logo
२०८१ मंसिर १० सोमवार



छ लेन सडकमा कालोपत्रेको तयारी

प्रदेश |


छ लेन सडकमा कालोपत्रेको तयारी



धनगढी समाचारदाता

धनगढी, असोज २९ गते । कैलालीमा निर्माणाधीन मोहनापुल–अत्तरिया छ लेन सडकमा कालोपत्रे गर्ने तयारी थालिएको छ ।
‘वान लेयर्स बेस’ निर्माणको कार्य करिब–करिब अन्तिमतिर पुगेकाले तिहारपछि कालोपत्रे गर्ने तयारी भइरहेको मोहनापुल अत्तरिया सडक योजनाको कार्यालयले जानकारी दिएको छ ।
‘वान लेयर्स बेस निर्माण भएको क्षेत्रमा तिहारपछि कालोपत्रे हुन्छ’, आयोजनाका सबइन्जिनियर महेन्द्र खड्काले भन्नुभयो, ‘त्यसका लागि निर्माण कम्पनीले सबै तयारी गरिरहेका छन् ।’
२०७३ जेठबाट यो सडक निर्माणको काम सुरु भएको थियो । तर, सुरुवातमै स्थानीयबाट भएको अवरोधका कारण तोकिएको दुई वर्षको अवधिमा सडक बन्न सकेन । गत जेठमा निर्माण अवधि सकिएको छ । हालसम्म सब–ग्रेड, वान लेयर्स बेस, साइड ड्रेन र खण्ड २ र ३ मा कल्भर्ट निर्माणको कार्य सम्पन्न भएको छ । खण्ड १ मा भने कल्भर्टको केही काम बाँकी रहेको जनाइएको छ ।
हालसम्म करिब ६०÷६५ प्रतिशत भौतिक प्रगति भएको जनाउँदै सबइन्जिनियर खड्काले अबको एक वर्षभित्र जसरी पनि छ लेन सडक तयार हुने उल्लेख गर्नुभयो ।
‘निर्माण कम्पनीलाई तोकिएको म्याद सकिए पनि निर्माण कार्य रोकिएको छैन’, उहाँले भन्नुभयो, ‘हाल मेडियम बनाउने ९बीचबाट सडक विभाजन गर्ने० र बाँकी रहेको ठाउँमा वान लेयर्स बेस निर्माणको काम भइरहेको छ ।’
निर्माणको दुई वर्षे समयावधि गत जेठमा सकिएपछि निर्माण कम्पनीहरूले कम्तीमा डेढ वर्ष समय थप गर्नुपर्ने माग गरेका थिए । तर, सार्वजनिक खरिद ऐनको आँठौँ संशोधनले समयमा सम्पन्न हुन नसकेका योजनामा पहिले तोकिएको निर्माण अवधिको आधा अर्थात् ५० प्रतिशतमात्रै समय थप गर्न पाउने कानुनी व्यवस्था गरेको छ ।
सोही व्यवस्थाअनुसार छ लेन सडक निर्माणका लागि एक वर्ष समय थप गर्ने प्रक्रिया अगाडि बढाइएको छ । गत असार अन्तिममा नै एक वर्ष म्याद थपका लागि सङ्घीय सडक सुपरभिजन तथा अनुगमन कार्यालयमा फाइल पठाइएको थियो । तर, डकुमेन्ट नपुगेका कारण फाइल फिर्ता आएको मोहना पुल अत्तरिया सडक योजनाले जनाएको छ ।
पहिलो चोटी पठाइएको फाइल फिर्ता आएपछि पुनः निर्माण कम्पनीसँंग एक वर्षभित्रै काम सम्पन्न गर्न सक्ने सुनिश्चिततासहितको डकुमेन्ट माग गरी म्याद थप्ने प्रक्रियालाई अगाडि
बढाइएको छ ।
अब थप हुने एक वर्षको समयमा जसरी पनि निर्माण सम्पन्न हुनुपर्ने आयोजनाको जोड छ । यसैगरी, निर्माण कम्पनीले पनि एक वर्षभित्रै छ लेन सडक तयार पार्ने तयारीमा जुटेका छन् ।
निर्माणको ठेक्का पाएकामध्ये राजेन्द्र निर्माण सेवाका इन्जिनियर रोशन भट्टले थपिएको समयमा छ लेन सडक तयार पार्ने तयारीमा आफूहरू जुटेको बताउनुभयो । ‘सडकको काममा डेढ वर्ष अवरोध भएका कारणले हामीले डेढ वर्ष समय थप गर्नुपर्ने माग गरेका थियौँ,’ उहाँले भन्नुभयो, तर, कानूनले एक वर्षमात्रै समय थप गर्न दिने भएकाले एक वर्षभित्रै सबै काम सम्पन्न गर्ने गरी हामी अगाडि बढेका छौँ ।
छ लेन सडक निर्माण कार्य सुरु भएपछि स्थानीयबाट अवरोध भएको थियो । त्यसपछि सर्वोच्च अदालतमा मुद्दासमेत पर्दा निर्माणको कार्यले गति लिन सकेको थिएन । अब भने, कुनै पनि अवरोध छैन । सडक अधिकार क्षेत्रमा परेको विद्युत् पोल, तार, र खानेपानीको पाइप पनि अन्यत्र सारिएको छ ।
तीनवटा खण्डमा निर्माण भइरहेको छ लेन सडकलाई मोहना पुलदेखि बोराडाँडीसम्म शर्मा÷अम्बर÷नागार्जुन, बोराडाँडीदेखि गेंटासम्म लुम्बिनी÷राजेन्द्र÷डाँफे जेभीले निर्माण गरिरहेका छन् । दुवै खण्डको लम्बाइ ४।५ किलोमिटर रहेको छ ।
गेटादेखि अत्तरियासम्म ५।१९७ किलोमिटरको तेस्रो खण्डमा लामा÷राजेन्द्र÷डाँफे जेभीले काम गर्दै छन् । तोकिएको समयावधिमा यो सडक बन्न नसक्दा सडक आसपासका बासिन्दा र यात्रा गर्नेहरूलाई भने समस्या छ । सडक निर्माणको कार्य सुरु भएदेखि नै धुलो उडेका कारण आसपासमा व्यापार, व्यवसाय पनि ठप्प रहेको चटकपुरका व्यवसायी मदनराज अवस्थीले बताउनुभयो ।
कुल एक अर्ब ६५ करोड रुपियाँ बजेट रहेको छ लेन सडक निर्माणमा हालसम्म ६१ करोड रुपियाँ खर्च भएको छ । बाँकी रहेको बजेट कालोपत्रेमा खर्च हुने योजनाका लेखा अधिकृत सिद्धराज पाण्डेयले बताउनुभयो । ‘सबैभन्दा बढी बजेट कालोपत्रेमै खर्च हुन्छ’, उहाँले भन्नुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?