प्रकाशचन्द्र भट्टराई
दमौली, कार्तिक ७ गते । तनहुँको प्रसिद्ध धार्मिक स्थल देवघाटलाई मुक्तिनाथसम्म जोड्ने बहुचर्चित शालिग्राम करिडोरको देवघाट गाउँपालिका अन्तर्गतको खण्डमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ ।
उक्त करिडोरको सबैभन्दा जटिल भाग रहेको देवघाट गाउँपालिका वडा नम्बर १ को बन्चरे भिरको पहाडमा बुधबार साँझ ट्रयाक खोलिएपछि सो गाउँपालिकामा पर्ने ४० किलोमिटर खण्डमा सडक सञ्जाल जोडिएको छ ।
गण्डकी प्रदेशको शिरदेखी अन्तिम सम्म जोड्ने उक्त करिडोरलाई प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा समावेश गरेको थियो ।
चितवनको दासढुङ्गाबाट तनहुँको देवघाटहुँदै कालिगन्डकी नदीको तिरतिरै मुक्तिनाथसम्म जोड्ने उक्त करिडोरको स्याङजा र पाल्पाको सिमाना केलादी घाटसम्म ट्रयाक पुरा भईसकेको छ ।
सो करिडोरको देवघाट गाउँपालिकाको बन्चरे भिरको पहाड काट्न गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा गन्डकी प्रदेश सरकारले २ करोड र देवघाट गाउँपालिकाले २ करोड विनियोजन गरेका थिए ।
त्यसैगरि सो पहाड काट्न संघीय सांसद कृष्णकुमार श्रेष्ठ किसानले स्थानीय पुर्वाधार विकास कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा ७० लाख रुपैयाँ विनियोजन गर्नु भएको थियो ।
तिनवटै तहका सरकारको ४ करोड ७० लाखको लागतमा सबैभन्दा जटिल क्षेत्रको रुपमा बन्चरे भिरको पहाड काटेर मंगलबार साँझ ट्रयाक पुरा गरिएको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले बताउनु भयो ।
करिडोरको उक्त ट्रयाक खोलिएपछि अव देवघाट गाउँपालिकाको सबै पाँच वटै वडा सडक सञ्जालले जोडिएको र नागरिकलाई अव सुविधा पुग्ने अध्यक्ष थापाले बताउनुभयो ।
अब करिडोरको निर्माण पछि देवघाट र मुक्तिनाथ सडक सञ्जालले जोडिने र दुबै धार्मिक क्षेत्रमा पर्यटकहरु आवत जावत गर्न सहज हुने अध्यक्ष थापाले बताउनुभयो ।
करिडोरको ट्रयाक खोल्ने काम पुरा भएपछि अव आगामी शनिबार उक्त खण्डमा सवारी साधन सञ्चालन गर्ने कार्यक्रम गाउँपालिकाले जनाएको छ । गाउँपालिका भित्रका सरकारी, संस्थागत र नीजि सवारी साधनलाई उक्त खण्डमा सवारी चलाई जनतामा सन्देश प्रवाह गर्ने कार्यक्रम रहेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।