सन्तोष सुवेदी
सिरहा, असोज १३ गते । हाम्रो समाजमा वडादशैंको बेला एउटा उखान निस्किने गरिन्छ, ‘दशैं आयो ढोल बजाई, दशैं गयो ऋण बोकाई’ तर यसपटक विजयादशमीमा अति विपन्न र हरुवाचरुवा परिवारको सूचीमा रहेका धनगढीमाई नगरपालिका–९ स्थित मुसहर्नियाका सीतादेवी सदालाई यस्तो उखानले प्रभाव नपार्ने भएको छ ।
दशैंको आगमनको सूचकको रुपमा रहेको ढोल बजाउने काम दलित अगुवाकै पहलमा बन्द भएको डेढ दशक पुगिसकेको छ । ढोल नबजे पनि असोज प्रारम्भ हुने बित्तिकै टोल समाजमा देखिने चहलपहलले यो महिना लाग्नेबित्तिकै सर्वसाधारणमा दशैंको आगमनको महसुस हुने गरेको छ ।
दशैंको आगमनसँगै दशैं मनाइने योजनाले कतिपय विपन्न वर्गमा तिर्नै नसक्ने ऋण थुप्रिदै जान्छ तर सीतादेवीलाई दशैंको बेला आइपर्ने ऋणबाट मुक्ति दिने युक्ति आफैंले पालेको खसीले जुटाइदिएको छ । झण्डै दुई वर्ष अगाडि हरुवाचरुवा सशक्तिकरण अभियान अन्तर्गत स्वरोजगारका लागि सामुदायिक विकास मञ्चले दिएको १५ हजार रुपियाँले सीतादेवी अब जुनसुकै ऋणबाट मुक्त हुने क्षमतामा पुग्नुभएको हो ।
‘परारको कात्तिकमा हो मञ्चले मलाई स्वरोजगारका लागि भनेर १५ हजार रुपियाँ प्रदान गरेको थियो’, सीतादेवी सदाले भन्नुभयो–त्यही रकमबाट मैले गर्भवती अवस्थाको दुई वटा बाख्रा किने र अहिले त्यही बाख्राबाट उत्पादन भएको खसी बेचेर दशैं धान्ने भएको छु ।
सीतादेवीले दशैंको लागि भनेरै लहानको अघिल्लो सोमबारे हटियामा दुई वटा खसी १३ हजार रुपियाँको दरमा विक्री गरेर आफ्ना केटाकेटीको कपडा खरीद गरिसक्नुभएको छ । त्यति मात्रै होइन, धान रोपाईंको बेला पञ्जाबबाट आउनुभएका आफ्ना पति रामकुमार सदालाई कमाउनको लागि फेरि पञ्जाब पठाउन जाने बाटो खर्च र केही पकेट खर्चको पनि बन्दोबस्त गरिसक्नुभएको छ ।
‘पहिले पहिले दशैंको खर्च जुटाउन र पतिलाई विदेश पठाउनु प¥यो कि गाउँकै सम्पत्तिवालासँग ऋण लिनुपर्दथ्यो’, उहाँले भन्नुभयो–त्यो ऋण नतिरुञ्जेल उनीहरुको घरमा निशुल्क कामकाजमा खट्न बाध्य भइन्थ्यो तर अब खसी बेचेको रकमले दुवै कामलाई पुगेपछि ढुक्क लागेको छ ।
सोही बस्तीकी फुलकुमारी सदालाई पनि यसपटक दशैंको जोहो गर्न कतै ऋण खोज्नुपर्दैन पर्दैन । उहाँसँग पनि सीतादेवी जस्तै यसपालि बेच्न ठिक्क पारेको दुई वटा खसी छ । एक÷दुई हटियापछि खसीको भाउ झनै बढ्ने र अहिलेको तुलनामा दुई÷चार हजार बढी रकम कमाउने दाउमा रहनुभएकी फुलकुमारीले भन्नुभयो–‘हामीलाई समुहमा बाँधेर स्वरोजगार गर्न केही आर्थिक सहयोग उपलब्ध गराएपछि बल्ल हामीलाई अरुको बँधुवा मजदुरीबाट मुक्त हुने बाटो खुलेको छ ।’ यसअघि सानोतिनो अड्को फड्को टार्न पनि आफूहरु गाउँकै सम्पत्तिवालकहाँ पुग्नुपर्ने फुलकुमारीले सुनाउनुभयो ।
सामुदायिक विकास मञ्चले पाँच वर्ष अगाडि मुसहर्नियाका २७ हरुवाचरुवा परिवारलाई मासिक बचत गर्न समुह गठन गरेको थियो । समुहमा संलग्न २५ हरुवाचरुवा परिवारले सोही बचतबाट ऋण लिएर स्वरोजगारमार्फत आफ्नो अवस्था सुधार गरिसकेका छन् भने बाँकी दुई अति विपन्न हरुवाचरुवा परिवारका सीतादेवी र फुलकुमारीलाई बाख्रापालनका लागि दुई वर्षअघि १५ हजारका दरले दिइएको आर्थिक सहयोगले उनीहरुको अवस्थामा पनि सुधार हुँदै गएको छ ।
‘सानो ऋणमा पनि चर्को ब्याज र ब्याजमाथि चक्रवर्ती ब्याज थोपरेर गाउँकै जमिन्दारहरुले दशकौंदेखि ती परिवारहरुलाई हरुवाचरुवाका रुपमा श्रममा लगाइरहेका थिए’, मञ्चका अध्यक्ष विनोद चौधरीले भन्नुभयो–‘हामीले शैक्षिक, भौतिक र आर्थिक तीनै किसीमको अभियान थालेर उनीहरुलाई केही सचेत बनाएका छौ, अब के गर्दा अरुको बँधुवा बन्नबाट जोगिन्छ भन्ने कुरा उनीहरुले बुझिसकेका छन् ।’