पुष्पराज भट्टराई
मान्म, असोज २९ गते । कर्णाली करिडोरमा गाडी सञ्चालनमा आएपछि यहाँका नागरिकको जीवनयापनमा सहजता आएको छ । कालिकोटको लालिघाटदेखि बाजुरा जिल्लाको ८० किलोमिटर सडकमा सवारीसाधन सञ्चालनमा आएपछि यहाँका नागरिकको जनजीविकामा एकाएक परिर्वतन भएको हो ।
कर्णाली करिडोर निर्माणसँंगै विभिन्न ठाउँमा बजार क्षेत्रको बिस्तार र व्यावसायिक विकास हुँदा आर्थिक रूपमा परिर्वतन भएको हो । कर्णाली करिडोरमा सवारीका साधन चल्न थालेपछि आर्थिक चहलपहल वृद्धि भएको छ । करिडोर क्षेत्रका आसपासमा बजार हुनसक्ने ठाउँमा जग्गाको कारोबारदेखि व्यापारको सम्भाव्यताले गर्दा आर्थिक चहलपहल बढेको हो । कालिकोटको लालीघाटदेखि बाजुराको धुलाचौरसम्म दर्जनौँ ठाउँमा बजार बिस्तार भएको नागरिक समाजका अगुवा अम्मलराज शाहीले बताउनुभयो ।
कालिकोटको नरहरिनाथ गाउँपालिका, सान्नीत्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका, पलाँता गाउँपालिका र रास्कोट नगरपालिका नागरिक करिडोरबाट लाभान्वित भएका छन् । कर्णाली करिडोरले नागरिकको आर्थिक अवस्था मात्र मजबुत बनाएर नागरिकलाई यात्राका लागि सहज पनि बनाएको छ । हुम्ला र बाजुराका नागरिक अहिले कालीकोटको लालिघाटमा बसका लागि घण्टौँ कुर्ने गरेको भए पनि यातायात सञ्चालनले सहज भएको बाजुराका विकास शाहीले बताउनुभयो ।
कर्णाली करिडोरको खुलालु, लालिघाट, रेगिल, शान्तिघाट, भुराबगर, भात्तडी, घाटपारीचौर, जितेगडा, जारकोट, आम्तडा बाजुराको कोल्टी पिलिचौर, हिमाली गाउँपालिकाको धुलाचौर लगायतका क्षेत्र अहिले बजारका रूपमा विकसित भएका छन् । यी बजार अहिले व्यापारिक केन्द्रका रूपमा स्थापित
हुन थालेका छन् । सडक नहुँदा विगतका दिनमा पिठ्युँमा भारी बोकेर जितेगडा बजारसम्म आउने यहाँका बासिन्दा अहिले घरमा केही न केही व्यापार व्यवसायमा संग्लन भएको पाइन्छ ।
तरकारी खेतीमा आकर्षित
कर्णाली करिडोर सञ्चालनमा आएपछि तरकारी खेती गर्नेको सङ्ख्यामा वृद्धि हँुदै गएको छ । विगतमा रोजगारीका केही उपाय नहुँदा भारत जानेहरू अहिले तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । गाउँगाउँमा नै बजार बनेका कारणले बारीमा लगाएको तरकारी कता लगेर बेच्ने भन्ने समस्या नभएकाले यहाँका नागरिक तरकारी खेतीतर्फ आकर्षित हुन थालेका हुन् । सडक सञ्चालनमा नआउनुपूर्व उत्पादन गरिएको तरकारीले बजार नपाउने भएकाले व्यावसायिक तरकारी खेतीमा नलागेका यहाँका नागरिक अहिले घरआँगनमा नै बजार भए पनि व्यावसायिक तरकारीखेती गर्न थालेका छन् ।
विगतमा परिवार पाल्न खेती मात्र गर्ने करिडोर क्षेत्रका स्थानीयवासीले विभिन्न पेसा व्यवसायमार्फत आम्दानी लिन थालेका छन् । विगतमा कुनै पनि उपाय नभएका मानिस अहिले बजार क्षेत्रमा होटेल व्यवसाय र अन्य व्यापार गरी आम्दानीमा वृद्धि भएको सान्नित्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताउनुभयो ।