शिवशंङ्कर मिश्र
बारा, असोज ११ गते । नजिकिएका चाडपर्वले बजार र वस्तिमा चहल पहल बढेको छ । किनमेल घरको सरसफाइमा लाग्नु पर्ने बेला वाराको महागढीमाई नगापालिकाका केही घर सुनसान छन् । घरको मुल ढोकामा तीन/तीन वटा ताल्चा लगाइएको छ ।
महागढीमाई नगरपालिका वडा नम्बर १० की अनिता देवी चमैन, शान्तिदेवी चमैन, सन्केसिया चमैन, चान्दादेवी चमैन, जनारस खातुनको घरमा ढोका लागेका छन् ।
यसै गरी सोही वडाका सहालम देवान, हसिब देवान, देवराज राम चमार, सराजुल देवान, सुटु देवान, सगीर देवान, वडा नम्बर ३ का जईलाल राम चमार लगायतका घरमा पनि ताल्चा मारिएको छ । अनिता देवी चमैन महागढीमाई नगरपालिकाको वडा नम्बर १० मा निर्वाचित सदस्य हुनुहुन्छ । शान्तिको घरमा तीन वटा वित्तीय संस्थाले ताला लगाएका छन् भने सन्केसिया चमैन, देवराज चमारको घरमा एकएक वटा बैंकले ताला लगाएका छन् ।
।
गाउँमा साहु महाजनसँग लिइएको मिटर, चकरी तथा ट्याक्सी व्याज तिर्न स्थानीय लघुवित्तबाट लिएको ऋण चुक्ता गर्न नसके पछि घर छाडेर भाग्न बाध्य गरीबका घरमा स्थानीय लघुवित्तका संस्थाहरूले ताला लगाएका हुन ।
अहिले सो गाउँका एक दर्जन जति परिवार घर छोडेर विस्थापित भएका छन् । गाउँटोलमा रहेका गैर बैकिङ्ग संस्थाहरूको कडाई पछि यसरी गाउँ नै छोडेर उनीहरू भागेको स्थानीयले बताएका छन् ।
दुई छाकको भोक टार्न विभिन्न काम गरे पनि घर, परिवार धान्न अप्ठयारो भएपछि धेरैले साहुसँग ऋण लिए साहुको र साहुले मिटर, चकरी तथा ट्याक्सी व्याजले उनीहरूलाई च्याप्यो साहुको ऋण तिर्न उनीहरू दुई तीनवटासम्म लघुवित्त वचत कार्यक्रममा सहभागी भए, ऋण लिए तर साहुको व्याजको भारीले लघुवित्तसँग लिएको कर्जा र्तिन नसकेपछि गाउँ नै छोडेर बिस्थापित हुन बाध्य भए । हरेक १५ दिनमा यस्ता समूहमा कर्जा सहितको ब्याज र साँवा र्तिनपर्ने प्रावधान छ ।
स्थानीय महिलाहरुको समूहमा सदस्य बनेका गोलियाबासी महिलालाई समूहका सदस्यले कर्जा चुक्ता गर्न दैनिक दवाव दिएपछि उनीहरुले बाध्य भएर घर छोडेर अन्यत्र भागेकोे छिमेकीहरुले बताएका छन् ।
शहरमा भन्दा पनि ग्रामीण भेगका सहकारी तथा लघुवित्तीय संस्था मार्फत चर्को व्याज दरमा पैसा लगानी गर्ने र ऋण असुली गर्ने क्रम बढेपछि धेरैको उठिवास भएको गंजभवानीपुरका स्थानीय ताहिर देवान दर्जीले बताउनुभयो ।
महागढीमाई नगरपालिका भित्र मात्र दर्जनबढी लघुवित्त तथा महिला समुहमा साना व्यवसाय गर्नका लागि लाखौं रुपियाँसम्म लगानीगरी कारोबार गर्दै आएका छन् ।
बैंकले ताला लगाएका तथा यसरी घर छोडेर भागेकाहरु माथि करिब तीन देखी १२ लाख रुपियाँसम्म कर्जा रहेको समुहमा बस्ने महिलाहरुले बताएका छन् ।
यस्तै २५ जनाको समुहमा सहकारी संस्था बनाएर टोलटोलमा मासिक रकम जम्मागर्ने र समुहको व्यक्तिलाई थोरै तथा समुह बाहिरका व्यक्तिलाई एक सय रुपियाँको अढाईदेखि तीन रुपियाँको दरले मासिक ब्याज लिने गरेका लघुवित्त तथा सहकारी सक्रिय छन् ।
फाइनाइन्स, सहकारी तथा वित्त समूहहरूको बढ्दो प्रतिस्पर्धाले सजिलै ऋण प्राप्त हुने गर्छ । ऋणको शिर्षक धेरै छन् त्यस कारण कुनै योजना बिना नै महत्व लिएको ऋणबाट फजुल खर्च बढीगर्ने बचत तर्फ ध्यान नदिदा धेरै ऋणी विस्थापित हुन वाध्य भएो रामराजा बहुमुखी क्याम्पस कलैयाका अर्थशास्त्र विभाग प्रमुख चन्द्रप्रकाश सुवेदीले बताउनुभयो ।
ऋण लिएकाहरूको घरमा कसैले बिरामी भए फेरि बैंकले थप ऋण दिने गर्छ, भौतिक सुख, सुविधामा लागेका ऋणीहरूमा दीर्घ सोच नभएका कारण लिएको ऋण सदुपयोग भन्दा दुरुपयोग गर्दा यस्ता समस्या आएको र यस्ता बैंकले ऋणी मात्र बनाउने गरेका अर्थशास्त्री सुवेदीले दावी गर्नुभयो ।