सुदूरपश्चिम ब्युरो
धनगढी, असोज १९ गते । सुदूरपश्चिम प्रदेशका उग्रतारा, शैलेश्वरी, त्रिपुरासुन्दरी, मेलौली, नाटेश्वरी लगायतका शक्तिपीठमा भाकल अनुसारको बोका, कुखुरा तथा हाँसको बलि दिएर वरदान माग्ने चलन पराम्परागत रूपमा चल्दै आएको छ ।
खास गरेर सुदूरपश्चिमका पहाडी जिल्ला डोटी, डडेलधुरा, अछाम, बाजुरा, बझाङ, बैतडी र दार्चुलामा विभिन्न प्रकारले एक महिनाभन्दा लामो समयसम्म दशैँ मनाइने गरिन्थ्यो । गाउँघरमा बाँडीचुँडी मिलेर खाने र गर्जाे टार्ने प्रचलनले एक महिनाभरि दशैँको रौनकताले छाडेको हुन्थेन तर पछिल्लो समय बढ्दै गएको महँगी, बसाइँसराइ र राँगा र बोकाजस्ता पशुको अभावले पनि युगौँदेखिको दशैँ मान्ने संस्कृतिमा केही परिवर्तन हुन थालेको छ ।
धेरैजसो ठाउँमा राँगा काट्नै छोडिएको छ । पशु अधिकारका विषयले महìव पाएपछि यो प्रचलनमा कमी आएको हो । अष्टमीदेखि बडादशैँको दिनसम्म कतिपय शक्तिपीठमा राँगा दौडाएर काट्ने अनि रातभरि देउडा खेल खेल्ने चलन सुदूरपश्चिमका कतिपय स्थानमा थियो तर पछिल्लो समयमा यो प्रचलनमा पनि कमी आएको छ । रातभरि डेउडा खेल्ने संस्कृति त करिब हराइसके जस्तो भएको छ भने दिउँसो डेउडा खेल्ने प्रचलनमा निरन्तरता छ । शक्तिपीठमा हुने रातभरिको डेउडा र दौडाएर राँगा मार्ने दृश्य हेर्नका लागि कतिपय मानिस रोजगारी र अध्ययनका लागि देश–विदेशमा रहेकाहरू घर आउने गरेका छन् । धान काटेर पराल निकालेको यो मौसममा परालको डोरी बनाएर पिङ (स्थानीय भाषामा हमाली) खेल्ने प्रचलन त कायमै रहेको छ ।
शिलदेवी मेलाको रौनक यथावत्
पछिल्ला वर्षमा बझाङमा दशँैका अवसरमा लाग्ने विभिन्न स्थानका मेला पर्वको संस्कृति हराउँदै गएको छ । शक्तिपीठहरूमा बोका, हाँस, कुखुरा तथा राँगाको बलि गरिसकेपछि देउडा खेल्ने, परम्परागत शैलीका झाँकीहरूसहित सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिने भए पनि पछिल्लो पुस्ताले यसलाई महìव नदिएपछि स्थानीय संस्कृति लोप हुने अवस्थामा पुगेको छ ।
रोजगारी तथा पढाइका लागि घरबाहिर गएकाहरू पनि जन्मथलो फर्किने क्रम बढेको छ । जसले गर्दा सदरमुकाम चैनपुर तथा स्थानीय बजारमा किनमेल गर्नेको घुइँचो लागेको देखिन्छ । मेला पर्वहरूमा जाँडरक्सी सेवन गरेर होहल्ला गरिन थालेपछि पनि परम्परादेखि चल्दै आएका रातभर चल्ने मेला तथा संस्कृति लोप हुन थालेका हुन् ।
खप्तड छान्ना गाउँपालिका वडा नम्बर २ तोलीमा नवमीका दिन लाग्ने मेला बझाङमा लाग्ने मेलाहरूमध्येको एक हो तर तोलीमा पनि आजभोलि औपचारिक ढङ्गले राँगा बलि हुने भए पनि पहिलेको जस्तो मेलाको रौनक छैन । देउडा लगायतका कार्यक्रमसमेत हुन छोडेको स्थानीय रमेश रोकायाले बताउनुभयो ।
