका लागि ध्यान दिँदै त्यसले गरेको राम्रो कामलाई स्थान दिनुपर्छ । पूर्वक्षेत्र प्रकाशन राम्रो कुरा हो तर आर्थिकरुपमा कति स्थायित्व हुनसक्छ भन्नेतर्फ ध्यान दिनुपर्छ ।
सञ्चारमाध्यम आलोचनात्मकरुपमा प्रस्तुत भएको समाजले रुचाएको पाइन्छ । गोरखापत्रको पुरानो शैलीमा परिवर्तन गर्दै सकारात्मक कुरामात्र दिने भनिरहँदा भ्रष्टाचारको विषयलाई कसरी उठाउने भन्ने प्रश्न पनि आउँछ । सुधारका लागि आलोचना गरिनुपर्छ ।
मिडिया सूचनाको बैकल्पिक स्रोत बन्नुपर्छ । सरकारको सूचना सबैको पहुँचमा हुन्छ । सूचनाको बैकल्पिक स्रोतले प्रजातन्त्रको पनि हित गर्छ । गोरखापत्र पूर्वक्षेत्र प्रकाशन हुनु सुखद् हो अन्यत्र पनि विस्तार होस् । परम्परागत ट्रयाक चेन्ज गरेर नयाँ बन्ने प्रयास गरोस् शुभकामना ।


रामबाबु दाहाल ः नागरिक समाज


गोरखापत्र गोरखापत्र नै हुनुपर्छ । गोरखापत्र अरुजस्तो बन्ने प्रयत्न गर्नुहुँदैन । सरकारको मुखपत्र नै यसको पहिचान हो । घटनालाई बढाइचढाई नगरी जे भएको हो त्यही दिने गोरखापत्रको विशेषता हो । यसलाई परिवर्तन गर्नुहुँदैन ।
गोरखापत्र विराटनगरबाट प्रकाशन हुनु खुशीको कुरा हो । अब यसले स्थानीय घटना र सकारात्मक अभ्यासलाई झन् प्रभावकारी रुपमा ल्याउने छ । यो सकारात्मक पक्ष हो । तर मुलुक सानो छ । विराटनगरबाहिर बस्ने विराटनगर मुलथलो भएका व्यक्तिलाई यहाँको समाचारबारे बढी चासो हुन्छ । उनीहरुसम्म पनि यहाँका समाचार पुग्नुपर्छ । हाम्रो प्रदेशको समाचार र विचार काठमाडाँैलगायत अन्य प्रदेशमा पनि पुग्नुपर्छ ।
कुमुद अधिकारी , पत्रकार
गोरखापत्र विराटनगरबाट प्रकाशन हुनु हाम्रा लागि खुशीको कुरा हो । पहिले समाचारका लागि रेडियो नेपाल र गोरखापत्र मात्र थिए । अहिले त्यो अवस्था छैन । धेरै सञ्चारमाध्यमबीच प्रतिस्पर्धा छ । त्यसैले गोरखापत्रले फरक पहिचान र मान्यता लिएर अगाडि बढोस् । आवाजविहीनको आवाज बन्नुपर्छ, गोरखापत्रले । आगामी दिनमा गोरखापत्र यत्रतत्र सर्वत्र पुगोस्, घरघरमा गोरखापत्र पुगोस् हाम्रो शुभकामना ।


बन्धु पोखरेल ः अध्यक्ष, नेपाल पत्रकार महासंघ मोरङ


गोरखापत्रको संस्करण, यसको ढाँचा र विषयमा परिवर्तन गर्ने विषय आएको छ । गोरखापत्र गोरखापत्र जस्तै हुनुपर्छ । प्रादेशिक तहबाट प्रकाशन गर्दैगर्दा त्यो भूमिकामा अन्य धेरै अखबारहरु छन् । गोरखापत्रले आफ्नो राष्ट्रिय चरित्र नै कायम राख्नसक्नुपर्छ ।
पाठकहरु मिडियाले प्रस्तुत गर्ने सामग्रीप्रति चासो राख्छन् । स्थानीय सूचनाहरु भन्दा राष्ट्रिय महत्वको विषय यसले समेट्ने वातावरण बनाउनु राम्रो हुन्छ । गोरखापत्र नाफामुखि पनि बन्नु हुँदैन । यसको जुन चरित्र हो त्यो कायम राख्नुपर्छ ।


