जिवछ यादव
लहान, असोज १८ गते । दशैको रमझममा कर्मचारी,व्यापारी र हुनेखाने वर्गहरु किनवेचमा व्यस्त भएपनि हात मुख जोर्न दिनहुँ मजदुरी गर्नुपर्ने बाध्यता रहेका बालुवा गिटी चालेर गुजारा गर्ने मजदुरहरुलाई दशै आएको जस्तो कुनै उत्साह देखिएको छैन ।
लहान १०, १४ र २४ का दलित समुदायहरु दिनहुँ खुटीसरे खोलामा बालुवा गिटी चालेर गुजारा गर्नेहरू मजदुरीले पेट पाल्ने बाहेक एक रुपियाँ रकम बचत नहुनेहरुले कसरी दशैको रमझम गरौला ? दशै त हुनेखाने कर्मचारी र व्यापारी वर्गको पर्व हो । मजदुरको लागि कुनै पर्वमा उत्साहित हुन खर्च गर्न रकम नै हुँदैन के चाडपर्व मनाउनु सरे खोलामा गिटी बालुवा चालिरहेका धनिकलाल पासवान बताँउछ ।
उहाँ भन्नुहुन्छ–तीन महिना खोला बन्द हुँदा साहु महाजनबाट ऋण काढेर गुजारा गरयौ बल्ल खोला खुलेको छ । वर्षातको कारण दुई दिन चाल्दा आठ सय रुपियाँ हुन्छ । आठसयमा खाएको ऋण तिर्न र पेट पाल्नैमा सकिन्छ । पैसा भए पो दशै मनाउनु । देशमा अवस्था , व्यवस्था बदलिएपनि गरीव मजदुरको लागि केहि परिर्वन नआएको गुनसो धनिकलाल जस्तै अरु मजदुरहरुको छ ।
अर्का मजदुर विरेन्द्र पाससवान बताउँनुहुन्छ, गरीव मजदुर चाडपर्वमा पनि दुई चार दिन बसेर मिठो मसिनो खाने नयाँ लुगा लगाउने अवसर पाँउदैन । सरे नदीको किनारमा घर छ, यहि नदीको बालुवा गिटी चालेर गुजारा गर्ने भर छ । दशैको मेला हेर्न एक दिन लहान बजार गएर देवी दुर्गाको दर्शन गरेर दुई चार सयको प्रसाद ल्याई खान्छौ, हाम्रो दशै सधैं यस्तै बित्ने गरेको छ ।
मानव अधिकारवादी राज कुमार राउतका अनुसार दशैं सवैको पर्व बनोस् , मजदुर गरीवहरुपनि दशैको उमंगमा रमाइलो गर्न पाउन यसको लागि सुकुम्वासी र विशुद्ध पसिना वेचेर खाने मजदुर वर्गको लागि तीनै तहको सरकारले केहि राहतको व्यवस्था गरिदिए हुन्थ्यो ताकि सामाजमा पर्वको वेला भए पनि सामानता देख्न सकियोस् ।
दलित अभियानकर्मी मोहन पासवान भन्नुहुन्छ– दशैको वेला के शहर के गाँउ चारैतिर रमझम हुन्छ तर मजदुरहरुको घरमा दशैं कहिल्ेपनि नआए जस्तो हुने गरेकोले अति विपन्न परिवारको चयन गरेर दशैको वेला लुगा, खाद्यपदार्थ सहुलियतमा परिचयपत्रको आधारमा दिएर सबैले चाडपर्व उमंग र उललासपूर्ण वातावरणमा मनाउन तीनै तहको सरकारको ध्यान जाओस् । साथै चाडपर्वमा हुने आनवश्यक तडपभडकलाई अन्तय गर्नुपर्ने देखिएको छ ।