पाटादेवलको लामागडा, गडरायको बिडा, थलाराको खोली, मोतुवाको बारा, तल्कोटको खौलामा लाग्ने मेलाको रौनकसमेत पछिल्लो समयमा घट्दै गइरहेको छ । स्थानीय तहले संस्कृति बचाउनका लागि फाटफुट रूपमा कार्यक्रम आयोजना गर्ने भए पनि त्यसको प्रभावकारिता पनि खासै नदेखिएको स्थानीयको भनाइ छ । पूर्णिमामा लाग्ने शिलदेवी मेलाको रौनक भने अझै ताजै छ । रातभर डेउडा प्रतियोगिता गराएर संस्कृति बचाउने अभियानमा स्थानीय तहमा भएको प्रयासले सार्थकता पाउँदै आएको छ ।
बलि दिन राँगा पाउनै छाड्यो
दशँैमा धेरै राँगा काटिने जिल्लाका रूपमा बैतडी निकै परिचित छ । गाउँघरमा भैँसी लोप भएसँगै राँगाको अभाव हुन थालेपछि पछिल्ला वर्षहरूमा निकै कम राँगा काटिन थालेका छन् । यहाँ अहिले एउटै राँगाको मूल्य ८० हजार रुपियाँसम्म
पुगेको छ ।
नवरात्रिदेखि अष्टमीसम्म मनोकामना पूरा गर्न भाकलअनुसार यहाँका विभिन्न शक्तिपीठमा राँगाको बलि दिने चलन पुरानै हो । पछिल्लो समय मन्दिरमा बलि दिने राँगा घट्दै गएको बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरका पुजारी गोविन्दप्रसाद लेखकले बताउनुभयो ।
दशैँका अवसरमा जिल्लाका अन्य शक्तिपीठहरूमा अष्टमीको दिन राँगाको बलि हुने भए पनि जिल्लाको तल्लोस्वराड क्षेत्रको मेलौली भगवती मन्दिरमा नवरात्रिदेखि अष्टमीको दिनसम्म लगातार बलि हुने गर्छ । शुक्रबार षष्ठीको दिनसम्म ६० वटा राँगाको बलि भएको मेलौली भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जगदीश नायकले जानकारी दिनुभयो । मेलौलीमा विगतमा ३०० भन्दा बढी राँगाको बलि हुने गरेको थियो ।
भैँसी लोप हुन थालेपछि मन्दिरमा बलि चढाउने राँगाको सङ्ख्या घटेको र मूल्य बढेको अध्यक्ष जगदीश नायकले बताउनुभयो । भैँसीमा खरीरोग लागेका कारण पछिल्लो समय किसानले भैँसी पाल्न छोडेको किसान लोकेन्द्र विष्टले बताउनुभयो ।
यहाँको निङ्गलासैनी भगवती मन्दिर देहिमाडौँ, त्रिपुरासुन्दरी भगवती मन्दिर गोठालापानी, मल्लादेही र तल्लादेही भगवती मिन्दर पुरचौडी, मेलौली भगवती मन्दिर तल्लोस्वराड, उदयदेव मन्दिर कफाडी, उदयदेव मन्दिर पाटन र रौलेश्वर मन्दिर रामकीबरायलमा राँगाको बलि दिने चलन रहेको छ ।
कम हुँदैछ बलिप्रथा
अछाममा भाकलअनुसार मन्दिरमा राँगा, बोकाको बलि दिएर र देउडा खेलेर दशैँ मनाउने गरेको परम्परागत प्रचलन विस्तारै कम हुँदै गएको छ । अछामका गाज्रा, तिमिल्सैन, मङ्गलसेन, मार्कुको सान्निकोटलगायत स्थानमा सयौँ राँगा र बोकाको बलि दिइने भए पनि पछिल्ला वर्षमा यो क्रम घट्दै गएको स्थानीयको भनाइ छ ।
