logo
२०८१ बैशाख ७ शुक्रवार



यस वर्ष तराईमा दुई समुदायले दुई दिन जितिया मनाईदै

प्रदेश |


यस वर्ष तराईमा दुई समुदायले दुई दिन जितिया मनाईदै
थारु समुदायका महिलाहरु शनिबार पोखरीमा तेल खैर विधि गरी पूजा गरिदंै । तस्विर -माला कर्ण


माला कर्ण
सप्तरी, असोज ४ गते । महिलाहरुले कठोर व्रतका रुपमा मनाईने जितिया पर्व यस वर्ष तराईमा दुई दिन मनाईदै छ । तिथिको कारण यस वर्ष मधेशी र थारु समुदायले जितिया पर्व दुई दिन मनाउने भएको छ।

मधेशी समुदायका महिलाहरुले शनिबार व्रत बसी आइतबार दिउँसो ३ बजे पारण गर्ने छ भने थारू समुदायका महिलाहरुले आइतबार व्रत बसी सोमबार विहान पारण गर्ने छ । उनीहरुले यस वर्ष १४ वर्षपछि खर जितिया (शुद्ध जितिया) परेको भन्दै भव्य रुपमा मनाईदै छ ।

थारु समुदायले सप्तरीको कल्याणपुरको विसनपुर भव्य कार्यक्रम पनि आइतबार आयोजना गरेको छ। डिहवारवाला युवा क्लबले खडक नगरपालिकाको विसनपुरमा जितिया महोत्सव तथा पूजा विधि र पोखरीमा गरीने विधिहरुको पनि पूर्ण रुपमा तयारी गरिएको छ ।

आफ्नो सन्तानको दीर्घायु, सुखसमृद्धि र मनोकामना पूर्ण गराउन जितियाको व्रत लिँदै आएका उनीहरुसँगै यस वर्ष नयाँ विवाहिता महिलाले समेत जितिया प्रारम्भ गर्न मिल्ने थारु संस्कृतिविद इन्द्र चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयोे, ‘थारू समुदायको महान् पर्व हो जितिया । महिलाहरू आफ्नो सन्तानको दीर्घायु, सुखसमृद्धि र मनोकामना पूर्ण गराउन जितियाको व्रत लिन्छन् । थारू समुदायमा जब मान्छे मर्नबाट संजोगवश जोगिन्छ तब भनिन्छ, ‘तिम्री आमाले जितिया व्रत लिएकी हुनाले तिमी बाँच्यौ ।’

हिन्दू नारीले तीजमा जस्तै थारू महिलाले पनि प्रत्येक वर्ष असोज कृष्ण पक्ष सप्तमीदेखि नवमीसम्म जितिया मनाउँछन् । परिवारको सुख, शान्ति र दीर्घायुको कामना गर्दै आपसी प्रेम साटासाट गरेर जितिया मनाइन्छ ।

असोज कष्णपक्षको सप्तमीदेखि नवमीसम्म यो पर्व मनाइने यो पर्व सप्तमीको दिन नुहाएर खाएर यो पर्व सुरु हुने गर्छ । र, यो पर्वको नहाय खाय थारु समुदायका महिलाहरु शनिबार गरेका छ भने अन्य मधेशी समुदायका महिलाहरुले शुक्रबार नै नहाय खाय गरी शनिबार व्रत बसेका छन् ।

शास्त्रअनुसार जुन तिथीमा सूर्योदय हुन्छ त्यो तिथिको व्रत बस्नुपर्ने मान्यता अनुसार शनिबार अष्टमी तिथी दिउँसो ३ बजेबाट सुरु भई आइतबार दिउँसो ३ बजेसम्म रहने भएकोले सोही तिथी अनुसार मधेशी समुदायका महिलाहरुले शनिबारदेखिनै व्रतबसी आइतबार दिउँसो ३ बजेपछि मात्र नवमी तिथि हुने भएकाले नवमी तिथिमा पारण गर्ने पण्डित धरन्जय झाले बताउनुभयो ।
यता थारु समुदायका महिलाहरुले भने शनिबार ३ बजेसम्म सप्तमी तिथि नै रहेको भन्दै व्रत आइतबार लिने जसोदेवी चौधरीले बताउनुभयो ।

उहाँहरुले नुहाएर खाने दिन (शनिबार) वर्तालु महिलाले स्थानीय जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना, तेल, सिन्दुर चढाएर पूजा गरेका छन्। यस पर्वमा नुहाएर खाएको दिन अनिवार्य रुपमा वर्तालु महिलाले माछा तथा मरुवाको रोटी खाने चलन छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?