राजविराज, कात्तिक ८ गते । सप्तरी प्रहरीले पाँच वर्षदेखि वेपत्ता रहेकी एक युवतीलाई भारतबाट उद्धार गरेको छ ।
जिल्लाको बलानबिहुल गाउँपालिका–३ धर्मदेव पासवानकी कान्छी छोरी रिंकु कुमारी भनिने २० वर्षीया रंजनकुमारी पासवानलाई भारतको बिहार राज्य, पूर्णिया जिल्लाको अल्पावास गृहबाट उद्धार गरी बिहिबार परिवारको जिम्मा लगाएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । रंजनकुमारी पाँच वर्षदेखि परिवारसँग सम्पर्क बिहिन रहेकोमा २०७४ वैशाख १० गतेदेखि अल्पावास गृहमा रहदैँ आएको उहाँले बताउनुभयो ।
‘सोर्ट स्टे होम पूर्णिया बिहार’ मार्फत् राजदुतावास हुँदै प्रहरी प्रधान कार्यालयको सचिवालय र महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा प्राप्त भएको पत्रमा उल्लेखित विवरणको आधारमा युवतीलाई पुर्नस्थापनाको लागि उद्धार गरी आमा घुरनीदेवी पासवानको जिम्मा लगाएको बताइएको छ ।