बोका, राँगा, कुखुरा तथा हाँस महँगीका कारण बलि दिने प्रथामा थोरै परिवर्तन आएको स्थानीय वयोवृद्ध नबल खड्काले बताउनुभयो । केही वर्षपहिले एक सयभन्दा बढी राँगा काटिने अछामको सबैभन्दा ठूलो दशैँ मानिने गाज्राको डौठेगडामा पछिल्लो समयमा राँगा र बोका काट्ने क्रम निकै कम भइरहेको स्थानीयवासी तथा बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर १ गाज्राका वडा अध्यक्ष हिरण्डबहादुर खड्काले बताउनुभयो ।
वडा अध्यक्ष खड्काका अनुसार राँगा, बोकाको मूल्य निकै बढ्नुले बलिमा कमी हुने गरेको छ । सामान्यतया मध्यम खालको राँगोलाई ७०÷८० हजार रुपियाँ मूल्य पर्ने गरेको छ । बान्नीगढी जयगढ गाउँपालिका वडानम्बर ४ मा रहेको तिमिल्सेनमा बलिप्रथा अन्त्य गर्न तिमिल्सैना समाज अभियान नै गरिरहेको समाजका जिल्ला अध्यक्ष तिलकबहादुर खत्रीले जानकारी दिनुभयो ।
बाजागाजा बजाएर राँगा, बोकाको बलि दिने गरिए पनि पछिल्लो समयमा स्थानीय बाजा बजाउने व्यक्ति उपलब्ध नभएका कारण बलिप्रथा कम भएको हुनसक्ने उहाँले बताउनुभयो । मदिरा सेवन अत्यधिक बढ्नु, मेलामा महिलाले असुरक्षित ठान्नुले दशैँताका रातितिर खेलिने देउडा खेल्ने प्रचलनसमेत घट्दो क्रममा रहेको छ । विभिन्न गाउँका केटाकेटी मिलेर देउडा खेल्दै आफ्ना सुखदुःख, मायाप्रेमका गीत गाएर रात कटाउने केही वर्ष पहिलेको अवस्था अब छैन, बान्नीगढी जयगढ गाउँपालिका वडानम्बर ४ का वडा अध्यक्ष मोतीराम तिमिल्सेनाले भन्नुभयो ।
रातभर देउडा खेलेर पछिल्लो बिहान घर जाने प्रचलन भए पनि हाल मदिरा, सडकको पहुँच र सवारी साधन उपलब्धताका कारण मानिसहरू मेलाबाट चाँडै घर फर्किने गरेको उहाँले बताउनुभयो । रातो र सेतो कमेरोले घर लिपपोत गरेर अष्टमी र नवमी गरी दुई दिन दशैँ मनाइने चलन अछाममा पनि छ । पछिल्लो समय अछाममा पनि दशमीको दिन जमरा लाउने प्रचलन बढेको छ ।
उस्तै छ बलिप्रथा
सुदूरपश्चिमका धेरै पहाडी जिल्लामा दशैँको परम्परामा ह्रास आउन थाले पनि डोटीका ग्रामीण क्षेत्रमा भने चहलपहल बढेको छ । रोजगारी, अध्ययनलगायत विभिन्न कामले घरबाहिर रहेकाहरूसमेत घर फर्किएपछि गाउँघरमा चहलपहल बढेको हो । बसाइँसराइ गरेर गएकाहरूसमेत शक्तिपीठहरूमा भाकल अनुसारको बोका र राँगाको बलि दिन पुख्र्यौली थलो फर्किने चलन छ ।