मिनकुमार नवोदित ः पत्रकार


ज्येष्ठ नागरिकको भावना समेटेर उहाँहरुको अनुभव र बिचारलाई स्थान दिनुपर्छ । यस क्षेत्रका गतिविधि र समाचारलाई प्रदेशमा मात्र सिमित राख्नु हुँदैन । पत्रिकामा नेताका भाषण मात्र होइन परिवर्तनको प्रयत्न र उत्पादनसँग जोड्ने सामग्री पस्किनुपर्छ । समाज निकै भाँडिदै गएको छ । त्यसलाई आपसमा जोड्ने र मानवताको पक्षका विषयलाई समावेश गर्नुपर्छ । स्वरोजगारमूलक उद्यम र त्यसको प्रयत्न गर्नेहरुलाई प्रोत्साहन दिने ढङ्गले स्थानको प्रवन्ध गरेर अघि बढ्नुपर्छ ।


महमद सदरुल ः रासस क्षेत्रीय प्रमुख


गोरखापत्र सबैको साझा बनाउने र सबैको पहुँचमा पु¥याउने कुरा राम्रो हो । यति गरिरहँदा जमिन्दारले भरियालाई बोकाएर लगेको बासमती चामलको भात खाने अनि भरियाले सँधै रोटोपिठो खाने र फाटेको लगाउने अवस्था आउनु हुँदैन । त्यहाँ काम गर्ने पत्रकार र कर्मचारीहरुको सुविधामा पनि ध्यान दिनुपर्छ ।
यज्ञ शर्मा ः अग्रज पत्रकार
राज्यको संरचना परिवर्तन भएको छ । गोरखापत्रले तीन तहको सरकारको काम, त्यहाँ उत्पन्न हुने बिचारलाई स्थान दिनसक्छ कि सक्दैन ? त्यसलाई ध्यानमा राखेर स्थानीय तहका अभ्यासलाई समेट्ने गरी जनशक्ति र संरचना विस्तार गर्नसक्दा अहिलेको प्रयास सार्थक हुन्छ । प्रदेश १ र २ मा बोलिने भाषालाई मात्र यहाँ प्रकाशन गर्दा खर्च व्यवस्थापनमा सहयोग पुग्नसक्छ । आलोचनात्मक बन्दा त्यसको सीमा पनि निर्धारण गर्नुपर्छ । नत्र त्यसैको शिकार हुने चुनौती पनि हुन्छ । गोरखापत्र सरकारको नभई राज्यको मुखपत्र बन्ने कुरा राम्रो हो । आलोचनात्मक बन्ने र तथ्यपरक सूचना दिने प्रयास राम्रो हो । २०४३ सालदेखिको प्रकाशन गर्ने योजना सार्थक भएकोमा सबैलाई बधाई ।


भेषराज पोखरेल ः हिसान, केन्द्रीय उपाध्यक्ष


गोरखापत्र आलोचकको भूमिकामा प्रस्तुत हुनुपर्छ । यसलाई तथ्यसहित आलोचना गर्ने विस्वासिलो पत्रिका बनाउनुपर्छ । यो पत्रिका व्यावसायिक पनि बन्नुपर्छ । पछिल्लो समय नैतिकता हराउँदै गएको छ । विश्वमा नैतिकतालाई उच्च महत्व दिने नेताको व्यवहारलाई उच्च महत्व दिएर प्रकाशन गर्ने परिपाटी बनाउनुपर्छ । गोरखापत्रको राष्ट्रिय स्वरुप र परिचयलाई कायम राख्नुपर्छ । पूर्वको पाथिभराको बारेमा पश्चिमलाई जानकारी गराउनुपर्छ । पूर्वका खवरलाई पूर्वमामात्र सिमित राख्नु हुँदैन ।


