जिवछ यादव
लहान, कातिक ६ गते । दिपावली र छठमा माटोको सामग्रीको माग बढी हुने गर्दछ । यतिबेला कुम्हाल समुदायले माटोको सामग्री बेचेर राम्रो आम्दनी गरिरहेका छन् । प्रदेश २ कै पूर्वका व्यापारिक केन्द्रको रुपमा रहेको लहान बजारमा अहिले व्यापारीलाई माटोबाट बनेका विभिन्न सामग्री बेच्न भ्याइ न भ्याइ भएको छ ।
उज्यालोको पर्वका रुपमा चिनिएको दिपावली र एकता सदभाव र परिवारिक सुख स्वास्थ्यको मनाउने छठ पर्वका लागि चाहिने माटोका भाँडा बनाउन र बेच्नमै कुमाल समुदाय व्यस्त छन् । सानो दियो, कलश, घैला, मटकुरी, हन्डी धुपोरो, चारमुखे दियो, हात्तीलगायत सामग्री किनमेल गर्न बजार आउने गरेका छन् । दियो प्रतिदर्जन १२ रुपियाँ, कलश जोडीको ५० रुपियाँ, धुपुरो सानो प्रतिगोटा ५० रुपियाँ र ठूलो ८० रुपियाँ, ठूलो दियो प्रतिगोटा ३० रुपियाँ, हण्डी १५ देखि ६० रुपियाँसम्ममा तथा मटकुरी १५ देखि ४० रुपियाँसम्ममा बिक्री हुने गरेकोले कुम्हाल जाति निकै उत्साहित भएका छन् । लहानमा लाग्ने सोमवारे र शुक्रबारे हटियामा माटोको सामग्री खरीद गर्नेहरुको घुइचो लाग्ने गरेका छन् ।
लहानका व्यापारी शिव पण्डित बताँउछ, जसरी किसानको लागि असारमा खेत रोप्ने र मंसिरमा बाली भित्रयाउने चटारो हुन्छ, त्यसरी नै कुम्हाल समुदायका पुरुषहरु माटोको भाडा वर्तन बनाउने र महिलाहरु हाट बजारमा बिक्री गरिरहेका छन् । कतिक महिनामा प्रत्येक व्यक्तले ५० हजारसम्मको कमाई गर्छन ।
सिरहाको लहान, सुखीपुर, सिरहा, गोलबजार, मिर्चैया र कल्याणपुर लगायतका बजारहरुमा यतिवेला माटोको भाँडावर्तन किन्नेहरुको घुइचो लागेकाले खाना खान समेत फुर्सद नभई घर परिवारका सबै सदस्यहरु दिनरात यहि काममा लागेको लहानका भरत पण्डितले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ–अल्पसंख्यक कुम्हाल समुदायले माटोमा नै कला निखारेर आफ्नै पुर्खयौली पेशाबाट गुजारा गर्न कुनै समस्या नभएपनि चाडपर्वमा माटोको भाडा वर्तन नै चाहिएकोले यतिवेला बढी विक्री भएपनि अन्य समयमा प्लाष्टिकको भाडावर्तनहरुले माटोको भाडावर्तनलाई विस्थापित गर्नुले चुनौती रहेको छ ।
लहान ४ का वडाध्यक्ष समेत रहनु भएका रामनाथ पण्डितले कुम्हाल समुदायको पेसालाई मर्यादित बनाउन सरकारले अहिलेसम्म कुनै पहल नगरेको गुनासो पोख्दै कुम्हाल समुदायले बनाएका भाडा वर्तन बाह्रै महिना सरकारले थोक विक्री गर्ने केन्द्रको रुपमा स्थापना गरियो भने यस समुदायका युवाहरु पुर्खयौली पेसाबाट स्वदेशमै राम्रो आम्दानी गरेर विदेशिनेबाट रोकिने तर्क गर्नुभयो ।
माटोको भाडावर्तन विस्थापित गरेर प्लाष्टिकजन्य भडावर्तनहरुको बढ्दो प्रयोगले वातावरणमा नाकारात्मक असर पर्नुको साथै मानव स्वास्थ्यको लागि समेत हितकर नरहेको प्लाष्टिक भाँडा प्रयोग नगरी माटोको भाँडा प्रयोग गरे लाभदायक हुने वातावरणविद् दिनेश यादवले सुझाव दिनुभयो ।