डोटी सदरमुकाम सिलगढीको शैलेश्वरी मन्दिरसँंगै जोडिएको कालिका भगवतीको मन्दिरमा सयौँ बोकाको बलि दिने गरिन्छ । सदरमुकाम सिलगढी लगायतका ग्रामीण क्षेत्रहरूमा रहेका देवीदेवताका शक्तिपीठहरूलाई सरसफाइ र रङरोगन गरेर झकिझकाउ पारिएको छ । पछिल्लो समयमा जिल्लाका ग्रामीण क्षेत्रहरूमा दशैँमा बोकाको बलि दिने चलन बढ्दै गएको छ । अघिल्लो वर्ष एक सय ५० भन्दा बढी बोका र ४० वटा राँगाको बलि दिइएको डोटीको सायल गाउँपालिकाअन्तर्गत डौँड गाउँमा पर्ने कालाढु्ङ्गा भगवतीको मन्दिरमा यस वर्ष बलि दिनुपर्ने पशुको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ ।
कालाढुङ्गा मन्दिरमा बलि दिनका लागि आसपासका गाउँका साथै छिमेकी जिल्लाहरू बझाङ, अछाम, बैतडी र डडेल्धुराबाट बोका, राँगा लिएर आउने गरेका छन् । कालाढुङ्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष यदु पाण्डेले भन्नुभयो, अहिलेसम्म हामीलाई प्राप्त जानकारीअनुसार यो वर्ष अहिलेसम्मकै सबैभन्दा बढी राँगा र बोकाको बलि दिइने भएको छ । कालाढुङ्गा भगवतीको मन्दिरमा अष्टमीको राति र नवमीको बिहान बोकाको बलि दिने गरिन्छ भने नवमीको बेलुका राँगाको बलि दिएपछि मेला सुरु हुन्छ । नवमीको राति नाचगान गरेर दशँै मेला मनाइन्छ । कालाढुङ्गा भगवतीको मन्दिरमा दशैँको टीका लगाइसकेपछि दिउँसो बागजात्रा मनाउने चलन छ ।
स–साना दुःख र बिरामी हुँदा पनि देवीदेवतालाई बोका र राँगा भाक्ने चलन डोटीमा कायमै छ । वर्षभरि भाकल गरिएका बोका र राँगाको बलि दशैँमा दिने गरिन्छ । दशैँमा मासु खानकै लागि बोका काट्नेहरू पनि धेरै हुन्छन् ।
दशैँको मौलिकता घट्दै
बढ्दो आधुनिकता र सञ्चार प्रविधिको विकासले गर्दा दशैँको मौलिकता घट्दै गएको छ । गाउँगाउँमा रहेका मठमन्दिरमा घटस्थापनादेखि विजया दशमीसम्म नौ दिन पूजा आराधना गर्दै सामूहिक नवरात्रा बस्नेको सङ्ख्या कम हुँदै गएको मालिकार्जुन मन्दिर मैखोलीका भण्डारी (भरण्या) गोविन्दराज जोशीले बताउनुभयो ।
घटस्थापनाको दिन मन्दिरमा सामूहिक जमरा छर्ने, नौ दिनसम्म एक छाक शुद्ध खाना खाने, पूजा गर्ने, दशमीका दिन आफ्नो कुल देवताको पूजा गरेर मात्र दशैँको टीका लगाउने चलन रहेकोमा केही वर्षयता घट्दै गएको संस्कृतिका जानकार ८५ वर्षीय चन्द्रदेव भट्टले बताउनुभयो । मनोकामना पूरा होस् भनेर अष्टमी र दशैँका दिन विभिन्न देवताका मन्दिरहरूमा ठूलो सङ्ख्यामा राँगा, बोकाहरूको बलि दिने चलनसमेत रहेको छ । पहिलेको तुलनामा बलि दिने चलन घट्दै गए पनि अन्त्य भइनसकेको वासुदेव जोशीले बताउनुभयो ।
उहाँले भन्नुभयो, पछिल्लो पुस्ताले परम्परागत दशैँका विषयमा निकै कम चासो राख्ने गरेका छन् । घटस्थापनादेखि मन्दिरहरूमा सामूहिक खेल खेल्ने, दमाहालगायत बाजा बजाउने र पूजाआराधना गर्ने गतिविधिले गाउँ नै गुञ्जयमान भइरहेको हुन्थ्यो तर युवापुस्ताले परम्परालाई निरन्तता दिन नसक्दा मौलिकता लोप हुने अवस्था छ । दशैँ मनाउने चलन परिवर्तन हुँदै गएकोप्रति बुढापाकाहरूले चिन्ता व्यक्त गरेका छन् ।
