विष्णुप्रसाद पोखरेल
दमक, कार्तिक ७ गते । जिल्ला प्रशासन कार्यालय झापामा विहिबारदेखि सेवा प्रवाहमा टोकन प्रणाली शुरु भएको छ । कार्यालयलाई मेचीनगर नगरपालिकाले इलोक्ट्रोनिक टोकन मेसिन प्रदान गरेपछि यो सेवा शुरु भएको हो । जिल्ला प्रशासन कार्यालय झापाले हरेक कार्यालय प्रमुखहरुको बैठकमा एउटा बुदा कार्यालयको काममा चुस्तता र दुरुस्तता ल्याउनका लागि साझा प्रतिबद्धता गराउदै आएको छ ।
विहिबार मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले टोकन प्रणालीबाट सेवा प्रवाहको उद्घाटन गर्नु भएको छ । उहाँले जिल्ला प्रशासन कार्यालय झापामा यो आवश्यकता खट्केर सहयोग गरिएको बताउनुभयो । मेचीनगरबासीले मात्र नभएर झापाबासीले नै यसबाट सुविधा लिनसक्नेछन् -उहाँले भन्नुभयो ।
झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरका अनुसार चिनजानको मान्छेको छिटो काम हुने र सर्वसाधारण घण्टौदेखि लाइन बस्नु पर्ने बाध्यता रहेको भन्दै गुनासो आएकोले यो सेवा शुरु गरिएको बताउनुभयो । जसले पहिला आएर टोकन लिन्छ उसैले छिटो सेवा पाउछ - उहाँले भन्नुभयो । अन्य सरकारी कार्यालयसंगै जिल्ला प्रशासन कार्यालयको कामलाइ पनि छिटो छरितो बनाउन हामी लागि परेका छौ - मगरले भन्नुभयो ।
मेची नगर नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाइ उपलब्ध गराएको टोकन प्रणालीको मेसिनको अधिकतम प्रयोगले सेवा प्रवाहमा चुस्तता ल्याउने विश्वास लिईएको पनि उहाँको भनाइ छ । सवै कार्यालयहरुमा यसरी टोकन प्रणालीको ब्यवस्थापन गर्दा सेवा प्रवाहमा सहजता र लाइन मिच्ने प्रवृतीको अन्त्य हुने उद्घाटनको अवसरमा बताईएको थियो ।