शोभा कोइराला ः शिक्षक
गोरखापत्रमा प्रकाशित हुने शिक्षासम्बन्धी पृष्ठ हेर्न १५ दिन कुर्नुपर्ने अवस्था छ । त्यसलाई निरन्तरता दिनुपर्छ । गोरखापत्रको साख भनेकै यसको विश्वसनीयता र तथ्य तथा आधिकारिक सूचना नै हो । त्यसैले गोरखापत्र अरुजस्तो होइन गोरखापत्र जस्तै हुनुपर्छ । यसले सकारात्मकता र विश्वसनीयता कायम राख्नुपर्छ ।


विजयता अधिकारी,
गोरखापत्रले सत्य समाचार लेख्छ भन्ने विश्वासलाई निरन्तरता दिनुपर्छ । यो क्षेत्रको खवर पनि समग्र नेपालमा पढ्न सक्ने हुनुपर्छ । गोरखापत्र हाम्रो पहुँचभन्दा टाढा थियो अब नजिक आएको अनुभूति भएको छ । यसको वितरण व्यवस्था चुस्त होस् अनि सहज र सुलभरुपमा प्राप्त गर्ने अवस्था बनोस् ।


विवेक गौतम ः महासचिव , नेपाल पत्रकार महासङ्घ, प्रदेश १
पाठकले गोरखापत्र नै किन पढ्ने भन्ने प्रश्नको जवाफ दिनसक्नुपर्छ । गोरखापत्रबाट आधिकारिक सूचना लिने पाठक कति छन् ? गोरखापत्र लोकसेवा आयोगको सूचना हेर्न, परीक्षाको नतिजा हेर्न मात्रै पढ्ने या अरु महत्वपूर्ण सामग्री दिएर आकर्षण गर्ने योजना पनि छन् ? यी कुरामा पनि ध्यान दिनुपर्छ । राज्यको पत्रिका बनाउँदै सकारात्मक सन्देश प्रवाह गर्दा भ्रष्टाचारका समाचारलाई कुनरुपमा बुझ्ने ? सकारात्मक कि नकारात्मक ? आलोचनात्मक कतिसम्म हुनसक्छ भन्ने जस्ता सवाल छन् । तर पनि प्रदेश १ को राजधानीबाट यसको पूर्वी संस्करण प्रकाशन हुनु राम्रो हो र नेपाल पत्रकार महासङ्घ आवश्यक सहयोग गर्छ । गोरखापत्रले त्यहाँ काम गर्ने स्ट्रिन्जरको पक्षमा कति काम गरेको छ र न्यूनतम पारिश्रमिकको विषय कति लागू गरेको छ ? अनि सरकार बदलिएपिच्छे जागिर गुमाउनुपर्ने भय श्रमजीवी पत्रकारमा हुनुहँुदैन भन्नेतर्फ पनि ध्यान दिनुपर्छ ।


कविराज न्यौपाने ः साहित्यकार
गोरखापत्रले ११९ वर्षे जीवनमा आर्जन गरेको आधिकारिकताको हैसियत कायम राख्नुपर्ने चुनौती गोरखापत्रसँग छ । विगतमा धेरै प्रतिष्पर्धा गर्नुपर्ने अवस्था थिएन तर अहिले बजारमा अरु थुप्रै मिडिया बलियो भएर आएका छन् । गोरखापत्र गोरखापत्रजस्तै भएर आधिकारिकताको हैशियत बनाइरहनुपर्छ । सामाजिक सञ्जालले धेरै चिजलाई आफ्नो ढङ्गले अथ्र्याउने प्रयत्न गरिरहेको देखिन्छ त्यसलाई चिर्दै अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो । पूर्वाञ्चलबाट प्रकाशन हुन लागेको गोरखापत्र र वर्तमान टिमलाई बधाई तथा शुभकामना छ ।
निरा भगत ः कानुन व्यवसायी
गोरखापत्रको पूर्वी प्रकाशनको तयारीबाट समयमा पत्रिका नपाउने समस्या समाधान हुने भयो । हामीले सहज पढ्न र लेखहरु लेख्ने अवसर पाउने विश्वास पैदा भएको छ । अब गोरखापत्रले पछाडि परेको वर्ग, समुदाय र क्षेत्रलाई बढी महत्व दिनुपर्छ । गोरखापत्र गोरखापत्र जस्तो नै हुनुपर्छ अरुको नक्कल गर्नु जरुरी छैन । त्यसलाई सबैको साझा बनाउन सबै प्रदेशबाट कानूनी वा अन्य सल्लाहकारहरु राख्ने व्यवस्था गर्नुपर्छ ।