घटस्थापनादेखि मालिकार्जुन मन्दिर मैखोलीमा नवरात्रा बसेका अम्बादत्त जोशीले भन्नुभयो, पहाडबाट तराईका जिल्लाहरूमा बसाइँसराइ गर्ने क्रम बढ्दै जाँदा दशैँको समयमा देवीदेवताको पूजाका लागि आउनेहरूको सङ्ख्या पनि हरेक वर्ष कम हुँदै गएको छ । दार्चुलाका मालिकार्जुन, लटिनाथ, हुनैनाथ, भगवती लगायतका मन्दिरहरूमा नवरात्रा बस्नेहरूको भीड हुने गरेकोमा पछिल्लो समय थोरैको सङ्ख्यामा मानिसहरू नवरात्रा बस्ने गरेको उहाँले बताउनुभयो ।
दार्चुलामा मनाइने दशैँ र देशका अन्य भागमा मनाइने दशैँमा धेरै भिन्नता पाइन्छ । नयाँ लुगा लगाउने, मिठोमसिनो खाने, भेटघाट, घुमघाम, रमाइलो गर्नेभन्दा पनि दुर्गामाता र इष्ट कुलदेवताको पूजा आराधना गर्ने पर्वका रूपमा यहाँ दशैँ मनाइने गरेको छ । दशैँका अवसरमा विभिन्न मन्दिर तथा शक्तिपीठहरूमा जात्रासमेत लाग्ने गरेको छ ।
डेउडा खेल्दै केटी भगाउने प्रचलन हट्यो
कोल्टी, बूढीगङ्गाको भुक्तोली, सेराबाडा, सिगाडा, देउलीसैन लगायतका दर्जनाँै गाउँमा विशेष प्रकारले दशैँ मनाइथ्यो तर अहिले कोल्टी, भुक्तोली र सेरालाको दशँै नाम मात्रैकै हुने गरेको छ । अधिकांश गाउँका दशैँमा छोडुवा राँगा काट्ने चलन थियो तर अहिले भुक्तोली र सेरालाको दशैँमा मात्रै छोडुवा राँगा काटिन्छ ।
भुक्तोलीमा पहिले ३०/३५ राँगा काटिने भएकोमा अहिले तीन÷चारवटा मात्रै काटिने गरिएको छ । भुक्तोलीमा नवमीमा र सेरालावाडामा औँसीको अष्टमीमा छोडुवा राँगा दौडाएर काट्ने चलन छ ।
भुक्तोली लगायतका ठाउँमा राजनीति र रक्सीका कारण झगडा हुने गरेकाले दशैँको रौनक घटेको स्थानीय दिलबहादुर कुँवर बताउनुहुन्छ । छोडुवा राँगा काटेपछि रातभर छोरेट्टा–छोरेट्टी (केटाकेटी)ले देउडा खेल्ने चलन थियो तर पछिल्लोपटक ती प्रचलन हट्दै गएको बुढीनन्दा नगरपालिकाका प्रमुख पदम गिरी बताउनुुहुन्छ । ती मेलामा कुनै जात मिल्ने समुदायकी छोरेट्टी (केटी) जबरजस्ती तानेर (उठाएर) लैजाने चलन पनि थियो तर नयाँ कानुन र चेतनाको स्तर बढ्दै गएपछि त्यस्ता चलन भने हटेका छन् । बाजुराको नाट्येश्वरीमा भने आफूलाई चाहिएको वरदान माग्दै कालिका भगवतीका लागि अष्टमीको दिन चार÷पाँच सय बोका काट्ने चलन भने अहिले पनि रहेको छ ।
प्रकाशविक्रम शाह/कैलाली, गोकर्ण दयाल/बैतडी, डिलबहादुर सिंह/डोटी, शिवराज ढुङ्गाना/अछाम, लोकेन्द्र जोशी/दार्चुला र लक्ष्मीराज पाध्याय/बाजुरा