विष्णुप्रसाद पोखरेल
दमक, कार्तिक १ गते । प्रहरीले एकैदिन भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको सात लाख मूल्य बराबरको लत्ताकपडा र एक लाख मूल्य बराबरको मोटरपार्ट्स बरामद गरेको जानकारी दिएको छ ।
बिहीबार राति कन्काई नगरपालिका वडा नं. ८ लक्ष्मीपुर स्थितपूर्वपश्चिम राजमार्गमा इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको चेकिङ टोलीले सवारी चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा कपडा भेटिएको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ज २८२८ नं. को महेन्द्र पिकअप गाडीमा राखी कर छलेर ल्याउँदै गरेको सात लाख बराबरको विभिन्न किसिमका कपडाहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठले जनाउनुभयो ।
श्रेष्ठका अनुसार पक्राउ गरिएको कपडा र सवारी साधन राजश्व कार्यालय ईटहरी, सुनसरीमा बुझाइएकोछ ।
यसैगरी, शुक्रबार दिउँसो १ बजेको समयमा भद्रपुर नगरपालिका वडा नं. ३ डाँगिबारीमा भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको एकलाख मूल्य बराबरको मोटर पार्ट्सका समानहरु बरामद गरी भन्सार कार्यालयमा बुझाएको पनि श्रेष्ठले जनाउनुभयो ।