logo
२०८१ जेष्ठ ३ बिहीवार



सडक मर्मतको माग गर्दै चक्काजाम

प्रदेश |


सडक मर्मतको माग गर्दै चक्काजाम


जनार्जन खत्री

सर्लाही, असोज २ गते । पूर्व–पश्चिम राजमार्गस्थित सर्लाहीको नयाँरोड खण्ड जीर्ण भएको लामो समय भइसक्दा समेत मर्मत नगरिएको भन्दै स्थानीयवासीले बिहिबर बिहान चक्काजाम गरेका छन् ।

रातदिन व्यस्त रहने पूर्व–पश्चिम राजमार्गमा ठूल्ठूला खाल्डाखुल्डी भएको महिनौं भइसक्दा समेत मर्मतमा चासो नदिएपछि बाध्य भएर विरोधमा उत्रिएको स्थानीयवासीले बताएका छन् । केही दिनदेखि भइरहेको वर्षाले सडक झन् जीर्ण बनेको स्थानीय रामहरि प्रसाईले बताउनुभयो । भत्किएको लामो समय भइसक्दा समेत कालोपत्रे नहुँदा सडकमा घाम लागेको बेला अत्यधिक धूलो उड्ने र पानी परेको बेला पोखरी झैं पानी जम्ने गरेको छ, नयाँरोड चोकमा पसल सञ्चालन गर्दै आउनु भएका प्रसाईले भन्नुभयो, राजमार्ग धराप भएपछि सम्वन्धित निकायको ध्यानाकर्षण गराउन बाध्य भएर चक्काजाम गरेका हौँ ।

सडकमा अत्यधिक खाल्डाखुल्डी भएकाले मोटरसाइकल, जीप, कार, टेम्पुजस्ता साना सवारी दैनिकजसो दुर्घटनामा पर्ने गरेका स्थानीयवासीको भनाई छ । उनीहरुले बिहिवार पहिलो दिन चेतावनी स्वरुप आधा घण्टा चक्काजाम गरिएको र अब सडक मर्मत नहुञ्जेल दैनिक आधा घण्टाको दरले बढाउँदै लगिने चेतावनी दिएका छन् । सडकको दयनीय अवस्था देखेर यात्रुहरुले समेत स्थानीयवासीले बिहिवार गरेको चक्काजाममा साथ दिएका थिए ।

हरिवनस्थित नयाँरोड खण्डमा पूर्व–पश्चिम राजमार्ग करिव सय मिटर क्षेत्रमा अत्यन्त जीर्ण बनेको छ । जिल्लाका अन्य स्थानमा खाल्डाखुल्डी परेको सडक बेला–बेलामा मर्मत भए पनि त्यहाँ भने मर्मतको काम हुन नसकेको स्थानीयवासीको भनाई छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले नयाँरोड खण्डको जीर्ण सडकले गम्भीर किसिमको दुर्घटना निम्तने खतरा रहेको जनाएको छ ।

डिभिजन सडक कार्यालय, चन्द्रनिगाहपुर, रौतहटले नयाँरोड क्षेत्रमा भत्किएको पूर्व–पश्चिम राजमार्ग तत्काल मर्मत सम्भार हुने जनाएको छ । कार्यालयका प्रमुख दारोगाप्रसादले कालोपत्रेका लागि बिहिवार नै टेण्डरको सूचना प्रकाशित गरिएको जानकारी दिनुभयो । उहाँले ठेकेदारमार्फत सडक मर्मतको काम अघि बढाइने बताउनुभयो । ठेकेदार मार्फत नै कालोपत्रे गर्नुपर्ने भएकाले टेण्डर आह्वान गर्दै हामीले आज (बिहिवार) नै सूचना निकाली सकेका छौँ, जतिसक्दो चाँडो ठेक्का सम्झौता गरी कालोपत्रेको काम सुरु गछौँ, उहाँले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?