ममता श्रेष्ठ ः साहित्यकार
साहित्य पृष्ठमा महिला सहभागिता बढाउनुपर्छ । महिला सर्जकहरुको सिर्जनालाई स्थान दिनुपर्छ । गोरखापत्रले परिवर्तनको विगुल फुक्नुपर्छ । सत्यतथ्य समाचार लेख्ने, प्रकाशन गर्ने, युवा वर्गलाई उत्साहित बनाउने र प्रगति उन्नतिको सूचना प्रवाहमा ध्यान दिनुपर्छ ।


विमला घिमिरे ः राजनीतिकर्मी
गोरखापत्रसँग मेरो पुरानो सम्वन्ध छ । विराटनगरको कोशी पुस्तक पसलमा गोरखापत्रको आधिकारिक बिक्रेता भएर काम गर्दा गोरखापत्र किन्न आउनेको भीडबाट ज्यान बचाउन हम्मे पथ्र्यो । पत्रपत्रिका सँधै सरकारको विरोधी जस्ता किन देखिन्छन् ? नकारात्मक समाचार मात्र किन आउँछन् र सकारात्मक कुराको खोजी किन हुँदैन भनेर खोजी गर्नुपर्छ । महिलालाई प्रेरणा दिने, स्वरोजगार बनाउने र महिला फेसबुकको दास बन्ने अहिलेको अवस्थाबाट बाहिर निस्किने वातावरण तयार गर्नुपर्छ । गोरखापत्रका लागि महिला पाठक हुनसक्छन् । उनीहरुका चासोका विषय समेट्नुपर्छ । उनीहरुलाई आकर्षित गर्नुपर्छ ।


सीमा आभास ः साहित्यकार
म सानैदेखि गोरखापत्रका प्रकाशन मुना, युवामञ्च, मधुपर्कको पाठक हुँ । समय अनुसार यसले आफूलाई परिमार्जित गर्न सकेन । प्रतिष्पर्धाको बजारमा सोही अनुसारको भूमिका देखाउनुपर्छ । डिजाइनदेखि त्यहाँ भित्रका सामग्रीसम्म गुणस्तर बनाउने प्रयास आवश्यक छ । अरु पत्रिकासँगै राख्दा गोरखापत्र समाउने बनाउन आलोचकले खोजेर पढ्ने र सरकारका पक्षकाहरुले पनि रोज्ने ढंगले विषयबस्तु समावेश गर्नुपर्छ । त्यसकालागि अहिलेको भन्दा फरकधारको पत्रिका बनाउन जरुरी छ ।


महेश रेग्मी ः केन्द्रीय सदस्य नेकपा
ढिलोढालो गर्ने, लापरवाही गर्ने र जागिरे प्रवृत्ति अन्त्य गर्ने हो भने गोरखापत्र अब्बल बन्छ र बनाउनुपर्छ । अब हाम्रै ठाउँबाट प्रकाशन हुने भएपछि समयमै पढ्न पाउने अवसर मिल्ने छ । अहिले सञ्चार क्षेत्रमा नकारात्मक पक्ष बढी हावी देखिन्छ । हामीमा पनि पक्ष विपक्षको भावना कायम छ । सबैले साझारुपमा संविधान बनाएर राष्ट्रिय मार्गदर्शन गरिसक्दा पनि हाम्रो मानसिकता बदलिएको छैन । अहिलेको बेलामा मिडियाको भूमिका महत्वपूर्ण छ । सरकारी पत्रिका भन्दैमा सरकारले गरेका सबै कामको समर्थन गर्नु जरुरी छैन । सरकारले गर्ने गलत कार्यको ढुक्क भएर आलोचना गर्नुपर्छ । सबै पक्षको विचार र भावना सन्तुलित ढङ्गबाट आउनुपर्छ । विश्वास आर्जन गर्नुपर्छ । रुचि अनुसारको सामग्री प्रकाशन गर्नुपर्छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?