जनार्जन खत्री
सर्लाही, असोज २९ गते । नवलपुर–मलङ्गवा सडक खण्डअन्तर्गत सर्लाहीको गैर बजारमा कालोपत्रेको काम रोकिँदा स्थानीय बासिन्दा धूलोको मारमा परेका छन् ।
पूर्व–पश्चिम राजमार्गस्थित नवलपुर चोकदेखि सदरमुकाम मलङ्गवास्थित शिवसागर चोकसम्म अन्य ठाउँमा सडक कालोपत्रे भए पनि गैर बजार क्षेत्रमा भने कालोपत्रेको काम सुरु नै हुन सकेको छैन् । सडकको धूलोले बजार क्षेत्र कुरुप बन्नुका साथै छेउछाउ घर भएका स्थानीय र यात्रु मारमा परेका हुन् । चर्को घाममा कुहिरी मण्डल भएर उड्ने धूलोले घर बाहिर निस्किएर बस्न सक्ने अवस्था नरहेको गैरका स्थानीय नागरिक अगुवा रजनीकान्त झाले गुनासो गर्नुभयो ।
वर्षौदेखि दयनीय अवस्थामा रहेको नवलपुर–मलङ्गवा सडक कालोपत्रे भएपछि अन्य ठाउँका स्थानीयहरुले भने राहत महसुस गरेका छन् । सडकको धूलोले बजारमा खुल्ला रुपमा बेच्न राखिएका खानेकुरा दुषित भइरहेको नागरिक अगुवा झाले बताउनुभयो । हुलाकी सडक आयोजना जनकपुरले गैर बजार खण्डमा नाला निर्माणका विषयमा विवाद उत्पन्न हुँदा कालोपत्रेको काम रोकिएको जनाएको छ । स्थानीयवासीले नाप–नक्सा अनुसार नै नाला निर्माण गरेर मात्रै कालोपत्रेको काम अघि बढाउन माग गरेका छन् ।
हुलाकी सडकका प्रमुख राजेन्द्रप्रसाद दासले नालाको विवाद समाधान भइसकेकाले चाँडै काम सुरु हुने जानकारी दिनुभयो । उहाँका अनुसार पुरानो कन्ट्रयाक्टरसँगको ठेक्का तोडेर भर्खरै हिमडुङ ठोकर एण्ड जेभीसँग नयाँ सम्झौता गरी गैर बजार खण्डमा बाँकी रहेको कालोपत्रेको काम पुरा गर्ने तयारी भइरहेको छ ।